राष्ट्रिय सभामा क्लीन स्वीपबाट बच्न एमालेलाई राप्रपाको भर

राष्ट्रिय सभामा क्लीन स्वीपबाट बच्न एमालेलाई राप्रपाको भर

सत्ताधारी दल सबै उम्मेदवारलाई जिताएर क्लीन स्वीप गर्ने दाउमा छ। प्रमुख प्रतिपक्षी दल एमाले गठबन्धन विरुद्ध एक्लै चुनावी मैदानमा छ। सत्ता गठबन्धनको बहुमत आउने निश्चित भएपछि आफू बलियो रहेको प्रदेश १ को १ सिट जोगाउन पनि एमालेले राप्रपासँग तालमेल गर्ने तयारीमा छ।

आगामी फागुन २१ गतेबाट राष्ट्रिय सभाका २० सांसद बिदा हुँदै छन्। चार वर्षे कार्यकाल पूरा गरेर एमालेका आठ, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका चार-चार, कांग्रेसका तीन र मनोनीत एक सांसद बिदा हुन लागेका हुन्। राष्ट्रिय सभा सदस्य पद रिक्त हुनु ३५ दिन अगावै नयाँ सदस्यको निर्वाचन भइसक्नुपर्ने संवैधानिक प्रावधान छ।

राष्ट्रिय सभा निर्वाचनमा दुई हजार २५ मतदाता छन्। निर्वाचनमा प्रदेश सभाका सदस्य र स्थानीय तहतर्फ नगर पालिका प्रमुख-उपप्रमुख, गाउँपालिका अध्यक्ष-उपाध्यक्ष मतदानमा सहभागी हुन पाउनेछन्। निर्वाचन आयोगका अनुसार प्रदेश तहबाट पाँच सय ३२ र स्थानीय तहतर्फ एक हजार ४ सय ९३ गरी दुई हजार २५ मतदाता छन्। राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र नगरपालिका प्रमुख-उपप्रमुख, गाउँपालिका अध्यक्ष-उपाध्यक्षको मतभार १८ गणना हुन्छ।

प्रदेशगत मतभार

आयोगले प्रकाशित गरेको नामावलीअनुसार प्रदेश १ मा ९२ जना प्रदेश सभा सदस्य छन्। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ७२ जना छन्। यो सँगै जम्मा मतभार ९ हजार ३ सय १२ हुन्छ।

प्रदेश २ मा प्रदेश सभा सदस्य १ सय ४ जना छन्। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ६८ जना छन्। प्रदेश २ मा ९ हजार ८ सय १६ मतभार रहेको छ।

बागमतीमा प्रदेश सभा सदस्य १ सय ९ जना छन्, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ३७ जना छन्। बागमती प्रदेशको मतभार ९ हजार ४ सय ९८ छ । गण्डकीमा प्रदेश सभा सदस्य ५९ जना छन्। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख १ सय ७० जना छन्।

गण्डकी प्रदेशमा ५ हजार ८ सय ९२ मतभार रहेको छ । लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य ८१ जना छन्। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय १५ जना छन्। लुम्बिनीमा ७ हजार ७ सय ५८ मतभार रहेको छ।

कर्णाली प्रदेशमा प्रदेश सभा सदस्य ३५ जना छन्। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख १ सय ५६ जना छन्। कर्णालीमा ४ हजार ४ सय ८८ मतभार रहेको छ। सुदूरपश्चिम प्रदेशमा प्रदेशसभा सदस्य ५२ जना छन्। गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख एक सय ७५ जना छन्। यस प्रदेशमा ५ हजार ६ सय ४६ मतभार रहेको छ।

प्रदेशमा प्रतिपक्षी एमाले कमजोर

प्रदेश १ मा एमालेको ४१ प्रदेश सांसद र १४२ प्रमुख/उपप्रमुख रहेको एमालेको ४ हजार ५ सय २४ मतभार हुन्छ। गठबन्धनको ५० प्रदेश सांसद एक सय २६ पालिका प्रमुख/उपप्रमुख रहेकाले चार हजार ६ सय ६८ मतभार छ।

राप्रपासँग १ सय २० मतभार छ। प्रदेश २ मा गठबन्धनको सात हजार २ सय ५४ मतभार छ। एमालेसँग नौ सय ४२ मतभार रहँदा लोसपासँग एक हजार ५ सय ६० मतभार छ। बागमतीमा गठबन्धनको चार हजार ९ सय ५६ मतभार रहेको छ। एमालेको चार हजार १ सय ५२ मतभार छ। नेमकिपाको एक सय ३२ मतभार रहेको छ।

गण्डकीमा सत्ता गठबन्धनको तीन हजार २ सय ३४ मतभार रहेको छ। एमालेको दुई हजार ५ सय ३८ मतभार छ। लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनसँग चार हजार २ सय ३४ मतभार रहेको छ। कर्णाली प्रदेशमा सत्ता गठबन्धनको दुई हजार ८ सय ९८ मतभार रहेको छ। एमालेको एक हजार १ सय ३४ मतभार रहेको छ। सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनको तीन हजार ७ सय ८० मतभार रहेको छ। एमालेको एक हजार ७ सय ८८ मतभार रहेको छ। १९ पदमा ४३ जनाको उम्मेदवारी परेको छ।

राप्रपा र एमालेलाई एक अर्काको भर

तुलनात्मक रूपमा एमाले र सत्ता गठबन्धनबिच प्रदेश १ मा मतभारको अन्तर कम छ। उसको ४ हजार ५ सय २४ मतभारमा राप्रपाको १२० मतभार जोड्दा चार हजार ६ सय ४४ मतभार हुन आउँछ। सत्ता गठबन्धनको चार हजार ६ सय ६८ मतभारसँग बराबरी गर्न २४ मतभार कम हुन्छ।

एक प्रदेश सांसद वा दुई जना पालिका प्रमुख/उपप्रमुख आफ्नो पक्षमा ल्याउन सके उसको उम्मेदवारले जित्न सक्छन्। राप्रपाले राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने अख्तियारी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ। प्रदेश १ को ३ सिट मध्ये २ सिटमा आफूलाई सघाउन एमाले तयार भए १ सिटमा उसलाई सघाउन राप्रपा तयार छ।

‘निश्चित भैसकेको छैन, कुराकानी मै छ, प्रदेश १ मा हामीले २ मात्र उम्मेदवार उठाएका छौँ। तालमेल गर्ने विषयमा निष्कर्षमा पुगेका छैनौ अन्य दलहरूसँग छलफल हुनु स्वाभाविक हो,’ राप्रपाका महामन्त्री भुवन पाठकले भने।

एमालेका संसदीय दलका उपनेता तथा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले तालमेल हुन छलफल हुनु स्वाभाविक रहेका बताए।

‘संविधानको निर्वाचन प्रणाली अनुसार देशमा राजनीतिक दलहरूबिच गठबन्धन हुनु स्वाभाविक हो। राजनीतिमा कुनै पनि सम्भावना हुन सक्छ। हामी सबैसँग छलफलमा छौँ,’ नेम्वाङले भने।

एमालेका केन्द्रीय सदस्य विष्णु रिजाल राष्ट्रियसभा निर्वाचन एमालेलाई घेराबन्दी गर्ने अन्तिम किस्ता रहेको बताउँछन्।

‘अदालत, सभामुख, संवैधानिक आयोग, सरकारलगायतको मिलेमतोमा एमालेलाई घेराबन्दी गर्नेदेखि विभाजित गर्नेसम्मका सम्पूर्ण अस्त्रहरू अब सकिएका छन्,’ उनले भने।

अध्यादेशका भरमा पार्टी विभाजन गरेर २०७४ को जनादेशमा भरमा २०७८ मा परिणाम निकाल्न खोजिएकाले राष्ट्रिय सभा निर्वाचनले जनमतको प्रतिनिधित्व नगर्ने उनको जिकिर छ।

‘गठबन्धन मिलेर चुनाव लडे पनि एमालेलाई फरक पर्दैन, एमालेले आफ्नो उपस्थिति देखाउँछ,’ रिजालले भने

यी सांसद हुँदै छन् बिदा

एमालेका अगम प्रसाद बान्तवा राई, नैनकला ओझा र परशुराम मेघी गुरुङ बिदा हुँदै छन्। प्रदेश २ मा एमालेका सुमनराज प्याकुरेल, माओवादीकी शशीकला दाहालको समयावधि सकिँदै छ।

बागमतीमा कांग्रेसका राधेश्याम अधिकारी,  एकीकृत समाजवादीकी उदया शर्मा पौडेल रहेका छन्। गण्डकीका माओवादीका दीनानाथ शर्मा र खिमकुमार विक  तथा  एकीकृत समाजवादीकी शान्तिकुमारी अधिकारी जिसीको रिक्त हुन लागेको पदमा निर्वाचन हुनेछ।

लुम्बिनीमा एमालेकी कोमल वली र रामलखन चमार तथा कांग्रेसका दीर्गनारायण पाण्डेले बिदा लिनेछन्। त्यस्तै कर्णाली प्रदेशतर्फ एमालेकी कविता बोगटी, माओवादीका  जीवन बुढा र एकीकृत समाजवादी ठगेन्द्रप्रकाश पुरीको कार्यकाल पूरा हुँदै छ।

सुदूरपश्चिममा एमालेका चक्रप्रसाद स्नेही, कांग्रेसकी तारादेवी भट्ट र एकीकृत समाजवादीका शेरबहादुर कुँवरको पदावधि सकिन लागेको हो। माओवादीका रामनारायण बिडारी मनोनीत भएका थिए। मनोनीत पदमा भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने प्रावधान छ। 

पुष २१, २०७८ बुधबार २०:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।