माओवादीमा 'बा' प्रवृत्ति, तर नेता भन्छन्- 'पार्टी सुध्रियो'
एमालेमा ओलीको आशीर्वादबिना सामान्य पद पनि नपाइने १०औं महाधिवेशनले पुष्टि नै गर्यो। ओलीविरुद्ध तर्क र कार्ययोजनासहित अघि बढेकाले पार्टीमा ठाउँ नै पाएनन्।
यता कांग्रेसमा सभापति देउवाको आशीर्वाद रह्यो भने पार्टीको चुनाव हारेकाले पनि राष्ट्रिय सभाको चुनाव लड्न पाउने पक्कापक्की हुन्छ। कांग्रेसले महाधिवेशन प्रतिनिधिमा पराजित पार्टी मुख्यसचिव कृष्ण पौडेललाई बागमती प्रदेशमा र सहमहामन्त्रीमा पराजित कमला पन्तलाई गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको छ।
भरतपुर महानगरपालिकाकी मेयर छोरी रेणु दाहाललाई प्रचण्डले खस आर्य महिलातर्फबाट केन्द्रीय सदस्य बनाएका छन्। प्रचण्डकी बुहारी विना मगर पनि केन्द्रीय सदस्यमा अटाएकी छिन्।
माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डको स्वीकृतिबिना पदाधिकारी पनि चयन हुन सक्दैन। गत आइतबार ८ दिन लगाएर ८औं राष्ट्रिय महाधिवेशन सकाएको माओवादीले १९ गतेको पहिलो केन्द्रीय समिति बैठकबाट अध्यक्षमा प्रचण्डलाई नै टीका लगायो।
परिवार र खल्तीका मान्छे चयन गर्ने महाधिवेशन
८औं राष्ट्रिय महाधिवेशनबाट माओवादीले परिवारका मान्छे र खल्तीका मान्छेलाई केन्द्रीय सदस्य बनाएको आरोप लागेको छ। महाधिवेशनमार्फत केन्द्रीय समितिमा खुला र विभिन्न क्लस्टरबाट १२ दम्पती चयन भएका छन्।
वर्षमान पुन खुलाबाट केन्द्रीय समिति सदस्य बन्दा ओनसरी घर्ती जनजाति महिलाबाट केन्द्रीय सदस्य बनिन्। कुलप्रसाद केसी खुलाबाट केन्द्रीय सदस्य बन्दा ताराकुमारी घर्ती जनजाति महिलाबाट केन्द्रीय सदस्य छिन्।
हितमान शाक्य खुलाबाट केन्द्रीय सदस्य र अमृता थापा जनजाति महिलाबाट केन्द्रीय सदस्य बनिन्। गणेशमान पुन खुलाबाट केन्द्रीय सदस्य बन्दा कमला रोका जनजाति महिलाबाट केन्द्रीय सदस्यमा चयन भएकी छिन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल खुलाबाट केन्द्रीय सदस्य बन्दा बलावती शर्मा खसआर्य महिलाबाट केन्द्रीय सदस्यमा चयन भइन्। कृष्णध्वज खड्का र रेखा शर्मा खुला कोटाबाट केन्द्रीय सदस्य छन्। देव गुरुङ र यशोदा सुवेदी गुरुङ पनि खुलाबाट अटाएका छन्।
शक्ति बस्नेत खुला केन्द्रीय सदस्य बन्दा सत्या पहाडी खस आर्य महिलाबाट केन्द्रीय समितिमा अटाइन्। लीलामणि पोखरेल खुलाबाट केन्द्रीय सदस्य हुँदा भूमिसुधारमन्त्री समेत रहेकी शशी श्रेष्ठ जनजाति महिलाबाट केन्द्रीय सदस्य बनिन्।
देवेन्द्र पराजुली खसआर्यबाट र कल्पना धमला खसआर्य महिलाबाट केन्द्रीय समितिमा अटाएका छन्। सूर्य सुवेदी र ज्ञानु बस्नेत दम्पती पनि केन्द्रीय सदस्य बनेका छन्। दिलीप प्रजापति र प्रतिमा श्रेष्ठ पनि केन्द्रीय समितिमा परेका छन्।
प्रचण्डको परिवारबाट ४ जना
अध्यक्ष 'प्रचण्ड'कै परिवारबाट ४ जना केन्द्रीय सदस्यमा परेका छन्। उनले खस आर्य पुरुषतर्फको एक नम्बरमा भाइ पर्ने नारायणप्रसाद दाहाललाई राखेका छन्।
भरतपुर महानगरपालिकाकी मेयर छोरी रेणु दाहाललाई प्रचण्डले खस आर्य महिलातर्फबाट केन्द्रीय सदस्य बनाएका छन्। प्रचण्डकी बुहारी विना मगर पनि केन्द्रीय सदस्यमा अटाएकी छिन्।
संसदीय मर्यादाविपरीत केन्द्रीय सदस्य
संसदीय अभ्यासमा सभामुख र उपसभामुख निर्वाचित भएपछि सम्बन्धित व्यक्ति दलीय जिम्मेवारीबाट अलग हुन्छन्। त्यो अभ्यासविपरीत कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्ती र वागमती प्रदेशकी उपसभामुख राधिका तामाङ माओवादी केन्द्रीय सदस्य बने।
'पी. घर्ती' र 'आर. तामाङ' भन्दै प्रचण्डले ती नाम वाचन गरेका थिए। घर्ती र तामाङ जनजाति महिला र जनजाति युवा कोटाबाट केन्द्रीय सदस्य बनेका हुन्।
अध्यक्षमा निविरोध निर्वाचित भएपछि सोमबार प्रचण्डले जनवादी र लोकतान्त्रिक विधिद्वारा केन्द्रीय समितिको निर्वाचन भएको बताएका थिए। 'प्रचण्डको आदेशका रूपमा होइन, त्यतिबेलाको आयोजक समिति र स्थायी समितिको सर्वसम्मत प्रस्तावको रूपमा व्याख्या विश्लेषणसहित महाधिवेशनको हलले सर्वसम्मत रूपमा निर्वाचित गर्यो। प्रचण्डले आदेश दियो ताली बजाउनुस् भन्यो, ताली बजाए भनेर अपमान गर्न खोजियो। यसले बडो दुःख पनि नमीठो पनि लागेको छ', उनले भने।
परिवारवाद नेपालको राजनीतिक प्रचलन
परिवारवाद, सूचीवाद र टिपोटवाद नेपालको राजनीतिको प्रचलन नै रहेको राजनीतिक विश्लेषक डा. राजेन्द्र चापागाईं बताउँछन्। ‘ओलीवेशनमा पनि देख्नुभयो पकेटबाट नै नाम आएको हो। माओवादी केन्द्रमा पनि हामीले देखेका छौं र थाहा पाएका छौं, परिवारवाद हावी छ', चापागाईंले भने।
‘बा कल्चरमा नेतालाई देवत्वकरण गरिन्छ, नेताको डमी बनाएर राखिन्छ। ठूलो मान्छे बनाएर उसको नाम जपिन्छ। माओवादी केन्द्रमा 'बा' प्रवृत्ति देखियो', उनले भने।
प्रदेशका उपसभामुखलाई संविधानले नै राजनीतिबाट अलग रहनुपर्ने भने पनि छोटकरी नाम भनेर चयन गर्ने विकृति माओवादीको मात्रै नभएको अन्य पार्टीको पनि रहेको उनले बताए। क्षमता र योग्यता रहेको व्यक्ति परिवारवादबाट टाढा रहने उनको भनाइ छ।
तर माओवादी नेताहरू भने यो कुरा स्वीकार गर्न तयार छैनन्। ‘म यो दुवै कुरा खारेज गर्दछु। जनवादलाई नयाँ ढंगले ल्याउँदैछौं। हामी पूर्णरूपमा निर्वाचनमा जान खोजेका छौं, जान्छौं। प्रदेश १ र बागमतीमा निर्वाचन भएकै हो। अब सबै कमिटीहरू निर्वाचित भएको हेर्न पाउनुहुनेछ', नेता राम कार्कीले भने।
उनले केन्द्रीय सदस्य चयन भएका सबै पार्टीमा योगदान पुर्याएकैहरू भएकाले खल्तीको मान्छे नभएको तर्क गरे। 'श्रीमानको कारणले श्रीमतीले पाए भनिएको छ। एउटा मात्र प्रमाणित गरिदिनुस्। उहाँहरू सबै पार्टीको कमाण्डर हुनुहुन्छ। आ–आफ्नै भूमिका छ। महिलाको भूमिकालाई मिडियाले नबुझेको हो कि!' उनले भने।
माओवादी सुध्रियो
८औं राष्ट्रिय महाधिवेशनबाट माओवादी सुध्रने बाटोमा गएको नेता कृष्णबहादुर महरा बताउँछन्। ‘सच्चिएर आएको छ, डकुमेन्ट हेर्नुस्। सुधारको बाटोमा छ, सुधार भएको छ। सुधार एकैचोटी हुने होइन नि, समय लाग्छ', महराले भने।
माओवादी नेता गिरिराजमणि पोखरले ८औं महाधिवेशनबाट माओवादी सुधार मात्र नभएर नयाँ दिशामा गएको बताउँछन्। ‘समाजवादी क्रान्तिलाई केन्द्रमा राखेर दिशा पक्रिन खोजेको छ। विशेष महाधिवेशनमा गएर ठोस र मूर्त बनाउने कुरा छ', पोखरेलले भने, 'केन्द्रीय समिति छनोटको प्रक्रिया फरक ढंगले भएको छ, यो नयाँ दिशामा गयो। सुधार भयो मात्र भन्न मिल्दैन।'
महाधिवेशनले सुधारको जग बसालेको सचेतक देव गुरुङ बताउँछन्। ‘कमी कमजोरीको समीक्षा गरेको छ र सोही आधारमा अघि बढ्छ', सचेतक गुरुङले भने।
तर प्रचण्डले वाचन गरेको नामलाई सदर गरेर हलले फरक मत राखेन। नातावाद, कृपावाद र खल्तीका मान्छेलाई केन्द्रीय समितिमा राखेर माओवादीमा पनि 'बा' प्रवृत्ति हावी भएको भन्दै धेरैले आलोचना गरे।
तर, यो कुरा मान्न तयार छैनन् गुरुङ। उनी भन्छन्, ‘यो पीछडिएको चेतनाको उपज हो। व्यक्तिवादी चिन्तन भएका 'कलेक्टभ लिडरसिप' नबुझ्ने मान्छेहरूले गर्ने टिप्पणी हो।'
माओवादीको केन्द्रीय समिति छान्ने अभ्यास लोकतान्त्रिक र पूँजीवादी पार्टीहरूको जस्तो नभएर कम्युनिस्टहरूको जनवादको अभ्यास रहेको उनको भनाइ छ।
तर विश्लेषक चापागाईं यो 'बा' प्रवृत्ति नै भएको दावी गर्छन्। ‘बा कल्चरमा नेतालाई देवत्वकरण गरिन्छ, नेताको डमी बनाएर राखिन्छ। ठूलो मान्छे बनाएर उसको नाम जपिन्छ। माओवादी केन्द्रमा 'बा' प्रवृत्ति देखियो', उनले भने।
पार्टी कार्यालयमा मान्छेहरू झिँगा धपाएर बस्ने र नेताको घरमा खुट्टा हाल्ने ठाउँ नहुने अवस्थाले अबको राजनीति नीति प्रधानभन्दा पनि नेता प्रधान देखिने उनले बताए।
‘पार्टीमा योगदान गरेका परिवारको सदस्य छन् भने त्यसलाई अतिरञ्जित गरिनु हुँदैन। नेताको सन्तान र परिवारका सदस्यले राजनीति गर्नै नहुने भन्ने होइन', उनले भने।
माओवादीले सुध्रने प्रण गरे जस्तो देखिएको उनले बताए।
पुष २०, २०७८ मंगलबार १२:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।