बिचल्लीमा अनाथ: प्रशासनले नै आश्रम पुर्‍यायो, तर नागरिकता दिएन

बिचल्लीमा अनाथ: प्रशासनले नै आश्रम पुर्‍यायो, तर नागरिकता दिएन

‘यहीँ बसेर हुर्के, पढे। प्रशासनकै आग्रहमा राखियो। तर उमेर पुगेपछि नागरिकता दिन सकिँदैन’, मैनादेवीले भनिन्, ‘कतिपयको जन्म दर्ता पनि बनेन।’

आश्रमका सुनिल बगाले, मनीषा बगाले, शङ्कर चौधरी र शाहील चौधरीको जन्म दर्ता नबनेको उनले बताइन। ‘प्रशासनले नागरिकता, जन्म दर्ता नै नगराएपछि अहिले भने आश्रमले आश्रय दिनका लागि केही कडाइ गरेको छ’, उनले भनिन्। 

आश्रमले अब बुवा आमाको मृत्यु दर्ता वा सम्बन्धित व्यक्तिको जन्म दर्ता भए मात्र बच्चा लिने गरेको जनाएको छ। 

‘बेवारिसे बच्चा सिफारिस गरेर वडा, गाउँपालिका र नगरपालिकाबाट पठाए पनि जन्म दर्ता नहुँदा नागरिकता दिन सकिएन’, आश्रम सञ्चालक भण्डारी भन्छिन्, ‘सरकारी निकायले सिफारिस गरेर पठाउने तर जन्म दर्ता नदिने भएकाले उनीहरूको बिचल्ली भयो।’

४ जनामध्ये मनीषा अहिले पनि मैनादेवीको रेखदेखमा बस्दै आएकी छिन्। मनीषा अहिले तिलोत्तमास्थित राममणि बहुमुखी क्याम्पसमा अध्ययनरत छिन्। सुनिल तिलोत्तमा मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा काम गर्छन्। 

रिसोर्टका सञ्चालक गोपाल रानाले ४ वर्ष देखि सुनिल बगालेलाई रिसोर्टमा काम लगाउँदै पढाउने गरेको बताए। ‘आश्रमबाट निस्केपछि मैले नै यहाँ लिएर राखेको छु’, उनले भने, ‘मेरै खर्चमा पढाउने काम भएको छ।’

अरू दुई जना भने बुटवलमै रहे पनि कहाँ छन् भन्नेबारे केही थाहा नभएको आश्रमकी अध्यक्ष भण्डारीले बताइन्।

२०६२ सालमा मैनादेवीले 'आत्मशान्ति अनाथ आश्रम' स्थापना गरेकी थिइन्। श्रीमान्ले जग्गा दिएपछि भने उनको र आफ्नो नाममा तिलोत्तमा- ६मा ‘रामचन्द्र मैनादेवी अनाथ आश्रम’  स्थापना गरिएको मैनादेवीले बताइन्। 

आश्रम स्थापनाको सुरुको वर्ष मुठ्ठी दानले चलेको उनी बताउँछिन्। आमाबुवा गुमाएका बेसहारा बालबालिकाको सेवामा लागेकी मैनादेवीको आश्रममा अहिले १० जना छन्। तीन जना बालबालिकाबाट सुरु गरेको आश्रममा २८ जनाले सहारा लिइसकेका उनले बताइन। 

आश्रममा अक्षयकोष  
उनका अनुसार आश्रम बन्द नहोस् भनेर निर्माण गरेको अक्षयकोषमा अहिले ५० लाख रुपैयाँ जम्मा भइसकेको छ।

‘आश्रम म नभए पनि चल्न सक्ने भएको छ। आश्रम बन्द नहोस् भनेर अक्षयकोष तयार भएको छ’, उनले भनिन्, ‘यसलाई अझ बढाउने लक्ष्य छ।’ 

आश्रममा रहेका १० जना बालबालिका अहिले तिलोत्तमा मणिग्रामको शान्ति नमुना माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका छन्। 

पुष २०, २०७८ मंगलबार ०९:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।