राष्ट्रिय सभा सदस्यबाट कोमल वली आउट 

राष्ट्रिय सभा सदस्यबाट कोमल वली आउट 

लुम्बिनी प्रदेशबाट एमालेले गुल्मीका कृष्ण सुनार, दाङका राम लखन गुप्ता र नेपालगन्जकी भारती खनाललाई उम्मेदवारको मनोनयन गर्न लगाउने निर्णय गरेको छ।

लुम्बिनी प्रदेशबाट एमालेकी कोमल वली र राम लखन चमार राष्ट्रिय सभा सदस्य छन्। वली र चमारसँगै कांग्रेसका दृगनारायण पाण्डेयको पदावधि २१ फागुनबाट सकिँदै छ। 

एमालेले वलीलाई उम्मेदवार नै नबनाउने भएपछि उनी फागुन २१ बाट राष्ट्रिय सभा सदस्यबाट बाहिरिनेछिन्। 

लुम्बिनी प्रदेशबाट वलीसँगै एमालेकै चमार र कांग्रेसका पाण्डेय पनि बाहिरिने निश्चित भएको छ। एमाले र कांग्रेसले लुम्बिनी प्रदेशबाट निर्वाचित हुने तीन सदस्यमा यसअघि निर्वाचितलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ। 

लुम्बिनी प्रदेशमा कांग्रेसबाट युवराज शर्मा, एकीकृत समाजवादीबाट राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट राजेश वि.क.ले उम्मेदवारी दिनेछन्। उम्मेदवारको मनोनयन दर्ता भोलि मंगलबार हुँदै छ। 

२०७५ असार ४ मा गोला प्रथाबाट कार्यकाल तोकिएका मध्ये २० जना सदस्यको कार्यकाल फागुन २० सम्म मात्रै छ। यसअघि निर्वाचित चन्द्रबहादुर खड्काको पद रिक्त भएपछिको उपनिर्वाचन कांग्रेसका पाण्डेय निर्वाचित भएका थिए। गोला प्रथा गर्दा खड्काको कार्यकाल चार वर्ष रहेको थियो। त्यसैले पाण्डेयको कार्यकाल पनि २१ फागुनमा सकिने निर्वाचन आयोगले जनाएको छ। 

निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले मंगलबार बिहान १० देखि ३ बजे सम्म जिल्ला अदालत दाङको परिसरमा मनोनयन दर्ता हुने बताए। लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य ८१ र  २१५ स्थानीय तहका मेयर उपमेयर तथा अध्यक्ष उपाध्यक्षले मतदान गर्नेछन्। प्रदेश सभा सदस्यको मतभार ४८ र मेयर उपमेयर तथा अध्यक्ष उपाध्यक्षको मतभार १८ रहेको छ।

पुष १९, २०७८ सोमबार १९:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।