सत्ता गठबन्धनले राष्ट्रिय जनमोर्चालाई स्थायी सदनमा पुर्याउने, कांग्रेसले टुङ्ग्यायो उम्मेदवार
काठमाडौँ : राष्ट्रिय सभाका एक तिहाइ सदस्यको चुनाव हरेक दुई दुई वर्षमा हुने गरेको छ। दोस्रो चार वर्षे कार्यकाल सकिन लागेका २० जना सदस्य निर्वाचित गर्न माघ १२ गते चुनाव हुँदै छ।
रिक्त हुने २० मध्ये ८ जना नेकपा एमालेका छन्। मनोनीत १ जनाको पनि फागुन २० मै पदावधि सकिँदै छ।
यसअघि जुन प्रक्रियाबाट चुनिएका थिए त्यसैअनुसार रिक्त २० सदस्य चुनिने छन्। २० मध्ये एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नुपर्नेछ।
राष्ट्रिय सभाका एक तिहाइ सदस्यको चुनावमा प्रदेश सभा सदस्य र स्थानीय तहका मेयर उपमेयर तथा अध्यक्ष उपाध्यक्ष मतदाता हुनेछन्। प्रदेश सभाका सदस्यको मतभार ४८ हुनेछ भने मेयर उपमेयर तथा अध्यक्ष उपाध्यक्षको मतभार १८ हुनेछ।
राष्ट्रिय सभामा अहिलेसम्म नेकपा एमाले नै पहिलो दलको रूपमा रहेको छ। एमालेका २६ जना राष्ट्रिय सभा सदस्य छन्। राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्र १५ सदस्यसहित दोस्रो दल रहेको छ।
नेपाली कांग्रेसका ७, एकीकृत समाजवादी पार्टीका ७, जनता समाजवादी पार्टीका २ र लोकतान्त्रिक समाजवादी पार्टीका १ जना सांसद छन्।
एमालेको रिक्त हुने ८ सदस्यमा सत्ता गठबन्धनले भागबन्डा गरेका छन्। प्रतिनिधि सभामा मात्रै प्रतिनिधित्व रहेको राष्ट्रिय जनमोर्चाले पनि एक सदस्यमा उम्मेदवारी दिने सहमति गरेको छ।
गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउने र एमालेका उम्मेदवारलाई हराउने सहमति गरेको जनमोर्चाले लुम्बिनी प्रदेशबाट दलित कोटामा तुलबहादुर विकलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। गठबन्धन दल राष्ट्रिय सभा सदस्यको चुनावमा एक भएर जाने सहमति अनुसार लुम्बिनी प्रदेशबाट विकलाई उम्मेदवार बनाउने निर्णय गरेको उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन।
नेपाली कांग्रेसले २० मध्ये ६ पदमा उम्मेदवारी दिने भएको छ। ३ जना यसअघि निर्वाचित र ३ जना गठबन्धनमा भएको सहमति अनुसार ६ सदस्य पदमा उम्मेदवारी दिने कांग्रेसले निर्णय गरेको छ।
कांग्रेसले प्रदेश नम्बर १ मा गोपालकुमार बस्नेत, बागमती प्रदेशमा कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशमा कमला पन्त, कर्णाली प्रदेशमा दुर्गाकुमारी गुरुङ,
लुम्बिनी प्रदेशमा युवराज शर्मा र सुदूरपश्चिम प्रदेशमा नारायण मिश्रलाई उम्मेदवारमा मनोनयन गर्ने कांग्रेसले निर्णय गरेको मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए।
पाँच वर्षे सदस्य
प्रतिनिधि सभामा अहिले २७१ सदस्य कायम छन्। दल विभाजित हुँदा पनि एमालेको प्रतिनिधि सभामा ९८ जना सदस्य छन्।
दोस्रो ठुलो दल नेपाली कांग्रेसका ६३ र तेस्रो ठुलो दल नेकपा माओवादी केन्द्रका ४९ जना सांसद प्रतिनिधि सभामा छन्। एमालेबाट विभाजित भएर दर्ता भएको नेकपा एकीकृत समाजवादी पार्टी २३ जना सांसद सहित प्रतिनिधि सभामा चौथो दलको रूपमा रहेको छ।
जनता समाजवादी पार्टीका २१ जना र लोकतान्त्रिक समाजवादी पार्टीका १३ जना छन्। स्वतन्त्र सांसद २ जना छन्। राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका एक एक जना सांसद छन्।
नेपाली कांग्रेसका दुई जना सांसद निलम्बनमा परेका छन्। विजयकुमार गच्छदार र मोहम्मद अफताब आलम निलम्बनका परेका सांसद हुन् भने रेसमलाल चौधरी डिल्लीबजार जेलमा छन्।
प्रतिनिधि सभाका सदस्यको पाँच वर्षे कार्यकाल सकिन अब एक वर्ष मात्रै बाँकी छ। निर्वाचन आयोग स्थानीय तहको चुनाव गराउने तयारीमा लागेको छ। स्थानीय तहको चुनावपछि प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको चुनाव गराउने तयारी गरेको आयोगले जनाएको छ।
आयोग अहिले दलहरूले २०७४ सालको निर्वाचनमा समानुपातिक तर्फ बुझाएको बन्द सूचिमा रहेकाहरूको नाम रुजु गर्दै छ। ‘निर्वाचित भएका त भइहाले, नभएकाहरूको नाम हेर्दै छौ’आयोगको कानुन शाखाका कर्मचारीले,‘हामी अहिले बन्द सूचिमा भएकाको नाम हेर्न व्यस्त छौँ।’
पुष १९, २०७८ सोमबार १६:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।