शहरी विकासमन्त्री झाँक्री: तीन दिनअघि रोइन्, अहिले पिर्के सलामी खाइन्

बुटवलः शहरी विकासमन्त्री रामकुमारी झाँक्री अहिले सामाजिक सञ्जालको 'हट टपिक' बनेकी छिन्। झाँक्रीले पिर्के सलामी लिँदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि उनमाथि व्यङ्ग्य र आलोचनाको शब्द बर्सिरहेका छन्।
तीन दिनअघि रोएर सामाजिक सञ्जाल तताएकी झाँक्रीले त्यो चर्चा सेलाउन नपाउँदै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई अर्को फण्डा दिएकी हुन्।
पाँच दिन यता गृहजिल्ला गुल्मीमा रहेकी झाँक्री यो बीचमा पार्टी कार्यालय उद्घाटन, पार्टी प्रवेश कार्यक्रम, विभिन्न आयोजनाको निरीक्षण र राजनीतिक दलका स्थानीय नेतासँग अन्तरक्रियामा व्यस्त छिन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की सचिव समेत रहेकी झाँक्री गत शुक्रबार गुल्मी सदरमुकाम तम्घासमा आयोजित पार्टीको जिल्ला कार्यालय उद्घाटन कार्यक्रममा एमाले सम्झिँदै रोएकी थिइन्। आफूले दुःख गरेर निर्माण गरेको घरमा बस्ने वातावरण नभएको भन्दै उनी रोएकी थिइन्।
गृहजिल्लामा पुरानो पार्टीलाई सम्झेर रोएपछि कतिपयले भावनात्मक आँसु भने त कतिले अर्थहीन रुवाइ भने। त्यसैमाथि थपिएको छ– पिर्के सलामी।
नेताहरूले पिर्के सलामी, कुर्सी सलामी, खादा लगाउने जस्ता गतिविधि गर्दा सामाजिक सञ्जालमा चर्को आलोचना गर्ने झाँक्रीले अहिले त्यही व्यहोरा सिको गरेपछि हाल उनले पोस्ट गरेका पुराना सलामीविरोधी तस्बिरसहित झाँक्रीको आलोचना भइरहेको छ।
मदाने गाउँपालिका पुर्कोटदहमा रहेको ईलाका प्रहरी कार्यालय निरीक्षण गर्ने कार्यक्रम प्रहरीले झाँक्रीलाई सलामी दिएको थियो। रातो पिर्कामा सलामी खाएको तस्बिर सार्वजनिक भएपछि हाल मन्त्री झाँक्रीको सचिवालयले यस बारे खण्डन समेत गरेको छ।
सचिवालयले जारी गरेको स्पष्टिकरणमा संघीय सरकारको मन्त्रीको हैसियतले प्रहरी कार्यालयमा जाँदा संविधान, कानूनअनुसार सम्मानस्वरूप सलामी दिने प्रचलन भएकाले त्यही प्रचलनअनुसार सलामी पाएको उल्लेख छ।
यस्तो छ सचिवालयबाट जारी स्पष्टिकरण
पुष १९, २०७८ सोमबार १३:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।