तीन जोडी श्रीमान्-श्रीमतीसहित कर्णालीका २९ जना माओवादी केन्द्रीय सदस्य चयन

तीन जोडी श्रीमान्-श्रीमतीसहित कर्णालीका २९ जना माओवादी केन्द्रीय सदस्य चयन

सुर्खेतः नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट कर्णाली प्रदेशका २९ नेता केन्द्रीय सदस्यमा चयन भएका छन्। तीमध्ये तीन जोडी श्रीमान्-श्रीमती पनि छन्।

माओवादी केन्द्रको काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले कर्णाली प्रदेशका १० मध्ये नौ जिल्लाबाट केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको हो। जसमा सबैभन्दा बढी जाजरकोटबाट चयन भएका छन्। 

जाजरकोटबाट शक्तिबहादुर बस्नेत, सत्या पहाडी, कालीबहादुर मल्ल, मायाप्रसाद शर्मा, रामदीप आचार्य, कृष्णा शाह र पार्वती विक रहेका छन्।

यस्तै सुर्खेतबाट नरबहादुर विष्ट, पुष्पा घर्ती विष्ट, झकबहादुर मल्ल, विन्दमान विष्ट, सीता नेपाली र हरिमाया शर्मा केन्द्रीय सदस्यमा चयन भएका छन्। 

रुकुमपश्चिमबाट जनार्दन शर्मा, राजकुमार शर्मा, वसन्त शर्मा, लुम्बिनी गौतम र लक्ष्मी पुन चयन भएका छन्। जुम्लाबाट गजेन्द्रबहादुर महत, नरेश भण्डारी र गोमा कुँवर चयन भए। 

कालीकोटबाट महेन्द्रबहादुर शाही, विष्णुबहादुर विक र यशोदा न्यौपाने, सल्यानबाट टेकबहादुर बस्नेत र टीका बुढाथोकी, हुम्लाबाट छक्कबहादुर लामा र विजय भण्डारी चयन भएका छन्।

आठौं महाधिवेशनबाट कर्णालीको सबैभन्दा कम डोल्पामा एक जना काली चलाउने केन्द्रीय सदस्यमा चयन भएका छन्। मुगुबाट भने केन्द्रीय सदस्यको नाम समेटिएको छैन।

केन्द्रको २३६ केन्द्रीय कार्यसमिति सदस्यमा कर्णालीको १२ प्रतिशत सदस्य संख्या सहभागिता रहेको छ।

तीन जोडी केन्द्रीय सदस्यमा
नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा कर्णाली प्रदेशबाट विभिन्न कलस्टरमा तीन जोडी केन्द्रीय सदस्यमा चयन भएका छन्।
पूर्वमन्त्री शक्ति बस्नेत र उनकी श्रीमती पूर्वसांसद सत्या पहाडी केन्द्रीय समितिमा परेका छन्।

बस्नेत खुल्लातर्फबाट केन्द्रीय समितिमा आउँदा पहाडी खस आर्य महिलाबाट केन्द्रीय समितिमा समेटिएकी हुन्।

यस्तै पूर्वसांसद नरबहादुर विष्ट र उनकी श्रीमती पुष्पा घर्ती विष्ट पनि केन्द्रीय सदस्यमा परेका छन्। पुष्पा हाल कर्णाली प्रदेश सभाकी उपसभामुख समेत हुन्। विष्ट खस आर्य तर्फबाट र महिला जनजातिबाट पुष्पा केन्द्रीय समितिमा परेकी हुन्।

त्यस्तै माओवादी केन्द्रका नेता रामदीप आचार्य र उनकी श्रीमती कृष्णा शाह पनि केन्द्रीय सदस्यमा परेका छन्। आचार्य खुला केन्द्रीय सदस्यबाट र खस आर्य युवा महिलाबाट कृष्णा परेकी हुन्। कृष्णा कर्णाली प्रदेश सभाकी सदस्य समेत हुन्।

पुष १९, २०७८ सोमबार १२:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।