गोपाल योञ्जनले अर्कै केटाले आफ्नी प्रेमिकालाई लेखेको प्रेम पत्र पाएपछि
काठमाडौँ : बढो विवादित सुनिन्छ गोपाल योञ्जन अनि रिन्छेन योञ्जनको प्रेम यात्रा। जीवनको अन्तिम समयतिर सङ्गीतकार तथा गीतकार गोपाल बढी नै मदिरामा रत्तिनुमा रिन्छेनसँगको सम्बन्धको खटपटलाई कारण मान्नेहरू पनि छन्।
गोपाल योञ्जनको भौतिक शरीर बिलायो। तर उनका अजर-अमर सृजना अझै उत्तिकै लोकप्रिय छ। त्यसैले त सारेगामापा लिटिल च्याप्सले गोपाल योञ्जन स्पेसल एपिसोडै चलायो उनै रिन्छेनलाई विशेष गेस्ट बनाएर।
कार्यक्रममा उनी गोपालसँगको आफ्नो सम्बन्धबारे त्यति गहिरिएर बोलिनन्। एक रोचक प्रसङ्ग भने सुनाइन्।
२०२४⁄२५ सालतिर गीतसङ्गीतमा लागेर मात्र जीविकोपार्जन हुन सक्ने स्थिति नभएपछि गोपाल योञ्जनले सेन्ट जेभियर्स र सेन्ट मेरिजमा शिक्षक भएका थिए संगीत पढाउन।
रिन्छेन पनि त्यही शिक्षक। दुबैबिच त्यही भेट भयो। भेट बाक्लिँदा प्रेम टुसायो। बिछट्टै राम्री रिन्छेनको दिलमा बस्न चाहने अन्य पनि थिए। प्रयास गर्थे।
एक दिन रिन्छेन स्कुल जान बस कुरेर बस्दा एक जना केटा आएर रिन्छेनलाई पत्र दिएर गयो। पत्र नेपाली भाषामा लेखिएको। रिन्छेन नेपाली पढ्न नसक्ने। उनले पत्र ब्यागमा हालिन् र स्कुल गइन्।
उनले जब गोपाल योञ्जन भेटिन के लेखेको रैछ पढ त भनेर पत्र दिइन्। त्यो प्रेम पत्र थियो। त्यो बेलासम्म गोपालका गीत हिट भइसकेका थिए।
'गोपालले गरेको गाली त नभनौँ। पत्र पढेपछि रिसाउँदै गोपालले मेरो प्रेमिकालाई लभ लेटर दिने त्यो पनि मेरै गीत लेखेर भन्दै गाली गरेको थियो,' रिन्छेनले भनिन्।
यी बिच पछि विवाह भयो। गोपाल योञ्जनका हिट गीत आए मित नारायण गोपालसँगका। गोपाल चाँडै गए। कारण मदिरा नै भनिन्छ अझैँ।
पुष १९, २०७८ सोमबार ००:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।