रावल-भुसालले चितवनमा ओलीलाई जे गर्न रोके प्रचण्डले काठमाडौँमा त्यही गरे

रावल-भुसालले चितवनमा ओलीलाई जे गर्न रोके प्रचण्डले काठमाडौँमा त्यही गरे

काठमाडौँ : नेकपा एमालेको १० औँ महाधिवेशनमा केपी ओली निर्वाचन हैन गोजीमा भएको लिस्टबाट केन्द्रीय कमिटी चुन्न चाहन्थे। बन्द शत्रमा लिस्ट पढ्ने अनि महाधिवेशन प्रतिनिधीलाई ताली पिट्न लगाएर अनुमोदन गराउने।

तर भीम रावल अनि घनश्याम भुसालका कारण यो सम्भव भएन। कार्यसमिति उनले चाहे जस्तै बन्यो। तर सबै उनको निगाह मात्र चलेन। उनकै प्यानल हाबी भए पनि लोकतान्त्रिक विधि अपनाउनै पर्यो।

तर चितवनमा ओली जुन रणनीतिमा असफल भए त्यही रणनीतिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सफल भए। उनले पार्टीको ८ औँ महाधिवेशनलाई केवल औपचारिकता निर्वाहको थलो बनाए। गोजीको लिस्ट पढेर नेता चुन्ने ओलीको असफल शैली उनले सफल पारे आइतबार।

निर्वाचन कार्य तालिकालाई थन्क्याएर फाइलमा टिपेका नाम पढे। केन्द्रीय सदस्य बनाए। अब त्यही केन्द्रीय सदस्यहरूले जय गान गाउँदै उनीसहितको पदाधिकारी चुन्नेछ।

धन्न एमालेमा भीम रावल र धनश्याम थिए। यता माओवादीमा परिवर्तनका ठुला गफ मात्र भए। महाधिवेशन भएकाले निर्वाचन प्रक्रियामा प्रवेश गरौँ भन्ने आँट भएका एक जना नेता निस्किएनन् माओवादीमा। १० वर्षीय सशस्त्र सङ्घर्षले खारिएका विद्रोही मानसिकता १५ वर्षमै पुरै दास बनिसकेको झैँ देखियो।

सुध्रने नक्कली वाचा
आफ्नै टाउकोमा आगो झोस्न तयार भन्दै राजनीतिक प्रतिवेदनमा प्रायश्चित गरिए पनि त्यो प्रतिनिधीलाई भावुक बनाउँदै दासको कोटीमा लैजाने प्रयास मात्रै देखियो।

अपुरो केन्द्रीय सदस्य र बिना पदाधिकारी  ८ औँ महाधिवेशन सक्काएपछि प्रचण्डको कागजी प्रायश्चित ब्यवहारमा कार्यान्वयन हुन्न अनि उनी नेतृत्वमा रहेसम्म केन्द्रमा लोकतान्त्रिक पद्धतिबाट नेतृत्व छानिन सम्भव छैन भन्ने पुष्टि भयो।

नत्र निर्वाचन कार्यतालिका आइसकेपछि २ सय ९९ जना केन्द्रीय सदस्य चुनिनुपर्नेमा प्रचण्डले वाचन गरेर २ सय ३६ जनाको नाम सुनाएकै भरमा केन्द्रीय समिति चुन्दैनथ्यो। निर्वाचन समितिको औपचारिक प्रक्रियासम्म पूरा गरिन्थ्यो। तर भएन। उनले नाम पढे। प्रतिनिधिले ताली बजाउँदै पास गरे। महाधिवेशन सकियो।

तयारीबिनाको महाधिवेशन
राष्ट्रिय सम्मेलन भन्दाभन्दै महाधिवेशन भएको थियो यो। राष्ट्रिय सम्मेलन गरे त्यसका पारित प्रस्ताव पुन महाधिवेशनबाट पास गराउनुपर्ने भएपछि रातारात पहिलो सम्मेलन ८ औँ महाधिवेशन भन्यो। त्यसले केन्द्रीय सदस्य प्रतिस्पर्धात्मक नभई दास विधिबाट छान्यो। तर पदाधिकारी छान्ने दुख अझै बाँकी छ।

१ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव ३ सचिव र १ कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी बनाउन माओवादीलाई सहज देखिन्न।

पदाधिकारी छान्न अप्ठ्यारोले नै महाधिवेशनबाट अपुरो केन्द्रीय सदस्य छानियो। जुन दिन राष्ट्रिय सम्मेलन हुनुपर्ने त्यही दिन बिहान महाधिवेशन भनेर भद्रगोल व्यवस्थापनमा महाधिवेशन सक्कायो माओवादी केन्द्रले।

८ औँ महाधिवेशनले माओवादी नेताका लागि पार्टी पद्धति कति महत्त्वपूर्ण रैछ अनि निर्णय कति दूरदर्शी हुने रैछ देखियो। उनीहरूको व्यवस्थापन क्षमता पनि देखायो पार्टी महाधिवेशनले।

वाइसीएलको कब्जामा मिडिया सेन्टर
आवश्यक सूचना दिन र सूचनामा सहजीकरणको लागि लेखनाथ हलमा मिडिया सेन्टर स्थापना गरिएको थियो ल। मिडिया सेन्टर प्रवक्ताको प्रेस मिट गर्ने भन्दा अरू काममा प्रभावकारी हुन सकेन।

मिडिया सेन्टरमा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष गोविन्द आचार्य कमान्डर थिए। उनी प्रचार विभागका सचिव पनि थिए।
तर मिडिया सेन्टर प्रचार विभागको निगरानीमा नभई माओवादीको भतृसंगठन वाइसीएलको कमान्डमा थियो।

पार्टीबाट प्रेस पास नबनाएका पत्रकार माओवादीको मिडिया सेन्टरमा पुग्न वाइसीएल र उसका कमाण्डरको निर्देशन आवश्यक पर्थ्यो। ढोकामा उभिएका वाइसीएलका कार्यकर्ताले उसको इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाको आदेश नआई हुँदैन भन्दै जतिबेलमा मन लाग्यो उति बेलै सञ्चारकर्मी प्रवेशमा रोक लगाउँथे।

नेतृत्वमा निगाह नै निर्णायक
न कुनै पदमा उम्मेदवारको लबिङ थियो न कुनै पदमा चुनाव हुन्छ भन्ने प्रतिनिधिलाई लागेको थियो। ३४ वर्षदेखि निरन्तर अध्यक्षको कुर्सीमा रहेका प्रचण्डले म अध्यक्ष बन्दिन अब साथीहरू बन्नुस् भन्ने अवस्था थिएन।

१७ गते राती ८ बजेबाट उम्मेदवारी दर्ताको कार्यतालिका केन्द्रीय निर्वाचन आयोगले निकालेको थियो। पार्टीको आग्रहमा सो दिन सम्पूर्ण कार्यतालिका स्थगित गरिएको आयोगका अध्यक्ष विष्णु पुकार श्रेष्ठले जानकारी गराएका थिए।

दोस्रो पटकको कार्य तालिकामा १८ गते २ बजेबाट उम्मेदवारी दर्ताको समय थियो। तेस्रो पटक संशोधन गरिएको तालिकामा दिउँसो ४ बजेबाट उम्मेदवारी दर्ता र १९ गते बिहान ८ बजेबाट मतदानको समय थियो।

'सर्वसम्मत हुन्छ र नभए प्रजातान्त्रिक अभ्यासबाट नेतृत्व टुङ्गिन्छ’ भनेका अध्यक्ष प्रचण्ड १८ गते निर्वाचनमा नजाने गरी भेटवार्तामा थिए।

उनले पदाधिकारीका आकाङ्क्षी र स्थायी कमिटीका १४ जना सदस्यहरूसँग वान टु वान वार्ता गरे। महाधिवेशन स्थलमा भेला भएको प्रतिनिधि र नेताको मत माओवादीमा चुनाव हुँदैन र अर्को ५ वर्ष पनि निर्विकल्प प्रचण्डले नै पार्टी हाँक्ने बताइरहेका थिए। उनले जे चाहन्छ त्यही मात्र हुन्छ भनिए पनि कतै सुध्रिएकी भन्ने आस गर्नेहरू पनि थिए। तर प्रतिवेदनमा सुध्रिएका उनी ब्यवहारमा सुध्रिएनन्।

महासचिवको लफडाले  नटुङ्गिएको पदाधिकारी
महाधिवेशन सुरु भएको तेस्रो दिन एक नेताले उकेरासँग भनेका थिए, ‘हलले केन्द्रीय सदस्य र अध्यक्ष मात्र घोषणा गर्छ अरू पदाधिकारी पछि केन्द्रीय कमिटीले टुङ्ग्याउने गरी महाधिवेशन सकिन्छ।’

ती नेताले भनेभन्दा कम आकारमा केन्द्रीय सदस्य घोषणा गर्दै माओवादीको ८ र्औ महाधिवेशन सकियो। अध्यक्षमा प्रचण्ड निर्विकल्प छन्। अन्तिम समयमा आएर नेता व्यवस्थापनको लागि सिर्जना गरिएको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ निर्विकल्प छन्।

महाधिवेशनको उद्घाटन सत्रमा श्रेष्ठलाई पहिलो पटक वरिष्ठ नेताको रूपमा सम्बोधन गरिएको थियो। तर महासचिव अझैँ टुङ्गिएको छैन।

जनयुद्धकला र शान्ति प्रक्रियामा अध्यक्ष प्रचण्डको सहयोगीको रूपमा रहेका पार्टी प्रवक्ता कृष्णबहादुर महरा महासचिवका आकाङ्क्षी हुन्। तत्कालीन सभामुख भएको अवस्थामा लागेको यौन दुर्व्यवहारको आरोप (जसमा उनले सफाइ पाइसके)ले महरा शक्तिहीन छन्।

तर एकीकृत कम्युनिस्ट पार्टी बनाउने भन्दै माओवादीले थालेको पूर्व माओवादी पार्टीसँग एकीकरणको अभ्यासका कमान्डर महरा नै छन्। पार्टी एकताको लागि उनले नेत्रविक्रम चन्द विप्लव र मोहन वैद्य किरणसँग संवादमा छन्।

महासचिवको दौडमा जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन र शक्तिबहादुर बस्नेत गुट बनाएर अघि बढेका थिए। तर अब त्यसले काम गर्न नसक्ने भयो जब शक्ति प्रचण्डमा केन्द्रित भयो। प्रचण्डले जसलाई रुचायो उहीँ हो महासचिव अब। न प्रतिष्पर्धा न लोकतान्त्रिक विधि। पुन निगाह नै निर्णायक।

पुष १९, २०७८ सोमबार ००:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।