पार्टीको निर्वाचन हारेकालाई देउवाको केन्द्रीय सदस्य उपहार

पार्टीको निर्वाचन हारेकालाई देउवाको केन्द्रीय सदस्य उपहार

काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरू जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्। आज पार्टीको विधान बमोजिम उनीहरूलाई देउवाले केन्द्रीय कार्यसमितिमा मनोनीत गरेका हुन्।

मनोनीत तीनै जना केन्द्रीय सदस्यहरू पार्टीको १४औं महाधिवेशनमा पराजित नेताहरू हुन्। जसमध्ये जीवनबहादुर शाही पीछडिएको क्षेत्रतर्फबाट सहमहामन्त्रीका उम्मेदवार थिए। प्रदीप पौडेल देउवा समूहबाट महामन्त्रीका उम्मेदवार थिए। यस्तै कल्याणकुमार गुरुङ सभापति पदका लागि भएको निर्वाचनमा पराजित भएका थिए।    

यसअघि पनि देउवाले शनिबार महाधिवेशनमा पराजित केही नेताहरूलाई केन्द्रीय सदस्य पदमा मनोनीत गरेका थिए। हिजो नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा प्रकाशशरण महत, डा नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनीत गरिएको थियो।

यीमध्ये सिंह, निधि, गच्छदार, महत र कोइराला पराजित उम्मेदवार हुन्। कांग्रेस सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने विधानमा व्यवस्था छ।

पुष १८, २०७८ आइतबार १५:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।