गायिका नलिना चित्रकारको प्रसव पीडा र खुसी : मेरो गीत गाउँदै, मेरै अप्रेसन

गायिका नलिना चित्रकारको प्रसव पीडा र खुसी : मेरो गीत गाउँदै, मेरै अप्रेसन

कुनै समय पप-संगीतको दुनियाँमा एकछत्र राज गरेकी गायिका हुन् नलिना चित्रकार। विसं २०४५ सालमा ‘तिम्रो अधर, तिम्रो नजर’ बोलको गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी नलिनाले त्यसपछि कहिल्यै पछाडि फर्कनु परेन।

नेपाली सांगीतिक बजारमा पप गीतको बाहुल्यता रहेको त्यो समयमा नलिना यसरी जमिन् कि, उनको गाएका जुनसुकै गीत पनि सुपरहिट भए।

‘पानी-पानी भयो, मेरै मन पनि’, ‘एकैछिन’, ‘गोरी काली सानी मोरी’, ‘मेहन्दी लगाउ’, ‘काले कृष्ण’, ‘मस्ती जिन्दगी’, ‘चाहिंदैन हिरा र मोती’ जस्ता चर्चित गीत गाएकी नलिना केही वर्षदेखि भने सपरिवार अमेरिकामा बस्दै आएकी छिन्।

अमेरिकामा बसे पनि नलिना गीत-संगीतबाट भने टाढा छैनन्। उनले त्यहाँ संगीत साधना र सांगीतिक कार्यक्रमहरुमा आफूलाई व्यस्त राख्दै आएकी छिन्।

२०५९ सालमा सञ्जीव मिश्रसँग अन्तरजातीय विहे गरेकी नलिनाका एक जना छोरा छन्। विहेको दुई वर्षपछि बच्चा जन्माउने योजना बनाएकी नलिनासँग प्रसवका ९ महिना सांगीतिक व्यस्ततामै बिताएको अनुभव छ। त्यो समयमा आफूले अनुभव गरेका प्रसव पीडा र खुसी उनले उकेरासँग यसरी बाँडिन्ः

म काठमाडौंको मरु टोलमा नेवार समुदायमा जन्मेकी हुँ। त्यतिबेला कतिपय मानिस पुरातन सोचकै थिए। तर मलाई भने परिवारबाट कुनै पनि कुरामा रोकावट गरिएन। त्यही कारण मैले २०४५ सालमै गायकहरु मात्रै हावी रहेको पप गीतमा कदम राखें।

गीत गाउन भनेपछि सबै कुरा बिर्सने मेरो पहिलो गीत नै हिट हुन पुग्यो। त्यसपछि मेरो सांगीतिक यात्राले निरन्तरता पायो। गीतहरु चल्न थालेपछि यति धेरै कार्यक्रमहरुमा जानुपर्थ्यो कि घरमा बस्ने समय पनि हुँदैनथ्यो।

धेरै व्यस्त हुनुपरेका कारण मैले आफ्ना दिदीका बच्चाहरुलाई पनि समय दिने, काखमा लिने, खेलाउने मौका पाइनँ। मलाई बच्चा मन त पर्थे तर  झुम्मिहाल्ने, लिइहाल्ने, खेलाइहाल्ने स्वभाव थिएन। त्यही भएर म बच्चाहरुसँग त्यति नजिक नै भइनँ।

०००
सांगीतिक यात्राकै क्रममा मेरो भेट सञ्जीव मिश्रसँग भयो। र, विहे पनि उहाँसँगै भयो।

अन्तरजातीय विहे भए पनि हामीलाई कुनै खालको प्रेसर थिएन। माइती र घरमा खासै केही फरक अनुभव गर्नु परेन। साथै बच्चा जन्माइहाल्ने दबाब पनि कतैबाट, कहिल्यै भएन।

विहे हुँदा मेरो सांगीतिक यात्राको गोल्डेन समय थियो। धेरै कार्यक्रम लाइनमा हुन्थे। त्यही भएर हामीले बच्चा पाइहाल्ने सोच बनाएनौं।

विहे भएको तेस्रो दिन नै म कार्यक्रमका लागि नेपालगञ्ज उडेको थिएँ। मेरो नेपाल टुरको कार्यक्रम चलिरहेको थियो। नेपल टुर सकिनासाथ एक महिना कार्यक्रमका लागि जापान गइहालें।

‘सधैं यस्तो समय आउँदैन, अहिले तिम्रो समय छ, यसलाई गुमाउनुहुँदैन’ सबैले यसै भन्नुहुन्थ्यो। यसरी नै दुई वर्ष बिते। तर कसैले दबाब नदिए पनि हामी आफैंले एउटा बच्चा चाहिँ जन्माइहाल्ने सोच बनायौं।

विहेपछि कतै घुम्न गएका थिएनौं। विहेको दुई वर्षपछि देहरादुन, मसुरी, दिल्लीमा हनिमुन ट्रिप गयौं। हामीले बच्चा जन्माउने योजना बनाइसकेका थियौं। उमेर धेरै हुँदा बच्चा नबस्ने, विभिन्न समस्या आउने सुनेका थियौं।

मेरो जीवनमा सबैभन्दा खुसी र सबैभन्दा दुःखको घन्टी एकै पटक बज्यो। मैले मेरो जन्मदाता बुबालाई गुमाएको समयमै मैले आफू गर्भवती भएको थाहा पाएँ। त्यो समय खुसी हुने की दुःखी? एकदमै सकसको अवस्था थियो त्यो।

सञ्जीव भने निकै खुसी हुनुहुन्थ्यो। मलाई केही गर्नै नदिने, सबै आफैं गर्ने। जे भन्यो त्यो खुवाइहाल्ने, एकदम केयर गरिरहने।

हामीलाई छोरी भए हुन्थ्यो जस्तो लागेको थियो। तर डाक्टरकहाँ गएर अल्ट्रासाउन्ड गर्दा के छ भनेर कहिल्यै सोधेनौं। जे दिए पनि भगवानको प्रसाद हो, एउटैमा खुसी हुने हाम्रो एउटै प्लान थियो।

प्रेगनेन्ट अगाडि नै अस्ट्रेलियाको सांगीतिक कार्यक्रमको लागि साइन गरिसकेको थिएँ। चिकित्सकहरुसँग सल्लाह गरेर प्रेगनेन्सीको तीन महिनापछि एक महिनाको लागि अस्ट्रेलिया उडेको थिएँ। मसँग टुरमा सुगम पोखरेल, दिपेशकिशोर भट्टराई, सरोज दत्त र नारद खतिवडा थिए।

अस्ट्रेलियामा आयोजकहरुले म प्रेगनेन्ट भन्ने थाहा पाएर धेरै नै केयर गरेका थिए। सिड्नी, मेलबर्न र ब्रिजक्याम्पमा एक महिने कार्यक्रम थियो। त्यो समय परिवारवाट टाढा हुँदा धेरै गाह्रो हुने रहेछ। अरुले जति माया र केयर गरे पनि प्रेगनेन्सीको बेला श्रीमान् नै चाहिने रहेछ। हरेक दिन २/३ पटक फोनमा कुरा गर्थ्यौं। मलाई सधैं डर लाग्थ्यो, बच्चालाई केही होला की भन्ने।

नेपाल फर्केपछि पनि धेरै कार्यक्रमहरुमा गइरहें। मैले सकेसम्म अफर आएका कार्यक्रम छोडिनँ। मलाई लाग्थ्यो, व्यस्त भइरहँदा शरीर भित्रको बच्चालाई पनि राम्रै हुन्छ।

६/७ महिनाको भएपछि बच्चा पेटमा एकदमै चल्थ्यो। कहिलेकाहीँ त उकुसमुकुस नै हुन्थ्यो। बीचमा मेरो तौल एकदमै बढ्यो। दुई वटा ज्यानको लागि पनि खानुपर्छ भनेर खाइयो। सुगर बढ्न थालेपछि आफैंले खाना कम गर्दै लगें। डाइट चार्ट बनाएर मात्रा मिलाई-मिलाई खान थालें।

मलाई खानाका सबै परिकार मन पर्थ्यो। त्यो समयमा दूध भएको चिया भने हेर्नै मन लागेन। श्रीमानले हरेक बिहान मौसमको फ्रेस जुस आफैंले बनाएर खुवाउनुहुन्थ्यो। मलाई आफ्नो प्रेगनेन्सी पिरियडलाई महारानीको पिरियड जस्तै लाग्थ्यो।

सूर्य ग्रहण लाग्दा पेटमा नछोइयोस् भनेर पूरै मन्त्र पढेर बसेको थिएँ। किनकी, ग्रहणका बेला पेटमा छोयो भने बच्चाको कुनै अंगमा दाग बस्छ भन्ने भनाइ थियो। अध्यात्मतिर पनि रुचि बढ्यो। मठ मन्दिर, भजन, मन्त्रमा रुचि हुन थाल्यो।

मलाई मुख्य समस्या भने लुगा लगाउने हुन्थ्यो। नेपालमा त्यतिबेला प्रेगनेन्सीका लुगाहरु भनेजस्तो नपाइने। कतिले बाहिरबाट पठाइदिन्थे। त्यसमा पनि कार्यक्रमहरुमा गइरहनुपर्ने भएकोले समस्या हुन्थ्यो।

त्यो ९ महिनाको अवधिमा मलाई अरुलाई जस्तो सिकनेस केही भएन। पहिले जस्तो थियो, त्यस्तै रह्यो। पेट मात्रै पुक्क परेको एकदमै ठूलो थियो। ठूलो पेटका कारण धेरै हिँड्डुल गर्न चाहिँ गाह्रो हुन्थ्यो।

९ महिना लागेपछि कार्यक्रमहरुमा जान छाडें। तर बच्चा जन्मनु १० दिनअघि ‘जिन्दगी’ एल्बमको विमोचन कार्यक्रम थियो। त्यहाँ सबै जना मेरो ठूला पेट देखेर डराएका थिए। यतैबाट हस्पिटल लानुपर्ने हो कि भनेर जिस्काएको अहिले पनि सम्झना छ।

०००
डाक्टरले समय दिएको एक हप्ताअघि नै सिनामंगलको केएमसी हस्पिटलमा भर्ना भएँ। हस्पिटलमा बच्चा जन्मियो भने राम्रो स्याहार पाइन्छ भन्ने सोच थियो।

मलाई ब्यथा महसुस गर्ने रहर थियो। डाक्टरलाई पनि नर्मल बच्चा पाउने रहर सुनाएको थिएँ। तर ब्यथा नलागेपछि डाक्टरले अप्रेसनका लागि तीन वटा मिति दिएका थिए, अक्टोबर १९, २० र २१। मैले २० अक्टोबरको दिन रोजें। त्यही दिन श्रीमानको जन्मदिन पनि पर्थ्यो। त्यही दिन बिहानै अप्रेसन गरियो।

मैले गर्भवती भएदेखि नै डा. चन्दा कार्कीलाई देखाइरहेको थिए। अप्रेसनको बेला धेरै जना डाक्टर बस्नुभएको थियो। एउटा संयोग, त्यो टिममा डा. कान्ति गिरी पनि हुनुहुन्थ्यो। मेरो श्रीमान् जन्मेको बेला पनि उहाँले नै हेर्नुभएको रहेछ। बाउ र छोरा जन्मेको दिन पनि एउटै, डाक्टर पनि एउटै। निकै मिठो संयोग थियो।

डा. चन्दाले ‘मेहन्दी लगाउ मलाई’ गीत गाउँदै अप्रेसन गर्नुभएको थियो। आधा मात्रै बेहोस पारिएकोले बोलेको सबै मजाले सुनिन्थ्यो। डा. चन्दा मेरो गीतको फ्यान पनि हुनुहुँदोरहेछ।

बच्चा निकाल्नासाथ यति चिच्याएर रोयो कि म त झसंग भएँ। म डराएको देखेर एक जना डाक्टर मेरो अगाडि आएर ‘बच्चा यसरी रोएको धेरै राम्रो हो’ भन्दै जानुभयो।

मैले पहिलेदेखि चिन्ने डाक्टरले बच्चा बोकेर ‘बेबी ब्वाई आएको छ’ भन्दै देखाउनुभयो। जब मैले बच्चा पहिलो पटक देखें, अर्कैखालको महसुस भयो। आँसु बरर बग्यो, छाती बेस्सरी फुलेजस्तो भयो। महिला भएकोमा गर्व महसुर गरें मैले।

ओहो! हामी त संसारमा श्रृष्टि गर्ने जात, कसरी कमजोर हुन्छौं। हामी नभए त यो संसारको रचना नै असम्भव छ भन्ने भाव आयो। तमाम आमाहरुलाई सम्झें। मातृत्वको शक्ति र महत्वले मलाई बलियो बनायो।

०००
अप्रेसन गरेको २४ घन्टा बच्चालाई अब्जरभेजनमा राखिँदोरहेछ। त्यो २४ घन्टा मेरा लागि निकै लामो समयजस्तो लाग्यो। आफ्नो पेट चिरेर निकालेको बच्चा आफूसँग छैन, मलाई एक्लोझैं महसुस भयो।

बच्चा त दिए तर लिन, सम्हाल्न नै नजान्ने। त्यतिबेला दिदीको बच्चालाई स्याहार्न नपाउँदाको तितो अनुभूति भयो।

बच्चाले पहिलो पटक दूध खाँदा मन यति आनन्द भयो कि, लट्ठ र मस्त भएँ म। मैले १८ महिनासम्म बच्चालाई दूध खवाएँ। ऊ पनि मेरो दूध खान पाउदा दंग पर्थ्यो। घरको सबैभन्दा कान्छो छोराको छोरा भएकोले सबैको प्यारो थियो।

बाबु ३५ दिनको हुँदा बाबु, म र सञ्जीवले एनटिसीको विज्ञापनमा अभिनय गरेका थियौं। मेरो लागि बच्चा लक्की चार्म जस्तै भयो।

अहिले छोरा सक्षम १५ वर्षको भयो। उसमा पनि संगीतको चेत छ। राम्रो गीत गाउँछ, गितार राम्रो बजाउँछ। कतिपय ठाउँमा हामी आमा, छोराले पनि गाएका छौं। हामी तीन जना मिल्ने साथी जस्तै छौं।

जेठ १६, २०७८ आइतबार १४:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।