‘चुरा-पोते खोसिएकी सीता’लाई चुरा-पोतेले नै दियो सफलता
बुटवलः रुपन्देही तिलोत्तमा-३ कि सीता मल्ललाई संघर्षको दिनमा चुरा र पोतेले साथ दियो। अहिले त्यसैले सफलता पनि दिँदैछ।
एक समय थियो, सीता घरायसी काम गर्थिन्। श्रीमान् टिपर चलाउँथे। श्रीमान्कै कमाइले घरखर्च र दुई छोराहरूको शिक्षा दिक्षा धानिएको थियो।
तर ७ वर्षअघि उनले श्रीमान्लाई सधैंका लागि गुमाइन्। उनको सिउँदोको सिन्दुर, हातको चुरा र गलाको पोते खोसियो।
त्यसपछि अहिले सबै जिम्मेवारी सीताको काँधमा छ। छोराहरूलाई उच्च शिक्षा दिन होस् वा घर चलाउन, सीता एक्लै संघर्ष गरिरहेकी छिन्।
श्रीमानको मृत्युपछि संघर्ष
सीताका श्रीमान फणिन्द्रबहादुर मल्लको जन्डिसका कारण ०७१ सालमा मृत्यु भएको थियो। त्यो बेला सीताका जेठो छोरो रोहित ८ कक्षामा पढ्थे, कान्छो अंगल ३ मा। आयआर्जन केही थिएन। गर्नुपर्ने खर्च धेरै थियो।
श्रीमान्को कमाइमै निर्भर रहेको मल्ल परिवार ‘आज के खाने?’ भन्नेमै पिरोलिन्थे। पढाइको चिन्ता त त्यसमाथि छँदैथियो।
‘श्रीमानको मृत्युपछि सबैभन्दा बढी छोराहरूको पढाइलाई कसरी अगाडि बढाउने भन्ने थियो। सुरुमा त आत्तिएँ। पछि तर हिम्मत हारिनँ। केही गर्नुपर्छ भन्ने लाग्यो’, सीताले भनिन्।
धन्न सीताको हातमा सिलाइ-कटाइको सीप थियो। त्यही सीपले जसोतसो गुजारा चल्यो। तर छोराहरूको पढाइ त्यत्तिमै रोक्नुपर्ने अवस्था आयो। ‘तर वर्षको एकै पटक विद्यालयमा फि बुझाएर भए पनि छोराहरूलाई पढाएँ’, उनले भनिन्।
नगरपालिकाले दिएको तालिमले फेरियो जीवन
त्यही बेला तिलोत्तमा नगरपालिकाले एकल महिलाहरूका लागि विभिन्न तालिमको आयोजना गर्यो। चुरा, पोते, माला, डल कुसन, व्याग बनाउने तालिममा सीता पनि सहभागी बनिन्।
‘तालिम लिएपछि हिम्मत आयो। केही गर्न सकिन्छ जस्तो लाग्यो। अनि तालिममा सिकेका कुरालाई पेशा बनाएँ’, उनले भनिन्।
त्यसपछि सीताले घरमै व्याग, चुरा, पोते, माला, कुसनहरू बनाउन थालिन्। आफू सदस्य रहेको सामूहिक सहकारी शंकरनगरको साधारण सभामा बिक्री गर्न थालिन्। हातले बुनेको आर्कषक ती सामग्री सबैले मन पराउन थाले। यसले सीतालाई अझ हिम्मत जगायो।
तालिमपश्चात् सीताले ५ हजार खर्च गरी विभिन्न आवश्यक सामग्री किनेर जुत्ता बनाउन पनि थालिन्। यी सामान पनि यसैगरी साधारण सभा हुने स्थलमा बिक्री गर्थिन्। आम्दानी पनि राम्रै हुन्थ्यो।
यसपछि त सीतालाई तालिम लिन होइन, दिन प्रशिक्षकका रूपमा बोलाइन थालियो। अहिले सीता प्रशिक्षक भएकी छिन्।
५ वर्ष भयो सीता ‘ट्रेनर’ बनेकी। रुपन्देही जिल्ला मात्र होईन, पाल्पा, कपिलबस्तु, नवलपरासी, गुल्मीसम्म पुगेर उनले तालिम दिइरहेकी छिन्।
सीता अहिले तालिम दिएबापत दैनिक २ हजारदेखि २५ सय रुपैयाँसम्म लिने गर्छिन्। प्रशिक्षणबाट फर्केर पुनः ‘बुन्ने’ काममै हुन्छिन्।
अहिले सीतालाई आफूले उत्पादन गरेका सामान बिक्री गर्न पहिले जस्तो समस्या छैन्। ‘पहिले घर घरमा पनि लगेर बिक्री गरियो। अहिले अर्डर आउँछ। बिक्रीमा समस्या केही छैन्’, उनले भनिन्।
सीता अहिले हस्तकलाका सामान बनाउँछिन्। ५ हजारबाट सुरु भएको सीताको उद्यम यात्रामा हालसम्म ५ लाख लगानी भइसकेको छ।
सीताले यसबाटै वार्षिक ७ लाखसम्म नेट कमाइ गर्दै आएकी छिन्। दुवै छोराहरूलाई राम्रो स्कुलमा पढाएकी छिन्। जेठा छोरा त कलेज पढ्ने भइसके।
‘सीप सिकेपछि कसैसँग हात फैलाउन परेको छैन। सीप भएपछि दुःख नहुदो रहेछ’, सीताले भनिन्।
पुष ४, २०७८ आइतबार ०८:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।