सार्वजनिक यातायातमा महिला हिंसाको नांगो रुप
केही समयअघि, रातको समयमा वा कुनै पनि समयमा महिला दिदीबहिनीहरुले आफू असुरक्षित रहेको महसुस गर्नुभएमा र यातायातको समस्या भएमा मलाई दाइ-भाइ भनेर कल गर्नुहोला। म जुनसुकै बेला उपलब्ध हुनेछु भनेर आफ्नो नम्बर, यातायातको साधनको नम्बर सहित #safe_Nepal, #Nomercytorape, #savedaughters_savesociety भनिएका ह्यासट्याग सहितका पोस्टहरु टन्नै देखिएका थिए, सामाजिक सन्जाल प्रयोगकर्ता दाजुभाइहरुको वालमा। त्यस्तो पोस्टलाई प्रोत्साहन गर्न हामी दिदीबहिनी पनि पछि परेनौं। यो सुन्दर कुरा हो।
तर, यस्तो अपिल गर्नुपर्ने बाध्यता किन पर्यो त?
बेलुकीको समय विशेषत: सहरी क्षेत्रमा सार्वजनिक यातायात प्रयोगकर्तालाई समस्या हुन्छ। समयमा गाडी नपाउने समस्या त छँदैछ, गाडीभित्र अत्यधिक भीडका कारण उत्पन्न हुने समस्या पनि आफ्ना ठाउँमा छन्। त्यहि भीडकै कारण देखाउँदै महिलामाथि दुर्व्यवहार गर्नेहरु पनि सक्रिय छन्। यस्ता दुर्व्यवहार र यौनजन्य हिंसाको अनुभूति महिलाले आफ्नो परिचित साथीभाइहरुसँग तँछाडमछाड गर्दै बाँड्ने गर्छन्।
सार्वजनिक यातायातभित्र महिला यात्रुमाथि हुने यौनजन्य हिंसाको अवस्था विकराल छ। बस, माइक्रो, टेम्पो आदिमा आफूले भोगेका यौनजन्य हिंसाहरुको चर्चा केटीहरुले आफ्नो साथी-सर्कलमा सुनाउने गरेका छन्। कतै गफैगफमा अपरिचित महिलाहरुले पनि यस्तो त कति भोगिएको छ कति भनेर सुनाउने गर्छन्।
उनीहरुको भोगाइ कसैले घुरेर हेरेको असहजतादेखि यौनजन्य इशारासम्म छ। भीडको बहानामा आफ्नो शरीरमाथि नचाहिँदो पाराले ढल्किन आएको पुरुष शरीरदेखि आफ्नै शरीरका अंक समाउन, छुन आइपुगेका अपरिचित पुरुषका हातसम्म छ।
हात समाउने, ठेल्ने, कपाल तान्ने, कुहिनोले महिलाको सम्वेदनशील अंगमा हान्ने, अश्लिल हर्कत देखाउने, अश्लिल शब्द बोल्ने आदि सार्वजनिक यातायातमा महिलाले भोग्ने हिंसाका उदाहरण हुन्। सार्वजनिक यातायातभित्र महिला हिंसाको नांगो रुप यौनजन्य हिंसाको रुपमा नाँचिरहेको छ।
करिब ९५ प्रतिशत सार्वजनिक यातायात प्रयोगकर्ता महिलामा कम्तीमा एक पटक सार्वजनिक यातायातभित्र शारीरिक दुर्व्यवहारमा परेको अनुभव छ।
सन् २०१४ मा गीता न्यौपानेले गर्नुभएको अध्ययनअनुसार ९७ प्रतिशत महिलासँग सार्वजनिक यातायातमा यौनजन्य हिंसामा परेको अनुभव थियो। उसो त काठमाडौंको सडकमा सार्वजनिक यातायात प्रयोगकर्ता महिला भएकै कारण, मसँग पनि आफैंले भोगेका यस्ता हिंसाको अनुभूतिहरु दर्जन बढी छन्।
के महिलाले सार्वजनिक यातायातमा दुर्व्यवहार मात्र भोग्छन् त? हैन, महिलाले सार्वजनिक यातायातमा दुर्व्यवहार मात्र भोग्दैनन्, यस्ता दुर्व्यवहार हुँदा उम्कने अनेक उपाय पनि अपनाउने गर्छन्। आफूलाई असहज महसुस भएपछि, असहज महसुस गराउने मान्छेलाई त्यस्तो नगर्न भन्ने, ठेलिदिने, गाली गर्ने, चड्कन लाउने, सेफ्टिपिन वा खिपले घोचिदिने, खुट्टा कुल्चिदिने, आफू त्यो ठाउँबाट अलिक पर सर्ने वा गाडीबाट झर्ने काम महिलाले गर्ने गरेको बताउँछन्।
पहिलो पटक दुर्व्यवहारमा पर्दा आफू चुप बसेको कुरा महिलाहरु सुनाउँछन्। यसको संख्या करिब ९० प्रतिशत छ। यस्तो किन भयो त? विशेष कारण त, पहिलो पटक आफू पब्लिक गाडीभित्र दुर्व्यवहारमा पर्दा किशोरावस्थामा रहेको, दुर्व्यवहारबारे खासै ज्ञान नभएको, डर लागेको, के गर्ने नै थाहा नभएको, अरुले के सोच्लान् भन्ने सोचेर चुप लागेको आदि सुनाउँछन्।
आफू सार्वजनिक यातायातमा दुर्व्यवहारको सिकार हुँदा पनि अरुले के सोच्लान् भनेर चुप लाग्नुपर्ने स्थितिको सिर्जना कसरी भयो होला?, तपाईं हामीले गर्दा। मैले असहज महसुस गरेँ, अलिक पर सरेर बस्नूस्, यसरी नटाँस्सिनूस् न, मेरो हात नसमाउनूस् आदि कुनै महिलाले भन्दा पब्लिक गाडीमा यस्तै त हुन्छ नि, सजिलोसँग हिँड्न त आफ्नै कारमा हिँड्नुपर्छ भनेको सुन्छौं र हामी हाँस्ने गर्छौं। असहजता हाँसोको विषय बनिदिन्छ र त्यहीँबाट सुरु दुर्व्यवहारको शृंखला।
सँगै यात्रा गर्नेहरुले यस्तो कुरालाई हाँसोमा नउडाउने, मौन सहमति नदिने हो भने न कुनै पुरुषले सार्वजनिक यातायातमा यौन दुर्व्यवहार गर्ने दुस्साहस गर्छ, न कुनै महिलाले चुपचाप दुर्व्यवहार सहने साहस गर्छिन्। रोगी पुरुष मानसिकतासँग लड्न हामी सबैको साथ सहयोगको जरुरत हुन्छ।
सार्वजनिक यातायातलाई महिलामाथि हुने दुर्व्यवहारको केन्द्र कसले बनायो होला? बस सञ्चालकले, जो धेरै कमाउन मान्छेलाई खाँदीखाँदी राख्छन् र हामी बाध्य पारिएका छौं यस्तै असहज यात्रा गर्न। बढीभन्दा बढी मान्छे कोच्ने यातायात सञ्चालकको प्रवृत्तिले, सार्वजनिक यातायातमा महिलामाथि दुर्व्यवहार हुने जोखिम बढाउँछ। पितृसत्ताले- जसले महिलालाई सौन्दर्य र भोगको साधन बनाउँछ।
सार्वजनिक यातायातमा महिलामाथि दुर्व्यवहार हुन्छ जुन दुर्व्यवहारलाई ध्यानमा राख्दै सन् २०१७ अगस्टदेखि ३ महिनासम्म नेपाल प्रहरीले safety-pin campaign सञ्चालन गरेको थियो। सार्वजनिक यातायातमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य दुर्व्यवहार, यौनजन्य आसयले महिला तथा बालबालिकाको अंगमा छुने वा छुने प्रयास गर्ने, अश्लिल तथा यौनजन्य आसय प्रदर्शन गर्ने, यौनजन्य आसयले जिस्क्याउने लगायतका कार्यहरू कानुनद्वारा बर्जित अपराध हुन्।
तर, कतिपयलाई सो सम्बन्धमा कानुनी ज्ञान नहुनु र कतिपय पीडितले डर, सामाजिक प्रतिष्ठा, लाज वा असहजताको महसुस गरी कानुनी प्रक्रियामा आउन नचाहेको कारण प्रहरीले आफ्नै सक्रियतामा त्यस्ता गतिविधि गर्नेलाई कानुनी कारबाही गरी सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुर्व्यवहारको न्यूनीकरण गरि व्यवस्थित, सुरक्षित र मर्यादित साथै महिला तथा बालबालिका मैत्री सार्वजनिक यातायातको वातावरण निर्माण गर्न प्रहरीले थालेको अभियान नै safety-pin campaign थियो। नेपाल प्रहरीको यो कदम सार्वजनिक यातायातमा महिलामाथि हुने दुर्व्यवहार विरुद्धको स्वागतयोग्य काम भएता पनि यसको निरन्तरता हुन नसक्नु आफैंमा दुखद कुरा हो।
अन्त्यमा, नेपालको सार्वजनिक यातायात महिलामैत्री छैन। यसलाई दुर्व्यवहार मुक्त र महिलामैत्री बनाउन के गर्न सकिन्छ त? दुई वा चार वटा महिला सिट छुट्याउँदैमा के सार्वजनिक यातायातमा महिलाहरु सहज र सुरक्षित रुपले यात्रा गर्न सक्छन्? अवश्य सक्दैनन्।
सार्वजनिक यातायातलाई महिलामैत्री बनाउन तपाईं-हामीले अर्थात् हामी सार्वजनिक यातायात प्रयोगकर्ताले विशेष भूमिका खेल्न सक्छौं। महिलामाथि दुर्व्यवहार नगर्ने र भएको देखे त्यसविरुद्ध आवाज उठाउन सक्छौं। आवाज उठाउन प्रोत्साहन गर्न सक्छौं। आफूमाथि दुर्व्यवहार भयो भनेर आवाज उठाएकी महिलामाथि सँगै यात्रा गरिरहेकाहरुले प्रश्नवाचक वा असहज दृष्टि नफाल्दिए पनि महिलाहरु दुर्व्यवहार हुँदा चुपचाप सहने परिस्थितिको अन्त्य हुनसक्छ।
सार्वजनिक यातायातलाई भीडभाडमुक्त बनाउन सके यो समस्याबाट धेरै हदसम्म पार पाउन सकिन्छ। सिटभरि मात्र मान्छे राख्ने र टिकट काटेर मात्रै यात्रा गर्न पाउने बनाइयो भने यो समस्याको धेरै हदसम्म समाधान हुन्छ। safety-pin campaign जस्तै विभिन्न campaign चलाएर महिला तथा बालबालिकामाथि हुने दुर्व्यवहारको जानकारी प्रवाह गर्न सकिन्छ। दुर्व्यवहार गर्नेलाई कारबाहीको दायरामा ल्याएर पनि सार्वजनिक यातायातलाई महिला बालबालिका मैत्री बनाउन सकिन्छ। सार्वजनिक यातायातमा सिसिटिभी राखेर पनि यो समस्यामा कमी ल्याउन सकिन्छ।
महिलामाथि हुने दुर्व्यवहारलाई ध्यानमा राख्दै जापान, युएई, इरान, टर्की, ब्राजिल, मेक्सिको लगायतका देशमा women's only/ladies special बस, मेट्रो आदि सञ्चालनमा छन्। काठमाडौंमा पनि सन् २०१५ मा यस्तो बस सेवा सञ्चालनको लागि ३ महिना ट्रायल भएको थियो, जुन पछि सञ्चालन हुन सकेन। यो पनि केही समयका लागि वैकल्पिक उपाय हुनसक्छ। सार्वजनिक यातायातलाई महिलामैत्री बनाऔं।
मंसिर २९, २०७८ बुधबार १४:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।