बन्द शत्रमा सूची पढ्नु अगाडि ओली-रावल छलफलको तयारी

बन्द शत्रमा सूची पढ्नु अगाडि ओली-रावल छलफलको तयारी

चितवन : केपी ‌ओली समूहले सर्वसम्मत भन्दै केन्द्रीय समितिमा रहेकाहरूको नाम पढ्ने सूची बनाएको छ। सङ्गठन विभाग प्रमुख विष्णु पौडेल, नेताहरू शङ्कर पोखरेल, पृथ्वी सुब्बा गुरुङ र प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यहरूको नामावली बनाएर पार्टी अध्यक्ष ओलीलाई बुझाएका छन्।

विष्णु पौडेलले होटल सफारीको सोधपुछ कक्षमा आएर आफैँले सूची प्रिन्ट गरेर गएका थिए।

ओली बन्द शत्र स्थलमा नगएर होटलमै बसेर एमाले केन्द्रीय समितिको सूची बनाइरहेका छन्। उनलाई कोर टिमका सदस्यले सघाइरहेका छन्। पदाधिकारीबारे भने ओली आफैँले निर्णय गर्दै छन्।

वरिष्ठ उपाध्यक्षमा सबैभन्दा सकस देखिएको छ। ओलीले ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउन चाहेका छन्। तर संसदीय दलका उप प्रमुख सुवास नेम्वाङ मानेका छैनन्।

केही समय ईश्वर ओली बसेको होटेलबाट बाहिरिएका थिए। केही समय अगाडि उनी होटल फर्किएका छन्। उनको श्रीमती पनि होटल फर्किइन्।

रावललाई वरिष्ठ उपाध्यक्ष दिएर सर्वसम्मतको वातावरण बनाउन ओली समूहकै एक पक्षले सुझाव दिएको केही नेताले दाबी गरिरहेका छन् भने केपी पक्षका एक नेताले रावल आफैँ अध्यक्षसँग भेट्ने राजी रहेको तर ओली भेट्ने पक्षमा नरहेको दाबी गरे।

ओली पक्षकै नेताबाट आउने दाबी एकरूपको भने छैन। ओली समूहका अर्का नेताले केन्द्रीय सदस्यको सूची फाइनल गर्ने समूहले नै वरिष्ठमा रावल आए नेम्वाङले पनि मान्न सक्ने सुझाव दिएको र ओली बन्द शत्रमा सूची पढ्नु अगाडि रावलसँग कुरा गर्ने पक्षमा रहेको दाबी गरे।

'केन्द्रीय समितिको लफडा आजै सक्काउने तयारी छ। यसमा रावल र घनश्याम कमरेडलाई पनि समेट्ने तयारी छ। समेटिनुहुन्छ होला,' ओली निकट एक नेताले भने।

मंसिर १२, २०७८ आइतबार १७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।