निर्वाचन अवरुद्ध बनाएर ओली कोर टिमसँग होटलको कोठामा, नाम पढ्न सूची बन्दै

निर्वाचन अवरुद्ध बनाएर ओली कोर टिमसँग होटलको कोठामा, नाम पढ्न सूची बन्दै

चितवन : एमालेको महाधिवेशन कार्य तालिका अनुसार अहिले मतदान भइरहनुपर्ने हो। तर मतदानको सामान्य प्रक्रिया समेत सुरु हुन सकेको छैन।

निर्वाचन समितिले मतदानका लागि बुथ बनाएर डिजिटल भोटिङ मेसिन समेत तयारी अवस्थामा राखेको छ। तर शनिवारको बन्द शत्रले दिएको अधिकार अनुसार सबै पदाधिकारी सर्वसम्मत गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली होटल पार्क सफारिबाट बाहिर आएकै छैनन्।

अध्यक्षका प्रत्याशी भीम रावल बन्द शत्र स्थलमा केही समय बसेर फर्किइसकेका छन्। बन्द शत्र र निर्वाचन प्रक्रिया सुरु हुने सङ्केत नदेखिएपछि उनी फर्किएर आफू निकट नेताहरूसँग छलफल गरिरहेका छन्।

अध्यक्ष ओली भने कोर टिमका सदस्यसहित होटल पार्कमा बसेर सूची बनाइरहेका छन्। उनीसँगै वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेका ईश्वर पोखरेल, महासचिवका दाबेदार शङ्कर पोखरेल र विष्णु पौडेल, उप महासचिवका दाबेदार प्रदीप ज्ञवाली र सचिवका दाबेदार विष्णु रिमाल छन्।

उनीहरूले कसलाई कुन पद दिने भनेर सूची बनाइरहेको जानकार स्रोतले बतायो। सूचीलाई अन्तिम रूप दिने काम भइरहेको र सो काम सकिएपछि ओलीले रावलसँग समेत छलफल गर्ने ती नेताले बताए।

ओली समूह केन्द्रीय समितिको सबै पदमा सर्वसम्मत गराउने गरी सुची बनाएर बन्द शत्रमा लगेर पढ्ने र कुनै पदमा कसैले असहमति जनाए त्यही ध्वनि मतको आधारमा काम फत्ते गर्ने रणनीतिमा लागेको छ। उता रावल भने निर्वाचन प्रक्रिया सुरु नगरी एकतर्फी रूपमा घोषणा गरिए अदालत जाने चेतावनी दिँदै आएका छन्।

ओली समूहकै सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद कायम रहे आफू हुनुपर्ने वा खारेज हुनुपर्ने माग राख्दै आएका छन्।

मंसिर १२, २०७८ आइतबार १६:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।