एमाले महाधिवेशन: नेताहरू आन्तरिक छलफलमै, सुरु हुन सकेन आजको बन्दसत्र
चितवनः नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज हुने भनिएको बन्दसत्र सुरु हुन सकेको छैन। नेताहरू आआफ्नै समूहमा आन्तरिक छलफलमा व्यस्त हुँदा बन्दसत्र सुरु हुन नसकेको हो।
आज १० बजे सुरु हुने भनिएको बन्दसत्र पछि १२ बजेका लागि सारिएको थियो। तर हालसम्म बन्दसत्र सुरु हुन सकेको छैन।
बिहान भीम रावलले आफूनिकट नेताहरूसँग भावी रणनीतिका विषयमा छलफल गरेका थिए। अध्यक्ष केपी शर्मा ओलीलाई नै केन्द्रीय कमिटी र पदाधिकारी छनोट गर्न दिइने निर्णयप्रति आपत्ति जनाउँदै उनले आफूनिकट नेताहरूसँग छलफल गरेका थिए।
यस्तै आजै बिहान पूर्वमाओवादीका नेताहरू र अध्यक्ष ओलीबीच पनि छलफल भएको थियो। एमालेको उपाध्यक्षमा रामबहादुर थापा (बादल), उपमहासचिवमा टोपबहादुर रायमाझी र सचिवमा लेखराज भट्टको दावीसहित उनीहरू ओलीसँग छलफलमा थिए। छलफलका क्रममा ओली उनीहरूको मागप्रति सकारात्मक रहेको बताइएको छ।
मंसिर १२, २०७८ आइतबार १४:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।