चुनावमा टिकट दिने लोभमा आकांक्षी फकाउँदै ओली, रावल उम्मेदवारी नछोड्ने पक्षमा

चुनावमा टिकट दिने लोभमा आकांक्षी फकाउँदै ओली, रावल उम्मेदवारी नछोड्ने पक्षमा

चितवनः शनिबारको बन्दसत्रमा पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएपछि उपाध्यक्ष भीम रावलले विरोध गरे। उनले उक्त निर्णय आफूलाई मान्य नुहने र उम्मेद्वारी घोषणा फिर्ता नहुने पनि बताए।

'मैले अध्यक्षमा उमेदवारी घोषणा गरिसकेको छु। यो मान्य हुन सक्दैन। म उम्मेदवारी दिन्छु। अरू कमरेडहरूले पनि दिनुहुन्छ। यो अधिकार कुनै हालतमा कुण्ठित गर्न मिल्दैन', बैठकमा रावलले भने।

उम्मेदवारी दिन रोक्नु एमालेको विधानविपरीत हुने रावलको भनाइ थियो। 'एमालेको विधानमै निर्वाचित हुने भनेर लेखिएको छ। त्यसो भए विधानमै लेखौँ फलानोले प्रस्ताव राखेपछि सर्वसम्मत हुने भनेर। यो लोकतान्त्रिक अभ्यास होइन', रावलले टिप्पणी गरे।

यता वरिष्ठ उपाध्यक्षका आकांक्षी ईश्वर पोखरेलले भने विधान प्रस्तावको औपचारिक प्रस्ताव टेबल भएको बताउँदै त्यो सर्वसम्मतले पारित भएको बताए। 'भीम रावलजी उम्मेदवार हुनुभयो, उहाँको पक्षमा कति हुनुहुन्छ हात उठाउनु होस् भन्ने अनि केपी ओलीको पक्षमा कति हुनुहुन्छ भन्ने। अनि टुंग्याउने हो', पोखरेलले भने।

एमाले कार्यालय सचिव तथा पार्टी सचिवका आकांक्षी शेरबहादुर तामाङले सर्वसम्मत विधि पनि निर्वाचन भएको बताउँदै कुनै पनि पदमा चुनाव नहुने बताए। 'सर्वसम्मत विधि पनि निर्वाचन हो। हामी १० मिनेटमा सबै सक्छौँ', उनले भने।

यता उम्मेदवारी फिर्ता लिन दबाव आएपछि रावल आफूनिकट नेताहरूसँग छलफलमा छन्।

'उहाँले कुनै हालतमा उम्मेदवारी छोड्नुहुन्न। अहिले बैठकबाट के कुरा आउँछ हेरौं। सहमतिको बारेमा सिधै बन्दसत्रमा कुरा उठाएर हुँदैन। पार्टीमा कुरै भएको छैन', रावलनिकट एक नेताले उकेरासँग भने।

बन्दसत्र ढिला गरेर सहमतिको प्रयासमा ओली छन्। केन्द्रीय सदस्य र पदाधिकारीमा आफ्नो तजबिजी गर्ने अधिकार पाएका ओली सूचीको जोडघटाउमा लागेका छन्।

यस्तै आफ्नो समूहमा छलफल गरेपछि उपाध्यक्ष, उपमहासचिव र सचिवमा दावी गर्ने निर्णयपछि माओवादी नेताहरू पार्टी अध्यक्ष ओलीलाई भेट्न गएका छन्। 'हाम्रो प्रतिनिधित्व गर्दै टोपबहादुर जी जानुभएको छ', सो समूहका एक नेताले उकेरालाई जानकारी दिए।

सो समूहबाट उपाध्यक्षमा रामबहादुर थापा (बादल), उपमहासचिवमा टोपबहादुर रायमाझी र सचिवमा लेखराज भट्टको नाम प्रस्ताव गरिएको छ।

यहीबीच अध्यक्ष ओलीले भीम रावललाई भेट्ने चाहना व्यक्त गरेको ओली समूहका एक नेताले भने। 'रावल जीहरूको बैठकपछि भेट भए सहज हुन्थ्यो। हेरौं के हुन्छ', उनले भने।

यस्तै एमाले नेता सुरेन्द्र पाण्डेले सबै पदमा सहमति हुने बताएका छन्। 'आज १० बजे सुरु हुने बन्दसत्र १२ बजेतिर सुरु होला। सबै मिल्छ', पाण्डेले उकेरासँग भने।

पार्टीमा एकलौटी गर्ने अधिकार पाएका ओलीलाई हाल नेता व्यवस्थापन पेचिलो बनेको छ। हिजोको बन्दसत्रमा ओलीले पदाधिकारीका आकांक्षीहरूलाई टिकटको लोभ देखाएर पन्छाउन खोजेका थिए। 'फेरि पनि पालो आउँछ। पालिका, प्रदेश, राष्ट्रिय सभा आउँदैछन्। विभिन्न ठाउँहरू छँदैछन। अहिले नआए अर्कोपालि आउँछ। हतार नगरौँ', ओलीले भनेका थिए।

मंसिर १२, २०७८ आइतबार ११:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।