मतदाता कुर्दै एमाले मतदान केन्द्र
बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षमा सर्वसम्मत हुन प्रस्ताव गरे पनि उपाध्यक्ष भीम रावलले मानेनन्।
रावलले सर्वसम्मत नेतृत्व चयन गर्ने अधिकार अध्यक्ष ओलीलाई दिने प्रस्ताव अस्वीकार गरेपछि ओलीले चुनाव हुन नसक्ने भन्ने नरहेको जवाफ दिएका छन्। रावलले अध्यक्षमा उम्मेदवारी दिने र चुनाव हुनै पर्ने अडान राखेका छन्।
चुनाव गराउने जिम्मा पाएका एमाले सांसद विजय सुब्बाले शनिवारनै उम्मेदवारको मनोनयन दर्ता हुने जानकारी दिएका थिए।
तर, अध्यक्ष ओलीले दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा चुनिन सहमतिको प्रयास जारी राखेकाले निर्वाचन कमिटीका अध्यक्ष रहेका सुब्बाले निर्वाचन प्रक्रिया सुरु गराउन सकेका छैनन्।
एमाले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिनबाट मतदान गराउन नमुना मतदान गराइरहेको एमालेको निर्वाचन कमिटीले वास्तविक मतदान हुने तालिका समेत बनाउन सकेको छैन।
एमाले महाधिवेशनमा पर्यवेक्षक सहित २ हजार ३ सय ४ जना प्रतिनिधि सहभागी रहेको सुब्बाले जानकारी दिए।
९२ वटा भोटिङ मेशिनबाट मतदान हुने निर्वाचन कमिटीले जनाएको छ। तर, बन्द सत्रले सर्वसम्मत नेतृत्व चयन गर्ने निर्णय गरेर अधिकार ओलीलाई दिएपछि मतदान हुने नहुने निश्चित भएको छैन।
भोटिङ मेसिनबाट मतदान सम्पन्न गर्न कम्तीमा १० घण्टा लाग्ने निर्वाचन कमिटीका अध्यक्ष सुब्बाले बताएका छन्।
मंसिर ११, २०७८ शनिबार २१:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।