एमाले महाधिवेशन : ओलीले सहमति जुटाउन चलाएको गुट भेला सकिए, सुरु भयो बन्द सत्र

चितवन : नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन बिहान १० बजेदेखि बन्द सत्र सुरु हुने भनिए पनि बन्द सत्र बल्ल दिउँसो ३ बजेपछि सुरु भएको छ।
केपी शर्मा ओलीले आफ्नो नाममा सहमति जुटाउन गुट गुटमा छलफल चलाएपछि बन्द सत्र सुरु हुन सकेको थिएन।
सहमतिको प्रयास भइरहेकाले तोकिएको समयमा बन्द सत्र सुरु हुन नसकेको एमालेको निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले जानकारी दिए। उनले आजै मतदाता नामावली र उम्मेदवारको मनोनयन दर्ता हुने जानकारी दिए।
‘आजै उम्मेदवारको मनोनयन हुन्छ,भोलि चुनाव हुन्छ,’उनले उकेरासँग भने,‘९२ वटा विद्युतीय मेसिनबाट मतदान हुन्छ।’ उनले १० घण्टाभित्र मतदान सकाउने तयारी गरेको सुब्बाले बताए।
सुब्बाका अनुसार सौराहाको सेभेन स्टार होटेलमा २ हजार ३०४ जना प्रतिनिधि सहभागी छन्। पर्यवेक्षक, केन्द्रीय सल्लाहकार १५ जना बाहेक प्रतिनिधिको नाम मतदाता नामावलीमा प्रकाशन हुने सुब्बाले बताए।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पदाधिकारी सङ्ख्या बढाउन विधान संशोधन गर्ने केन्द्रीय कमिटीको निर्णय लगायतका प्रस्ताव अनुमोदन गरेर निर्वाचन प्रक्रिया सुरु हुने जानकारी दिए।
मंसिर ११, २०७८ शनिबार १५:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।