प्रधानमन्त्री देउवाले सम्बोधन गर्दा महाधिवेशनमा सहभागीको अभद्र व्यवहार
देउवा महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन शुक्रवार चितवन पुगेका थिए। नेपालको लोकतान्त्रिक आन्दोलनमा सबै दलको महत्त्व रहेको भन्दै संविधान सभाबाट ल्याएको संविधानलाई पूर्ण रूपमा कार्यान्वयनमा लैजाने जिम्मेवारी पनि नेपालका राजनीतिक दलहरूको भएको बताएका थिए।
लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न लोकतन्त्रप्रति प्रतिबद्ध दलहरूको जिम्मेवारी भएको उनले बताएका थिए। उनले लोकतन्त्र भएकाले नै अलग अलग दलमा आबद्ध रहेको तर लोकतान्त्रिक मूल्य मान्यता र कानुनी शासन, राष्ट्रिय स्वाधीनतामा सबै एकै ठाउँमा रहेको बताए।
प्रधानमन्त्री देउवाले सम्बोधन गरिरहँदा उद्घाटन सत्रमा सहभागीहरूले हल्ला गरेका थिए। देउवा माइक अगाडि उभिएर शुभकामना दिइरहँदा कार्यक्रममा सहभागीहरूले नेकपा एमाले जिन्दाबाद भन्दै चर्का नाराबाजी गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नै सहभागीहरूलाई शान्त रहन आग्रह गर्नु परेको थियो।
शुभकामना दिन आएका अन्य नेताहरूले सम्बोधन गर्दा भने सहभागीहरू शान्त बसेका थिए।
मंसिर १०, २०७८ शुक्रबार १४:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।