वीर अस्पताल अगाडि नै जाम : एम्बुलेन्स समेत छिर्न नदिने गरी महानगरको अनुमतिमा पार्किङ

वीर अस्पताल अगाडि नै जाम : एम्बुलेन्स समेत छिर्न नदिने गरी महानगरको अनुमतिमा पार्किङ

 केही समयमा सडकमै बिरामी ओरालेर आफन्तले आकस्मिक कक्षतिर लगे। बिरामी बोकेर आएका ट्याक्सीहरूको अवस्था पनि उस्तै थियो। काठमाडौँको सडकको अवस्थाको त के कुरा गर्नु। सडक छिचोल्न एम्बुलेन्सलाई सकसै हुन्छ। अस्पतालै अगाडि पनि एम्बुलेन्स र बिरामी अस्पताल जान सकस पर्नुको कारण हो अव्यवस्थित पार्किङ।

अस्पताल अगाडिको सार्वजनिक सडकमा सशुल्क राखिएको पार्किङले अस्पताल जाने आउनेले सधैँ दुख पाउने गरेका छन्। वीर अस्पतालको नयाँ (सर्किजल भवन) र पुरानो भवनको बिच सडकमा मोटरसाइकल पार्किङले खुट्टा हाल्ने ठाउँसम्म छाडेको छैन।

पुरै बाटो ढाक्ने गरी मोटरसाइकल पार्किङ गराउँदै हरियो ज्याकेट लगाएका केही व्यक्तिहरू पार्किङ शुल्क उठाइरहेका हुन्छन् सधैँ। अस्पताल अगाडि पार्किङ गराएर शुल्क उठाउने कम्पनी रहेछ,–ह्वील्स ट्रयूली योर्स कम्पनी।

अस्पतालको अनुरोधमा महानगरको अटेरी

अस्पतालको बिच सडकमा भएको पार्किङबारे कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का निमित्त प्रमुख कार्यकारी अधिकारी डा. भूपेन्द्र बस्नेतसँग जिज्ञासा राख्दा उनले पार्किङ हटाउने विषयमा पहल गरे पनि पार्किङ नहटेको भन्दै लाचारी देखाए।

उनले उकेराकर्मीलाई पार्किङ हटाइदिन काठमाडौँ महानगरपालिकालाई लेखेको पत्रै देखाए। तर महानगरपालिकाले पार्किङ हटाउन कुनै चासो राखेको छैन।

पत्रमा उल्लेख भए अनुसार साउन २४ गते वीरले महानगरपालिकालाई पार्किङ हटाइदिन अनुरोध गरेको थियो।

डा. बस्नेतले महानगरपालिकालाई लेखेको पत्रमा 'पार्किङका कारणले बिरामीको आवतजावत र उपचारमा कठिनाइ भएकाले उक्त स्थानमा सवारी पार्किङ हटाई बिरामीहरू तथा कर्मचारीहरूलाई आवतजावत गर्न सहजता बनाउन आवश्यक समन्वय गरिदिनुहुन अनुरोध' गरिएको छ।

अस्पतालले महानगरलाई लेखेको पत्रमा महानगरीय ट्राफिक प्रहरी कार्यालय बग्गिखानालाई समेत बोधार्थ लेख्दै पार्किङको व्यवस्थापनका लागि सहयोग गरिदिन अनुरोध गरेको देखिन्छ।

डा. बस्नेतले पार्किङ हटाउनका लागि महानगरपालिका, ट्राफिक प्रहरी र अन्य निकायमा समेत पत्राचार गरे पनि पार्किङ नहटेको बताए।

उनले अस्पतालको बिच सडकमा भएको पार्किङका कारण बिरामी तथा अस्पतालका कर्मचारीलाई आवतजावत गर्न समेत कठिन भएकोले तुरुन्तै पार्किङ हट्नुपर्ने बताए।

‘बिरामीलगायत हाम्रा कर्मचारीको ज्यानै जोखिममा हुने भएकाले यो पार्किङ तुरुन्तै हट्नुपर्छ,’उनले भने,‘पार्किङ हटाउनका लागि हामीले सम्बन्धित निकायलाई पत्राचार पनि गरेका छौँ। यसको सुनुवाइ होस्।’

सवारती पार्किङका कारण अस्पतालको वरिपरि धेरै होहल्ला हुँदा बिरामीको उपचारमा नै समस्या हुने गरेको उनले सुनाए।

डा. बस्नेतले महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)सँग कुरा गर्दा पार्किङ हटाउन कोसिस गर्छु भन्ने जवाफ पाएको सुनाए। त्यसै गरी सांसद भीमसेनदास प्रधानसँग छलफल गर्दा उनले पार्किङ हटाउन पहल गर्ने बचन दिएको डा. बस्नेतले सुनाए।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग अस्पताल क्षेत्रमा पार्किङको विषयमा जिज्ञासा राख्दा महाधिवेशन(एमालेको)मा भएकाले प्रवक्तासँग कुरा गर्न भन्दै पन्छिए।

उनले भने,‘महाधिवेशनमा छु। प्रवक्तासँग लिए हुन्छ नि।’ उपमेयर खड्गीले पनि वीर अस्पतालमा भएको पार्किङको समस्याबारे थाहा पाएको तर अधिवेशनमा व्यस्त भएको भन्दै आफ्नो सचिवालयमा कुरा गर्न अनुरोध गर्दै पन्छिन्।

महानगरीय ट्राफिक प्रहरी कार्यालयले भने सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरी मात्रै खटाइदिन सक्ने बचन दिए पनि पार्किङ हटाउन भने महानगरपालिकासँगै समन्वय गर्न अनुरोध गरेको डा. बस्नेतले सुनाए।

महानगरको अनुमतीमा पार्किङ गरेको कम्पनीको दाबी

महानगरपालिकाले अस्पतालको बिचमा पार्किङ गरेवापतको शुल्क लिन नपाइने तर्क गरेको छ। अस्पतालको दुई भवनको बिच सडकमा पार्किङ गर्न पाइन्छ? भन्ने प्रश्नमा महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले अस्पतालको बिच सडकमा पार्किङ शुल्क लिएर पार्किङ गर्न अनुमति नदिएको तर्क गरे।

उनले भने,‘हामीले महाबौद्धसम्म केही व्यवस्था गरेको छ। वीर अस्पतालसम्म त हैन।’

वीर अस्पतालको बिच सडकमा पार्किङ गर्न पाइन्छ  त? भन्ने अर्को प्रश्नमा प्रवक्ता डङ्गोलले जवाफ दिए,‘वीर अस्पतालको अगाडि पाइँदैन। त्यो अगाडि त कहाँ पाइन्छ।’

वीर अस्पताल अगाडि भइरहेको पार्किङको विषयलाई उनले केही जानकारी नभएझैँ गरे।

प्रवक्ता डङ्गोलले महाबौद्ध आसपासमा शुल्क लिएर पार्किङ गर्न पाइने भए पनि अस्पताल क्षेत्रलाई अप्ठेरो पार्ने गरी पार्किङ गराएर पार्किङ शुल्क उठाउनका लागि अनुमति नदिएको र नपाइने तर्क गरिरहे।

उनले भने,‘महाबौद्ध आसपासमा पार्किङ गर्न पाइयो। तर, वीर अस्पताललाई अप्ठेरो पार्ने गरी पार्किङ गर्न पाएन।’

पार्किङ शुल्क लिएर पार्किङ गराइरहेको देखियो नि? भन्ने जिज्ञासामा प्रवक्ता डङ्गोलले अनुगमन गर्ने भन्दै पन्छिए।

तर, अस्पतालको बिच सडकमा पार्किङ बापतको शुल्क लिँदै आएको ‘ह्वील्स ट्रयुली योर्स कम्पनी’का प्रबन्ध निर्देशक शैलेशराज कुँवरले भने महानगरपालिकासँग सम्झौता भए अनुसार नै वीर अस्पताल र सर्किजल भवनको बिचको सडकमा पार्किङ बापतको शुल्क लिइएको दाबी गरे।

सर्किजल भवन अगाडि औषधि पसल भएको क्षेत्रमा महानगरपालिकासँगको सम्झौता अनुसार नै पार्किङ शुल्क लिएको उनको दाबी छ।

बरु प्रबन्ध निर्देशक कुँवरले महानगरपालिकाका प्रवक्तालाई थाहा नभएर वीर अस्पताल क्षेत्रको सडकमा पार्किङको अनुमतिको सवालमा दुबिधा(कन्फ्युजन) भएको हुनसक्ने तर्क गरे। प्रबन्ध निर्देशक कुँवरले भने,‘औषधि पसल साइड (सर्जक भवनतर्फ)तिर पर्छ। प्रवक्ता सर कन्फ्युजन भयो की।’

उनले आफूले कुनै बदमासी नगरेको समेत दाबी गरे। कुँवरले भने,‘आफूले बदमासी गरेको छैन।’ उनले खोप लगायतका कारण वीर अस्पतालको बिचमा पार्किङको व्यवस्थापन गर्न समेत चुनौती भएको तर्क गरे।

कुँवरले कुराकानीको सुरुवातमा त ‘उल्टापुल्टा लेख्न लाग्नुभएको होला के–के लेख्न मन लाग्छ लेख्नुहोस्’भन्ने तर्क समेत गरे।

कम्पनीले अस्पतालबिचको सडकमा पार्किङ बापत मोटरसाइकलको एक घण्टाको २५ र गाडिको ८० रुपैयाँ लिँदै आएको छ। महानगरले कम्पनीलाई दिइएको पार्किङको विषय समेत विवादित छ।

महानगरपालिकाका नगर प्रहरी बलका प्रमुख धनपति सापकोटाले भने आफूलाई वीर अस्पताल बिचको सडकमा दुई लाइन पार्किङका लागि अनुमति दिएको जानकारी भएको बताए।

दुई लाइन पार्किङ बाहेकका मोटरसाइकल (साधन) भने महानगरपालिकाले दैनिक उठाउने गरेको उनले बताए।

‘दुई लाइन भन्दा बाहिरको उठाउने मेरो पार्टमा पर्छ,’ सापकोटाले भने,‘दुई लाइन दिएको भन्ने मैले बुझेको छु। दुई लाइन सम्मको पार्किङ मैले छुन मिलेन।’

सानो क्षेत्रफलमा भएको वीर अस्पताल पुग्नेहरूका लागि अस्पतालमा समेत पार्किङको भरपर्दो व्यवस्थापन छैन। तर, डा. बस्नेतले भने अस्पताल पुग्ने कालागि सर्किजल भवनको अण्डरग्राउण्डमा पार्किङ गर्न दिइएको बताए।

उनले मोटरसाइकल भए दुई सय र गाडी भए सय वटा अटाउने पार्किङ रहेको बताए। डा. बस्नेतले भने,‘सय वटा गाडी अट्छन्। मोटरसाइकल हो भने दुई सय वटा अट्छन्।’  

मंसिर ९, २०७८ बिहीबार २१:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।