गम्भीर घटना तर अनुसन्धानको जिम्मा ‘अनुभवहीन’ प्रहरीलाई
त्यतिबेला छोरीमैयाँ भारतमा लुकेर बसेको हुनसक्ने हल्ला फैलिएका थिए। त्यसैले यो जरुरी थियो।
प्रहरीले यो कोणबाट पनि सोधपुछ र अनुसन्धान गरेको थियो। यस क्रममा छोरीमैयाँको भारतमा दुई कनेक्सन भेटिएका पनि थिए।
एक, छोरीमैयाँ लक्ष्मी चौधरीकी छोरीको विहेको सिलसिलामा २०५२ सालमा र २०५५ सालमा दुई चोटी भारत पुगेकी थिइन्। केही दिन उतै बसेर फर्केकी थिइन्।
दोस्रो, छोरीमैयाँ हराउनुभन्दा डेढ महिनाअघि उनको मोबाइलबाट भारतीय नम्बरहरुमा धेरै दिनसम्म कल भएका थिए। त्यो भारतमा घुम्न गएकी छोरीज्वाइँलाई गरिएको कल भएको दावी गरियो।
तेस्रो कनेक्सन अलि अनौठो थियो। छोरीमैयाँ हराएको ६ महिनापछि अर्थात् सन् २०१२ अगस्त २० तारिखका दिन कान्छी छोरी सुधाको मोबाइलमा भारतीय नम्बरबाट मिस्डकल आएको थियो।
सिआइबीले यो नम्बरको विषयमा अनुसन्धान गरे पनि निश्कर्ष निकाल्न सकेको छैन। अनुसन्धानको क्रममा प्रहरीले यो ८७३५***८४९ नम्बरको कल डिटेलसमेत भारतबाट मगाएको थियो।
प्रहरीले मिस्डकल गर्नेसँग त सोधपूछ गर्न सकेन तर कल डिटेल अनुसार यो नम्बरबाट नेपालका नम्बरमा भएको सम्पर्कका आधारमा सोधखोज गरी हेर्दा कसको नम्बर हो भन्ने चाहिँ पत्ता लगाएको विवरण अनुसन्धानको फाइलमा राखियो।
आफन्तहरुले प्रहरीलाई भने अनुसार यो नम्बर सुर्खेत गुमी निवासी शर्मा थरका व्यक्तिले चलाउने गर्थे। र, त्यतिबेला उनी भारतको अहमदावादमा थिए। तर शर्माको नेपालमा भएका परिवारले छोरीमैयाँ र उनको परिवार कसैलाई पनि नचिनेको बताए।
यता छोरीमैयाँकी कान्छी छोरी, जसको मोबाइलमा मिस्डकल आएको थियो, उनले पनि हामीसित ती व्यक्तिलाई नचिनेको दावी गरिन्। र, आफैंले त्यतिबेला आउने शंकास्पद कलहरुका नम्बर प्रहरीलाई जानकारी दिने गरेको बताइन्।
त्यो भारतीय मोबाइल नम्बर भने अझै एक्टिभ रहेछ। रिपोर्टिङका क्रममा हामीले त्यो नम्बरमा सम्पर्क गर्ने प्रयास गर्यौँ । यो विषयमा सोध्दा फोन उठाउनेले शर्मा घरमा भएको र आफू उनको भाइ भएको बताए। नचिनेको मान्छेसित नबोल्ने भन्दै उनले यसबारे केही कुरै गर्न चाहेनन्।
आखिर एकले अर्कालाई नचिने पनि किन मिस्डकल गरियो? अन्तर्देशीय मिस्डकल भए झुक्किएको होला भन्न सकिएला। तर एक देशबाट अर्को देशमा मिस्डकल किन र कसरी भयो?
यी प्रश्नको जवाफ भने भेटिएको छैन। प्रहरीको अनुसन्धानमा पनि विवरण छ, निश्कर्ष छैन।
प्रहरीले घटनाको तुरुन्तै विस्तृत अनुसन्धान गरेको भए उतिबेलै छोरीमैयाँको बारेमा केही न केही पत्ता लागिसक्थ्यो। तर प्रारम्भिक अनुसन्धानका क्रममै प्रहरी चुकेको देखिन्छ। जस्तो जस्तो हल्ला चल्यो, त्यसकै पछि अनुसन्धान लागेको पनि देखिन्छ।
जस्तै यो भारतीय नम्बरबारे अनुसन्धान छोरीमैयाँ भारतमा भागेको ‘हल्ला’ पछि गम्भीर रुपमा थालिएको थियो, जसको पुष्टि अहिलेसम्म हुन सकेको छैन।
पहिलो चरणको अनुसन्धानको विवरण माथिल्लो निकायमा बुझाउँदा लेखिएको थियो, ‘छोरीमैयाँकोमा काम गर्थे तथा निज हराएको दिनमा काम छोडेर गएका भारतीय नागरिकको बारेमा बुझ्दा हाल कहीँ कतैबाट सम्पर्कमा नआएको।’
जबकी छोरीमैयाँकोमा कोही भारतीय नागरिकले काम गर्दैनथे। उनले बुट्टा भर्न काम लगाउने गरेका एक भारतीय नागरिक पनि कतै हराएका थिएनन्, जोसित प्रहरीले पछि सोधपुछ पनि गरेको थियो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सम्म केस आइपुग्दा भारतीय नम्बरको कल डिटेलसमेत निकालिए पनि प्रारम्भिक अनुसन्धानका क्रममा भने छोरीमैयाँका छोरीहरुले आफ्नी आमा गएको भन्ने दावी गरिएका निकी सिंहको घरको ल्यान्डलाइनको कल डिटेलसमेत निकालेको देखिन्न।
हल्लाको भरमा परपुरुषसितको सम्बन्धको निश्कर्ष !
प्रहरीको यो केसलाई कति हल्का रुपमा लिएको थियो भन्ने तथ्य उसको प्रारम्भिक अनुसन्धान निश्कर्षबाट पनि देखिन्छ, ‘ज्ञानेश्वर जान्छु भनी घरबाट हिँडेको तर बानेश्वर गएको, ढुकुटी खेलेको कुरा परिवारलाई थाहा नहुनु, परपुरुषसँग सम्बन्ध गर्नु र घरबाट लालपूर्जा हराउनु जस्ता कारणहरुबाट निज महिला राजीखुसीका साथ कतै गएको हुनसक्ने सम्भावना रहेको।’
परपुरुषसँग सम्बन्ध रहेको निश्कर्ष निकाल्नलाई प्रहरीले हल्लालाई मात्र आधार बनाएको देखिन्छ। किनभने पछि सरकारले गठन गरेको छानबिन समितिले पनि त्यस्तो कुनै पत्याउने आधार नभएको प्रतिवेदन दिएको थियो।
सायद त्यसैले हराएको १२ घण्टा पनि नबित्दै प्रहरीलाई पहिलो सूचना दिए पनि अनुसन्धानमा भने प्रहरीले हप्तौँ लगाएको देखिन्छ। अनुसन्धानमा पनि अनुसन्धानको खासै अनुभव नभएका अफिसरहरु खटिएका देखिन्छन्।
छोरीमैयाँ अबेरसम्म घर नफर्किएपछि हराएकै रात (२०६८ फागुन १६ गते) परिवार विशाल बजार छेउमा रहेको जनसेवा प्रहरी कार्यालयमा पुगेका थिए।
त्यहाँका तत्कालीन प्रहरी निरीक्षक हेमकुमार थापाले सुरुवाती अनुसन्धान गरेका थिए। उनैले महर्जन परिवारको जग्गा विवाद रहेका व्यक्तिलाई सोधपुछ गर्ने कामसमेत गरेका थिए।
त्यहाँबाट उनीहरुलाई यस्तो किसिमको अनुसन्धान हनुमानढोकाबाट गरिन्छ भनेर त्यता पठाइयो।
‘हामीलाई कहिल्यै यस्तो परेको थिएन, कहाँ जानुपर्छ, के गर्नुपर्छ, केही थाहा थिएन’, छोरीमैयाँकी कान्छी छोरी सुधा महर्जन सम्झन्छिन्।
महानगरीय प्रहरी परिसर हनुमानढोकामा उनीहरुको भेट डिएसपी आभुषण तिम्सिनासँग भयो। उनले एउटा निवेदन दिनूस् भनेपछि हनुमानढोका बाहिर कालभैरवको मूर्तिनेर भेटिएका शुल्क लिएर मिलाएर जाहेरी लेख्ने एक जनाबाट निवेदन लेखेर त्यहाँ बुझाएको सुधालाई याद छ।
तिम्सिनाले ‘हेर्नूस्, यस्तो केसमा जिउज्यानको खतरा हुन्छ, मिडियातिर खबर ननिकाल्नू, हामी खोजतलास गरेर आफै खबर गर्छौँ’ भनेको उनी बताउँछिन्।
होला त भनेर उनीहरु घर गए।
तर न प्रहरीले केही खबर गरे, न आमाको केही पत्ता लाग्यो। केही थाहा पाइन्छ कि भनेर बुझ्न जाहेरी दिएको पाँच दिनपछि फागुन २१ गते हनुमानढोका गए उनीहरु।
सोधखोज गर्ने क्रममा थाहा भयो आमा खोज्ने आश्वासन दिएर परिवारलाई फर्काएका आभुषण तिम्सिना त बिदामा बसेका पो रहेछन्। तत्काल गरिनुपर्ने संवेदनशील घटनाको अनुसन्धानमा प्रहरी त्यहीँ चुकिसकेको थियो।
डिएसपी तिम्सिनाले अर्का डिएसपी अरुण बिसीलाई यो केसको जिम्मा लगाएको भनेर त्यहाँ भनियो। उनीहरुले बिसीलाई पनि भेटे। उनले दुई जना इन्स्पेक्टर लगाएको छु भनेर उनीहरुलाई फर्काइदिए। तर खासै केही अनुसन्धान नभएको रहेछ भनेर बुझियो।
त्यो वर्ष फागुन २४ गते होली थियो। जाहेरी दिएकै एक हप्ता पुग्थ्यो त्यो दिन। होलीपछि पनि केही खबर आएन प्रहरीबाट।
प्रहरीले अनुसन्धानमा बेवास्ता गरेपछि घटनाको ११औँ दिन साथीभाइ, छिमेकी, आफन्तसहित २५/३० जनाको टोली हनुमानढोका गएर धर्ना बसेपछि बल्ल प्रहरी झस्कियो।
सुधा भन्छिन्, ‘त्यसपछि भिक्टिमको फेमिली को छ, उनीहरु मात्र आउनु भनेर अपराध महाशाखाको केरकार शाखामा लगियो।’
प्रहरीले अलि ध्यान दिएर अनि यो केस हेर्न थालेको अनुभव हुन्छ महर्जन परिवारलाई।
सुरुवाती अनुसन्धान गरेको थियो अपराध महाशाखाको पिलर नम्बर ४ ले जसको जिम्मेवारी हो अपहरण लगायतका संगठित अपराध हेर्ने। महाशाखामा त्यतिबेला एसएसपी देवेन्द्र सुवेदीको नेतृत्व थियो भने डिएसपी रवीन्द्र धानुक अपहरणसम्बन्धी केस हेर्ने पिलर ४ का प्रमुख थिए। काठमाडौँ परिसरमा राजेन्द्रमान श्रेष्ठको नेतृत्व थियो।
सुरुमा केस हेर्न लागेका आभुषण तिम्सिनाझैँ धानुकको पनि अनुसन्धानमा खासै दख्खल देखिन्न। धानुकका सहयोगीका रुपमा सई अमर थापा र अर्जुन केसीले सुरुमा अनुसन्धान गरेका थिए। तर पछि उनीहरु केसबाट हटे र इन्स्पेक्टर गणेश चन्द आए, जसको प्रोफाइलमा पनि अनुसन्धानमा उल्लेख्य केही देखिन्न।
त्यतिबेला हनुमानढोकामा कार्यरत एक प्रहरी अधिकारी भन्छन्, ‘यो केसको अनुसन्धान सुरुवातदेखि नै फितलो रह्यो। गम्भीर भएर उतिबेलै अनुसन्धान गरेको भए उहिल्यै सल्भ भइसक्ने केस हो यो।’
वृत्तबाट परिसर अनि परिसरबाट अपराध महाशाखा गर्दै महत्त्वपूर्ण समय बितिसकेको थियो। त्यसैले पनि छोरीमैयाँ त्यो दिन निकी भनिने सुरक्षा सिंहको घर वरपर देखिएको/नदेखिएको यकिन गर्ने कोही प्रत्यक्षदर्शी भेट्टाउन सकिएन।
‘प्रारम्भिक सोधपुछ नै ११/१२ दिनपछि गरिएको थियो, यत्रो दिनमा त मान्छेले देखेकै भए पनि खासै याद गरेका हुँदैनन् नि’, छोरी सुधाको तर्क छ।
उसै त ढिला सुरु भएको अनुसन्धान कुहिरोको काग बन्यो। कहिले हुँदै नभएको भारतीयको खोजीमा लाग्यो भने परपुरुषसँगको सम्बन्धको हल्लालाई निश्कर्ष बनाएर नभएको मान्छेको स्केच बनाउँदै खोज्न थाल्यो।
केही ‘क्लु’ नभेटिएका भने हैनन्।
जस्तै २०६८ चैत १५ गते सोधपुछ गरिएका श्रेष्ठ थरका एक कपडा पसलेले भने, ‘छोरीमैयाँलाई म राम्रोसँग चिन्छु। उनलाई मैले चिनेको १२, १५ वर्ष नै भयो।’
खासमा उनी छोरीमैयाँलाई फोन गर्नेहरुको सूचीमा भएका कारण प्रहरीले सोधपुछ गरेको थियो। उनले फोन चाहिँ आफ्नो बहिनीलाई लगनको केटासँग विहे गरिदिन लागेकोले छोरीमैयाँको माइती पनि लगन भएकोले बुझ्नका लागि रहेछन्।
तर, यही क्रममा उनले एउटा यस्तो कुरा बताए, जुन प्रहरीलाई अहिलेसम्म थाहा थिएन।
सोधपुछमा उनले भनेका थिए, ‘हेर्दा भलादमी हुनुहुन्थ्यो। बडी बिल्डर जस्तै हुनुहुन्थ्यो। राम्रो मिलनसार व्यक्ति हुनुहुन्थ्यो। पहिला एक जना केटाले विवाह गरौँ भनेर पिछा गर्यो । म त विवाहित महिला हुँ भनेर मैले त्यसलाई कुटिदिएँ, हातमा रगतै आयो भन्नुभएको थियो।’
छोरीमैयाँको पछि लाग्ने ती केटा को थिए त? के प्रहरीले यसबारे केही पत्ता लगायो? यसबारे थप जानकारी भोलि #ChhoriMaiyaKhai को अंकमा।
(प्रजु पन्त र कृष्पा श्रेष्ठको सहयोगमा)
अघिल्ला शृंखला
मंसिर ९, २०७८ बिहीबार १८:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।