बहुविवाह गरी नक्कली विवाह दर्ता गर्ने सशस्त्र प्रहरीको जोडी पक्राउ

सुर्खेतः घरमा श्रीमती हुँदाहुँदै कान्छी ल्याएर नक्कली विवाह दर्ता गर्ने सशस्त्र प्रहरीका जवान अर्जुन चितौरेको जोडी पक्राउ परेका छन्।
लेकबेंसी नगरपालिका–९ स्थायी घर भएका चितौरेको जोडीलाई सुर्खेत प्रहरीले आइतबार लेकबेंशीबाट पक्राउ गरेको हो।
घरमा १९ वर्षीया श्रीमती मुना रोकाय र एक वर्षीया छोरी भएका चितौरले उदयपुरको बेलका नगरपालिकाकी मन कुमारी आलेलाई कात्तिक २२ गते घरमा ल्याई एक वर्ष अगाडि विहे गरेको भन्दै वडा कार्यालयबाट विवाह दर्ता गरेर भागेका थिए।
अर्जुन र उनकी कान्छी श्रीमती मन कुमारीलाई अर्जुनका बुवा अम्मर बहादुर चितौरेले छलफलका लागि नवलपरासीबाट सुर्खेत झिकाएका थिए। वडा कार्यालयमा छलफल गर्न खोजिए पनि अर्जुनकी जेठी श्रीमती मुनाले कानूनअनुसार कारबाही गर्नुपर्ने अडान राखेपछि अहिले दुवै जनालाई अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
‘बहुविवाह गरेको भन्ने जाहेरी आएपछि हामीले अनुसन्धानका लागि दुवैलाई ल्याएका छौं,’ प्रवक्ता घर्तीले भने, ‘सबै कुरा के हो? भनेर ‘भेरिफिकेसन’ गर्दैछौं, अनुसन्धानबाट जे निष्कर्ष आउँछ त्यहीअनुसार जान्छौं।’
पीडित मुनाले प्रहरी कार्यालयमा पेश गरेको जाहेरी पत्रमा आफ्ना श्रीमान् अर्जुन चितौरले आफुसँग १५ वर्षमै विहे गरेको र अहिले पनि उमेर नपुग्दा विवाह दर्ता समेत नभएको खण्डमा अर्कै केटीलाई विवाह गरी वडा कार्यालयमा विवाह दर्ता प्रमाण पत्र लिएकोले यसमा मिलेमतो गर्ने वडा नम्बर-९ का वडा अध्यक्ष मान बहादुर खडलुक, वडा सचिव पुष्पा कुमारी खनाल र घरपरिवारलाई समेत कारबाही गर्नुपर्ने उल्लेख गरेकी छन्।
आफूले कानूनअनुसार अगाडि बढ्ने अडान लिए पनि वडाध्यक्ष र घरपरिवारले मिल्न दबाव दिएको पीडित मुना रोकायले बताइन्। ०७५ सालमा मुनालाई प्रेम विवाह गरेका अर्जुनले ०७६ सालमा सशस्त्र प्रहरीको जवान पदमा जागिर खाएका थिए।
सशस्त्र प्रहरीलाई बहुविवाहको मुद्दा लागे ३ वर्षदेखि ५ वर्षसम्म कैद तथा जागिर स्वतः जाने र वडा अध्यक्ष, वडा सचिवलाई जालसाझी मुद्दा लाग्दा अदालतले तोके बमोजिम सजाय हुने व्यवस्था रहेको अधिवक्ता दुर्गा सापकोटाले बताए।
अर्जुन चितौरेबारे उकेरामा यसअघि प्रकाशित समाचार
मंसिर ६, २०७८ सोमबार १२:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।