कानुनमन्त्री बडुले भने, न्यायपालिकाको विवादमा सरकारले हस्तक्षेप गर्न मिल्दैन
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भेलामा सहभागी कानुनमन्त्री बडुले संविधानले तोकेका सीमालाई सम्मान गर्दै न्यायपालिकाको विवादमा हस्तक्षेप नगर्ने बताए।
‘यो समस्या स्वतन्त्र न्यायपालिका भित्रको समस्या हो,’मन्त्री बडुले भने,‘त्यहाँभित्रकै सम्बन्ध सबै पक्ष बसेर छिटोभन्दा छिटो टुङ्ग्याउनुपर्छ।’ उनले विवाद समाधान नगर्दा जनताको न्याय पाउने अधिकार कुण्ठित हुँदै जाने बताए।
उनले बेन्च बस्ने र फैसला गर्ने काम छिटो सुचारु हुनुपर्ने बताए। ‘जनताले न्याय नपाउँदाको परिस्थितिमा उनीहरूको सरोकार बढ्छ,’उनले भने,‘जनताको सरोकारको विषय सरकारको सरोकारको विषय बन्छ।’
उनले न्याय क्षेत्रमा देखिएको समस्या सरकारले टुलुटुलु हेरेर नबसेको दाबी गरे। न्यायालयको विवादलाई नजिकबाट हेरिरहेको र छिटो समाधान होस भन्ने चाहेको उनले बताए। उनले न्यायालयको विवाद समाधान गर्न धेरै समय लिन नहुने बताए। उनले यसबिषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल भएको जानकारी दिए।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिष्कार गर्दै आएका छन्। कार्तिक १४ गतेदेखि नेपाल बार एसोसिएसनले सर्वोच्च परिसरमा विरोध प्रदर्शन गर्दै आएको छ। तर, प्रधानन्यायाधीश राणाले भने आफू संवैधानिक प्रक्रियाबाट मात्र बाहिरिने न्यायाधीशहरुलाई जवाफ दिँदै आएका छन्।
कात्तिक २६, २०७८ शुक्रबार १८:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।