गणेशमानलाई सम्झिँदै प्रकाशमानले भने, राजनीतिक समन्वय समिति आवश्यक छैन

गणेशमानलाई सम्झिँदै प्रकाशमानले भने, राजनीतिक समन्वय समिति आवश्यक छैन

काठमाडौँ : गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती बुधबार  विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।

सिंहलाई प्रजातन्त्र पुनः स्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर भन्ने गरिन्छ। 

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मेका सिंहको २०५४ असोज २ गते निधन भएको हो। सिंहको १०७ औँ जन्मजयन्तीका अवसरमा आज बिहान काठमाडौँमा आयोजित कार्यक्रममा कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनले बनाएको राजनीतिक समन्वय समिति आवश्यक नभएको बताएका छन्। सरकारलाई नियन्त्रण गर्ने खालका संयन्त्र बनाउन जरुरी नै नरहेको नेता सिंहको भनाई छ। 

सरकारभन्दा माथि बनेको यो संयन्त्र संविधान र प्रजातान्त्रिक विधि विपरीत हुने उनले बताए। 

गठबन्धनको सरकार भए पनि राज्यसत्ता सरकारले चलाउने उनले बताए। उच्चस्तरीय राजनीतिक समिति वा समन्वय समिति जे नाम दिए पनि सरकारलाई नियन्त्रणमा राख्न खोज्ने नियत रहेको उनको भनाइ थियो।

उनले सर्वोच्च अदालतमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल गर्नुपर्ने बताए। न्यायालयमा भएको विवादका कारण जनतालाई असुविधा भएको सिंहको भनाइ छ। 

साथै नेता सिंहले वर्तमान परिस्थितिमा अर्लिइलेक्शनको कुनै सम्भावना नभएको समेत बताए। उनले देशमा विधिको शासन स्थापना गराउन र संविधानको रक्षाको लागि वर्तमान सरकार बनेकाले संविधान अनुसार नै तोकिएको समयमा निर्वाचन हुने बताए। उनले आगामी निर्वाचनमा काँग्रेस एक्लै जनतामा जानुपर्ने धारणा समेत राखे। 

कांग्रेस स्थापना र देशमा प्रजातन्त्र स्थापनाको लागि सर्वमान्य नेता गणेशमान सिंहको महत्त्वपूर्ण योगदान रहेको भन्दै नेता सिंहले गणेशमानले देखाएको बाटो वर्तमान काँग्रेसले पछ्याउनु पर्ने बताए। नेता सिंहले गणेशमान सिंह जन्मजयन्तीको अवसरमा शोभाभगवतीमा रहेको उनको शालिकमा माल्यार्पण गरेका थिए।

कात्तिक २४, २०७८ बुधबार ०९:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।