ब्याच नम्बर ६९ : काबुल एयरपोर्टमा टाँसिएको नेपाली महिलाको तस्बिरको रहस्य
सत्ताच्युत गरेर अफगानिस्तानका राजा जाहिर शाहलाई लखेटेपछि अफगानिस्तानको दुर्गती सुरु भएको हो। त्यसपछि नर्दन एलायन्स त भनियो। तर त्यो नाम मात्रको हो। काबुल शहरभित्रै पनि बमबारी रोक्न सकेनन्।
अफगानिस्तानबारे पढेको अनि एक वर्ष त्यहाँ बसेको अनुभवको आधारमा अफगानिस्तानको अहिलेको समस्या आउनुको मुख्य समस्या अफगानिस्तानको समस्या के हो भनेर बुझ्न नसक्नु हो। अफगानिस्तान बुझ्नलाई अफगानी नै हुन सक्नुपर्छ। बाहिरबाट गएकाले कसरी अफगानिस्तान बुझ्नु। बुझ्न सकेनन्। त्यसैले समस्या समाधान भएन। द्वन्द्व जस्ताको त्यस्तै रह्यो।
म प्रहरी एड्भाइजरको रुपमा गएकाले काबुलमा बसें। कामका लागि काबुल बाहिर पनि गएँ। काबुलमा बस्नेहरुले मात्र हो आधुनिक जीवनको अनुभव गर्न पाएको। काबुल बाहिर जाँदा त सय वर्ष पुरानो समाजमा पुगेको अनुभव हुन्थ्यो। काबुल बाहिर केको मानव अधिकार, केको शिक्षाको अधिकार।
अफगानिस्तानमा अन्तर्राष्ट्रिय फोर्सहरु आएपछि विभिन्न देशले काम बाँडेका थिए। पुलिस सम्बन्धी काम जर्मनीले गर्थ्यो। अमेरिकाले पनि राम्रो बजेट छुट्याएको थियो। मेरो काम चाहिँ प्रहरीको ऐन-नियम र तालिम सम्बन्धी थियो। अर्को, प्रहरी को हो भन्ने नै अन्योल थियो त्यो बेलामा। कति संख्या छ भन्ने पनि यकिन थिएन। त्यसको पहिचान गर्ने पनि मेरो जिम्मेवारी थियो।
सबै एजेन्सी र अफगानिस्तानको सरकारसँग पनि सहकार्य गर्नुपर्ने थियो। प्रहरी कति थिए कसैलाई थाहै छैन। भन्नलाई ७० हजार छन् भन्थे। तर कता हो कता। अब १० दिने तालिम दिएर प्रहरीको काममा निकालेका रहेछन्। अब उनीहरुले के सिक्नु अनि कसरी काम गर्नु।
सबै भद्रगोल।
अफगानिस्तानका प्रहरी हुन् कि लुटेरा हुन् भनेर रिसर्च नै भएको थियो। अब यसले नै देखाउँछ उनीहरुको छवि कस्तो थियो भन्ने।
लामो द्धन्द्धमा परेकाहरुले योजना बनाउँदा लामो समय सोच्दैनन् नि त। उनीहरुको हरेक योजना छोटो समयका लागि हुन्छ। किनकी कुन बेला के हुने हो पत्तै नहुने भएपछि लामो योजना कसले बनाउँछ। सम्भव हुने योजना बनाउने न हो। चरण-चरणको द्वन्द्व भोगेको समाज हुने त्यस्तै त हो।
अर्को कुरा, अन्तर्राष्ट्रिय सुरक्षा फोर्सले काबुल बाहिर जथाभावी बम खसालिदिँदा सरकारको काबुल बाहिर पकड घट्दै गयो। उनीहरु हाम्रा लागि आएका हुन् भनेर समाजले स्वीकारै गर्न सकेनन्। त्यसको परिणाम अल-कायदा होस् या तालिबान उनीहरुप्रति घटिसकेको समर्थन पनि पछि बढ्यो।
अर्को समस्या सरकारमा फैलिएको भ्रष्टाचारले पनि हो। यसले पनि तालिवानहरुलाई सत्तामा फर्कन सहज बनाइदियो।
मेरो अनुभवमा धेरैले अफगानिस्तान भनेको काबुल मात्र हो भन्ने सोच्छन्। नेपाल भनेको काठमाडौँ मात्र हो र?, काठमाडौँ बुझेर नेपाल बुझिन्छ र?
अफगानिस्तानको अर्को समस्या अन्तर्राष्ट्रिय इन्ट्रेस्टहरु धेरै हुनु पनि हो। इरान, रसिया, चीन, पाकिस्तान त भइहाल्यो। ९/११ को घटनापछि यसमा अमेरिका सहितका देशहरु होमिए। उनीहरु अफगानिस्तान त गए तर अफगानिस्तान के हो भनेर बुझ्ने प्रयासै गरेनन्। त्यसैले असफल भए।
रुस अफगानिस्तानका कम्युनिष्टहरुलाई सघाउन आएको थियो। आफैँ लडाईं लड्न आएको थिएन। तर उनीहरु त्यही नराम्ररी फसे र गए नि। अहिले भएको पनि त्यही त हो।
अफगानिस्तान बुझ्नलाई अफगानी हुनुपर्यो नि। बाहिरबाट गएका सेनाले न समाज बुझ्छ, न त्यहाँको भौगोलिक अवस्था थाहा हुन्छ। न जन-समर्थन नै पाउँछ। अनि कसरी नयाँ पद्धति बसाउन सकिन्छ! त्यसैले आइएसआई तह लगाउने भन्दै गएकाहरु जब तालिबानसँग अल्झिए नि 'यो पार नलाग्ने लडाईं भयो' भन्दै फर्किए।
अर्को तालिबान भनेको धार्मिक अभियान हो। तर यसलाई विश्वले राजनीतिसँग मात्र जोडेर हेर्यो। तालिबानलाई आतंकवादसँग मात्र जोडेर हेर्यो। अब धार्मिक अभियान चलाएकाहरुसँग राजनीतिक रुपमा डिल गरेर कहाँ पार लाग्छ त। उनीहरु धर्म भनेपछि मर्न र मार्न तयार। अब ज्यान गए जान्छ भनेर होमिनेहरुसँगको लडाईं कसरी सहज होस्।
इरान हेरौं न, त्यहाँ पनि सरिया कानुन छ नि। त्यहाँ पनि धार्मिक सरकार त हो। अफगानिस्तानमा तालिबानले खोजेको पनि त्यही इस्लामिक सरकार त हो। फरक यति हो कि उनीहरु इरानभन्दा अझ बढी कट्टर छन्। तर उनीहरुलाई पूरै बहिष्कार गरेर या तर्साएर तह लगाउँछु भन्नु नै गलत हो। उनीहरुलाई विश्वबाट एक्लै पार्नुको मतलब झन् कट्टर बनाउनु हो नि।
एक्लै पारेपछि उनीहरु हिँड्ने त आफ्नै बाटोमा त हो। अब तालिबान आए उनीहरुलाई एक्लै पार्नुपर्यो भनेर व्यवहार गर्ने हो भने उनीहरु आफ्नै बाटोमा हिँड्छन्। त्यहाँको समाजले दु:ख पाउँछ। उनीहरुलाई विस्तारै रुपान्तरण गर्ने प्रयास गर्ने हो भने केही हदसम्म सफल हुन सकिन्छ भन्ने लाग्छ।
त्यहाँ बस्दाको अनुभवले सेनामा पनि समस्या देखें मैले।
अफगानिस्तानमा त्यत्रो लामो समय अन्तर्राष्ट्रिय सुरक्षा फौज बसे पनि देशका लागि लड्ने त त्यहीको सेनाले हो नि। भन्नलाई यति सेना छ र उति सेना छ भनियो। तर कहिल्यै सेनाको यकिन संख्या नै आएन।
सेनाका लागि छुट्ट्याएको रासन र भत्तामा भ्रष्टाचार गर्न फर्जी संख्या बढाइयो। अनि अर्को महत्वपूर्ण पक्ष सेना भनेको संख्या मात्र पनि हैन। सेनाको शक्ति भनेको केबल आधुनिक हतियार मात्र पनि हैन। सेनाको बल भनेको आत्मविश्वास पनि हो। आत्मबल पनि हो।
अफगानितानको आफ्नै सेना बनाउन गएका अन्तर्राष्ट्रिय समुदायले अफगानी सेनाको मनमा तालिबान हाम्रो देशको दुश्मन हो भन्ने भावना बढाउनै सकेनन्। उनीहरुको मनमा आफ्नै दाजुभाइसँग लडिरहेका छौँ भन्ने परिरह्यो।
अर्को, तालिबान विरुद्ध लड्न सक्छौँ भन्ने आत्मबल पनि देखिएन। त्यसैले त तालिबान काबुलमा प्रवेश गर्नुभन्दा अगाडि नै राष्ट्रपति, उपराष्ट्रपतिहरु लगायतकाहरु देश छाडेर भागे नि। बाहिर जे भने पनि सेनाको अवस्था कस्तो छ भन्ने उनीहरु जानकार थिए। सक्दैन भन्ने थाहा थियो। त्यसैले काबुल कब्जा गर्नु अगाडि नै भागे।
अर्को पक्ष भनेको त्यहाँको जातीय संरचना र समूहको प्रभाव नबुझ्नु पनि हो। तालिबान पस्तुन समुदायले सुरु गरेका थिए। पछि मात्र उनीहरुले अन्य जातीय समुदायको पनि समर्थन चाहिन्छ भनेर ताजिस्क अनि हजाराहरुलाई समावेश गर्न थालेका हुन्। अफगानिस्तानमा पस्तुनहरु त ३० प्रतिशत त हुन्। पस्तुन समुदायका ७० प्रतिशत त पाकिस्तानमा बस्छन्।
हेर्दा अफगानिस्तान काबुलमा रहेको सरकारको हातमा छ भनेजस्तो देखिए पनि त्यहाँ राज जातीय समूहका प्रमुखहरुको चल्छ। केन्द्रमा जोसुकै होस् काबुल बाहिर त्यसको कमै प्रभाव पर्छ। काबुल बाहिर सत्ता चल्ने आदिवासी जातीय समुदायका प्रमुखको नै हो। उनीहरुलाई जिरगाह भनिन्छ।
अफगानिस्तानका अन्तिम राजा जाहिर शाहलाई सत्ताच्युत गर्नुको कारण विविध छन्। त्यसमा प्रमुख आदिवासी जातीय समुदायसँग जोडिएको छ भन्ने मेरो ठम्याइ हो। जब शाहले विकासका योजना लागू गरेर पानी अनि सडकहरु गाउँहरुमा पुर्याउन थाले आदिवासी समूहका प्रमुखहरु 'आफ्नो अनुमतीविना किन बाटो ल्याएको भनेर निहुँ खोज्न' थाले। आफ्नो अनुमतीविना आफ्नो समुदाय भएको स्थानमा जे काम भए पनि उनीहरुले आफ्नो अधिकारमाथि हस्तक्षेपको रुपमा बुझे।
शाहले कानुन बनाएरै आदिवासी जातीय समुदायको प्रमुखको अधिकार कटौती गरिदिए। यसले उनीहरु थप बिच्किए। शाहको विपक्षमा गए। सरकारको काबुल बाहिर पहुँचै भएन। त्यसले शाह इटली गएको बेलामा सहजै सत्ताच्युत गर्न सकियो।
त्यहाँको आदिवासी जातीय समुदायको प्रमुखको शक्ति कति छ एउटा उदाहरण लेख्छु।
प्रहरी चौकी बनेपछि उद्घाटनको लागि राज्यमन्त्रीसहित लावालस्कर लगाएर गइयो। हिउँ परिरहेको थियो। सब सुटेड-बुटेड। कार्यक्रमस्थलमा सबै आइसके। तर कार्यक्रम सुरु नै भएन। के भयो भनेर बुझेको त कार्यक्रमको प्रमुख अतिथि नै आउन बाँकी छ भने। सँगै राज्यमन्त्री आएका छन्। अब को होला त प्रमुख अतिथि भन्ने खुल्दुली भयो।
केही समयपछि मैलो परम्परागत अफगानी पोशाक लगाएर एक हुल स्थानीय आए। त्यही बीचबाट लामो दाह्री पालेका एक जना मञ्चतिर आए। मन्त्री लगायत सबै उठेर नमस्कार गरे। म पनि उठें। उनी नै कार्यक्रमको प्रमुख अतिथि रहेछन्। को हुन् उनी भनेको त त्यो क्षेत्रको आदिवासी जातीय समुदायको प्रमुख रहेछन्। उनको अनुमती लिएरै त्यहाँ प्रहरी चौकी बनाइएको रहेछ। अनि उनलाई प्रमुख अतिथि नबनाए चौकी उद्घाटन नै गर्न नसिकने रहेछ।
त्यसैले अफगानिस्तान एकीकृत र संगठित देश हैन। जातीय समुदायहरुको आ-आफ्नै कानुन छ। आ-आफ्नै पद्धति छ। बाहिरबाट जानेहरुले त्यो बुझ्दैनन्। काबुलमा बस्यो। आफूलाई मन पर्ने रेष्टुरेन्टमा गयो, खायो। अनि काबुल हेरेर यही हो अफगानिस्तान भन्यो। अनि कहाँ हुन्छ समस्या समाधान।
पूरै काबुल पनि कहाँ विकसित छ र। केही भाग मात्र हो। अलिकति बाहिर गएपछि असनजस्तै परम्परागत पसलहरु भेटिहालिन्छ। काबुलभित्रै पनि विभेद छ। समाज विभाजित छ। यसैले हो समस्याहरु बढाएको।
बाहिरी फोर्स आएपछि सबै मिलेर लखेट्छन्। अनि जब उनीहरु जान्छन् नि आफैँ लड्न थाल्छन्। अहिले काबुलमा अन्तर्राष्ट्रिय फोर्स छैन। तैपनि एकआपसमा लड्न थालिसके। मस्जिदमा बम पड्काउन थालिसके।
जुन-जुन फोर्सहरु अफगानिस्तानमा आए उनीहरुसँग आएकाहरु त्यहीं बस्दै गए। त्यसैले अफगानीहरुको अनुहार हेर्ने हो भने राई जस्ता पनि देखिन्छन्, बाहुन जस्ता पनि देखिन्छन्। ठकुरीको अनुहारका पनि छन्, शेर्पा जस्ता पनि छन्।
०००
अब अफगानिस्तानमा रहेका नेपालीबारे एउटा रमाइलो किस्सा लेख्छु है।
म अफगानिस्तानको काबुल विमानस्थलमा ओर्लिएर बाहिर जान लाग्दा भित्तामा एउटा तस्बिर टाँसिएको थियो। तस्बिर हेर्दा नेपाली महिलाको जस्तो लाग्यो। तस्बिर तल अफगानी भाषामा लेखिएकाले के लेखिएको मैले बुझिनँ।
मलाई लिन आएका अफगानीलाई सोधें, 'के लेखेको हो यो?'
उनले भने, 'यसलाई देखेमा तत्काल उसकै देश फर्काउनु लेखेको हो।'
उनले फोटोबारे जे भने म छक्कै परें। त्यो नेपाली महिलाकै तस्बिर थियो। त्यस्तो द्वन्द्वको समयमा पनि नेपालीहरु काबुल पुगेर क्याविन रेष्टुरेन्ट खोल्न भ्याइसकेको। देह व्यापार सुरु गरिसकेको। तालिबानले भेटेको भए त क्रेनमा झुन्ड्याइहाल्थे। धन्न अफगानी प्रहरीले थाहा पाएपछि उनलाई नियन्त्रणमा लिएर नेपाल फिर्ता पठाएको रहेछ। अनि ऊ पुन: झुक्याएर आए नेपाल लखेट्न विमानस्थलमै फोटो राखिएको रहेछ।
जागिर खोज्ने क्रममा पुगेका नेपालीहरु पनि टन्नै थिए। अन्तर्राष्ट्रिय सुरक्षा फौजले सुरक्षा सहयोगीको रुपमा लगेकाहरु पनि टन्नै थिए। अमेरिकीहरुको क्याम्पमा बढी थिए। दूतावासको सुरक्षा, भवनको सुरक्षामा उनीहरु खटिएका थिए। केही नेपाली काबुलमा व्यापार गर्न पुगेका कम्पनीहरुले लगेका पनि थिए।
त्यहाँ बस्दा लामो समय प्रहरीमा काम गरेर छाडेर अफगानिस्तान गएकाहरु पनि भेटिए। एक दिन ब्रिटिस एम्बेसीमा बैठकका लागि गएको एक जना नेपाली जस्तो लागेर यसो हेरेको एक जना तन्किएर जय नेपाल सर गरिहाले। त्यसपछि त लाइनै जय नेपाल गर्न थाले। उनीहरु प्रहरीको जागिर छाडेर अफगानिस्तान गएका रहेछन्।
जर्मन अनि अमेरिकी क्याफेटेरिया र केकसपहरुमा पनि टन्नै नेपाली भेटिए। सुप्रिम भन्ने इटली कम्पनी थियो क्याफेटेरियाहरु चलाउने। जता गए पनि नेपाली नै भेटिन्थे।
अमेरिकी क्याम्पको बाहिर क्षेत्र, भित्री क्षेत्र, प्रवेशविन्दु जताततै नेपाली थिए। म नेपाल प्रहरीकै ड्रेसमा हुन्थे नि। जुन एम्बेसीमा गए पनि जय नेपाल गरिहाल्ने। उनीहरुलाई सुरक्षित रुपमै राखिएको थियो। क्याम्पमा राख्ने, एयरपोर्ट लैजाँदा बख्तरबन्द गाडीमा लैजाने, ल्याउने गर्थे। पारिश्रमिक पनि राम्रो थियो।
जता जाँदा पनि नेपाली त भेटिन्थे तर कति नेपाली छन् भन्ने तथ्यांक भने कतै थिएन।
बेलायतको गोर्खा रेजिमेन्टका नेपाली पनि भेटिए। गोर्खा ब्रिगेडको ब्रिगेडिएरसँग मेरो राम्रो दोस्ती जम्यो। उनी युएनको सिनियर मिलिट्री एड्भाइजर थिए। हाम्रो दोस्ती जम्नुको कारण उनी प्रष्टै नेपाली बोल्ने। उसको र मेरो कोठा अगाडि-पछाडि। यहाँ आइज न भनेर बोलाइहाल्ने। युएनको मिटिङमा पनि हामी नेपालीमा कुरा गर्थ्यौं। बैठकमा सहभागीहरु यी दुई जनाले तेस्रो भाषा कहाँबाट ल्याए भन्थे।
०००
एक वर्षका लागि अफगानिस्तान गएको थिएँ। बन्द समाज। क्याम्पमा बस्यो, बैठकहरुका लागि बाहिर निस्कियो। बम पड्केको छ। कतै घुम्न निस्कन पाउने हैन। त्यहाँको बसाइ एकदम सकसपूर्ण हुन थाल्यो। डिप्रेस्ड हुन थालेपछि म तोकिएको अवधिभन्दा अगाडि नै नेपाल फर्किएँ।
क्रमशः
(नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लको डायरी ब्याच नम्बर ६९ हरेक बुधबार उकेरामा प्रकाशित हुँदै आएको छ।)
ब्याचका पुराना अंक
कात्तिक १०, २०७८ बुधबार १९:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।