इच्छाराज समूहविरुद्ध ११२६ जनाको जाहेरी, ठगीको साटो अब सङ्गठित अपराधको अभियोग

इच्छाराज समूहविरुद्ध ११२६ जनाको जाहेरी, ठगीको साटो अब सङ्गठित अपराधको अभियोग

काठमाडौँ : सहकारीका बचतकर्ताको रकम हिनामिना गरी ठगी गरेको आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष तथा पूर्व सांसद इच्छाराज तामाङविरुद्ध ११२६ जनाको जाहेरी परेको छ। तामाङसहित पक्राउ परेका सिभिल सहकारीका १२ जना विरुद्ध चार अर्ब ६१ करोड २५ लाख बिगो कायम गर्दै प्रहरीले उनीहरूलाई सङ्गठित अपराध ऐन अन्तर्गतको अभियोगमा हिरासतमा राखेको छ।

प्रहरीले असोज १८ मा उनीसहित १२ जनालाई पक्राउ गर्दा ठगी मुद्दामा अनुसन्धान अगाडि बढाएको थियो। उनीहरूमाथिको अभियोगको प्रकृतिको आधारमा अभियोगलाई ठगीबाट सङ्गठित अपराधमा सारेको हो।

सो घटनाको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार तामाङसहित पक्राउ परेका १२ जनालाई सङ्गठित अपराध ऐन अन्तर्गत काठमाडौँ जिल्ला अदालतमा पेस गरेर १८ दिन थुनामा राख्ने अनुमति लिएको छ।

अब प्रहरीले सिभिल प्रकरणमा अनुसन्धानका लागि ६० दिनको समय पाउनेछ। यस अगाडि ठगीको अभियोगमा मात्र अनुसन्धान गरेको भए अधिकतम ३० दिन मात्र पाउन सक्थ्यो।

ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार तामाङसहित १२ जनाविरुद्ध बिहीबार १ हजार १ सय २६ जनाले जाहेरी दिइसकेका छन्। परेका उजुरीमा दाबी गरिए अनुसार चार अर्ब ६१ करोड २५ लाख ३४ हजार ८ सय ८७ रुपैयाँ बिगो देखिएको छ।

सिभिल सहकारीमा २२ सय बचतकर्ता रहेको र तामाङसहितको समूहले करिब ८ अर्ब निकालेको प्रारम्भिक अनुसन्धानमा देखिएकाले उजुरीको सङ्ख्या र बिगो रकम थप बढ्ने देखिन्छ। ब्युरो अधिकारीका अनुसार केही बचतकर्ता देश बाहिर रहेको र उनीहरूबाट इमेलबाट समेत उजुरी लिने तयारी गरिएको छ।

बढी ब्याजको लोभका एकै व्यक्तिले पाँच करोडसम्म सहकारीमा जम्मा गरेको अनुसन्धानमा खुलेको छ। ब्याजको लोभमा सुरक्षा निकायका अधिकारी र सरकारी अधिकारीहरूले समेत सिभिल सहकारीमा रकम जम्मा गरेको ब्युरोको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

सहकारी ठगीबारे उकेरा निगरानी

कात्तिक ४, २०७८ बिहीबार २०:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।