शहरकी गोठाल्नीको लोभलाग्दो छलाङ
विजया दशमीको तेस्रो दिन।
दशैंको रौनक बाँकी नै छ। मान्यजनकहाँ आशिष थाप्न हिँड्नेहरुको लर्कोले जताततै पर्वको उत्साह जनाइरहेको छ।
अघिल्ला दशैंहरुभन्दा यो वर्ष मान्छेको चहलपहल बढी छ राजधानीमा।
०००
साँझ ५ बजे। आकाश धुम्म थियो उत्तरी काडमाडौंको। हामी थियौं भुईंमान्छेको खोजीमा।
नयाँ बसपार्कबाट करिब चार किलोमिटरको यात्रापछि हामी पुग्यौं रंगशाला (सामान्य चौर, तर स्थानीयले रंगशाला भन्ने गरेका रहेछन्) पुग्यौं। त्यहाँ केही भैंसी र बाख्राहरु चर्दै थिए। ती वस्तुभाउको छेउमै बसिरहेकी थिइन् टीका कट्टेल।
सरकारी जग्गा अतिक्रमणमा नपरोस् भनेर छेकबारको काम हुँदै गरेको रहेछ त्यो चौरमा। त्यही चौरको पर्खालमा टुसुक्क बसिरहेकी थिइन् टीका।
ओखलढुंगाको सल्लेरी गाउँपालिकामा २०२८ साल जन्मिएका टीका ६ दिदी–बहिनी र एक भाइकी माइली बहिनी रहिछन्।
धेरै छोरी भएपछि परिवार पाल्न गाह्रो हुँदै गएको अवस्था थियो टीकाका बाबुलाई। ससुरालीले सोही बखत पाँच वर्षकी टीकालाई आफैंले हुकाउर्ने प्रस्ताव राखे। परिवारमा सल्लाह भयो। टीका मामाघर पुगिन्।
मामाघरमा नै हुर्किइन् टीका। हुर्कंदै गर्दा प्रहरीमा रहेका उनका मामाको काठमाडौं सरुवा भयो। परिवार नै कोटेश्वरमा भाडामा बस्न थाल्यो टीका पनि मामासँगै काठिमाडौं आइन्। त्यतिबेला उनको उमेर १० वर्षको थियो।
काठमाडौं आएपछि उनी धागो बुन्ने काम गर्न थालिन्। ममाले नै जागिर खोजिदिए। पढाउन मावलीले पनि चासो गरेनन्। टीकालाई पनि उति चाह हुनै पाएन।
टीकाले करिब दस वर्ष उनका धागो कातिन्। चर्खा चलाउन पोख्त थिइन् उनी।
टीका २३ वर्षकी भइन्। मावलीले विहेदान गराइदिने शर्तले ल्याएका थिए। माइजुका गाउँले भाइ पनि कोटेश्वर बस्थे।
केटाको काम, परिवारको सम्पत्ति र पढाइ हेरेर छोरी दिने चलन आज पनि छ। त्यसबेला त झन् थियो। माइजुले टीकालाई राम्रो घर छ, भान्जीलाई त्यही केटासँग पार्नुपर्छ भनेर मावलामा कुरा उठाइन्।
मवलाले पनि केटाको बारेमा बुझे। खान–लाउन पुग्ने परिवार थियो। केटो एसएलसी पास। ममाले विहे पक्का गरिदिए।
साथीहरुसँग डेरा गरी बस्दै आएका सोलुका रोहित कट्टेलसँग टीकाको विहे भयो।
उनीहरु छुट्टै कोठा लिएर बस्न थाले।
कोठामा बस्दाबस्दै उनीहरुका तीन सन्तान भए। २ छोरी १ छोरा। सन्तान हुर्काउँदै टीकाले विहेपछि करिब ५ वर्ष उनको धागो नै कातिन्। जीवनको करिब १५ वर्ष उनले चर्खा चलाइन्। त्यही चर्खाको कमाइमा रमाइन्।
श्रीमान् गाउँ र काठमाडौं गरिरहन्थे। गार्मेन्टको काम त छँदै थियो। रोहितले पनि १४ वर्ष भन्दा बढी गार्मेन्टमा बिताए।
घर–परिवारसँग नजिक भइरहन रुचाउने रोहित घरका माइला छोरा थिए। टीका कट्टेल परिवारकी माइली बुहारी। तर उनलाई सोलु गएर बस्ने मन भएन।
आफ्नै पौरखले केही गर्नुपर्छ टीकाको मनमा मावलीले यही कुरा सिकाएको थियो।
उनी उन कातेर नै बसिरहिन्। तर धेरै समयसम्म एउटै पेसा गर्दा पनि आर्थिक छलाङ मार्न नसकेकोमा उनलाई पिर थियो। रोहितले टीकाको कुरा बुझेर आफैंले काम गर्ने गार्मेन्टमा श्रीमतीलाई सहकर्मी बनाए।
तर, माओवादी द्वन्द्वका कारण बानेश्वरस्थित टीकादम्पतीको कार्यस्थान सदाको लागि बन्द हुन पुग्यो। गार्मेन्ट बन्द हुँदा विविध सेवा–सुविधा जोडेर तीन लाख रुपैयाँ उनीहरुले हात पारे।
जोगाएर राखेको केही रकम पनि थियो। उनीहरुले कपनमा ५ आना जग्गा किने, ६० को दशकको सुरुवातमै।
सानो घर बनाए। पाँच जनाको परिवार सोही घरमा बस्न थाल्यो।
कोठे जीवनबाट पार त पाए तर रोजगारी नभएपछि आर्थिक समस्या त हुने नै भयो। विकल्प खोज्दै जाँदा टीकालाई काठमाडौं छाड्ने कि भन्ने सोच आयो।
नभन्दै उनले कपनको घर–जग्गा बेचिन्। सोही पैसाले मुड्खु, आठमानेमा पाँच आना जग्गा किनिन्। र, परिवारलाई बोकेर मकवानपुरको भीमफेदी गाउँपालिमा सोही घर बेचेर किनेको १५ रोपनी जग्गामा बस्न थालिन्।
'सानैमा मावलीमा बसियो। बाहिर–बाहिर डुलियो। खेती–किसानी र बस्तुभाउ पाल्ने काम मेरो लागि नौलो थियो,’ टीका भन्छिन्, ‘आँटेपछि के हुँदैन। अर्काले गरेको देखेर मैले खेती गर्न सिकें ४२ वर्षको उमेरमा।’
टीकाले १५ रोपनी जग्गामा ५० क्विन्टल अदुवाको बिउ समेत लगाइन्। तरकारी खेती गरिन्। खुसार्नी फलाइन्। बाख्रा पालिन्। गाई पालिन्। उनी शुद्ध किसान बनिन्। यो सिलसिला आठ वर्षसम्म जारी रह्यो।
‘मान्छेहरु मलाई यो किन बौलाको होला भन्थे,’ उनी भन्छिन्, ‘अर्कोको जागिर खाएर नोकर बन्नुभन्दा त आफ्नै बलले भ्याउने, दिमागले काम गर्ने काम गर्नुपर्छ भनेर खेतीको काम गरें।’
नभन्दै टीकाको आँटले सफलता पायो पनि। दुई छोरीको विहे खर्च तरकारी र अदुवाले दियो। छोराछोरी काठमाडौं पढ्न आए। उनले तरकारी, खुर्सानी र अदुवा बेचेर नै मुड्खुमा घर बनाइन्।
‘बच्चालाई कोठामा बस्दा समस्या हुन्छ भनेर घर बनाएँ। दुई छोरीको विहे गराएँ। अनि त काठमाडौंमा छोरो मात्र हुने भयो,’ टीका भन्छिन्, ‘एक्लै भएपछि भातै पकाएर खादैन। अनि छोरालाई साथी बस्न पनि आउनैपर्यो।’
अहिले टीकाको मकवानपुरको जग्गा भाडामा छ। उनी तीन वर्ष पहिले छोराको लागि भनेर काडमाडौं आइन्। उसो त धेरै वर्ष एकै माटोमा एकै बाली लगाउँदा राम्रो नहुने रहेछ, टीकाको अनुभवमा।
दुःखबाट छुटकारा पाउन सपरिवार काठमाडौं आएपछि टीकालाई झन् तनाव पर्न थाल्यो। खाली हात बस्न सकिनन्। आएको एक महिनासम्म के गर्ने भनेर पिरमा परिन्।
तर, उनले समाधान निकालिन्– एक मल्ला बाख्रो किनिन्। साथसाथै बत्ति कातिन्। बत्तिा बेचेर आम्दानी गर्न थालिन्। यसरी उनको डेढ वर्ष बित्यो। सोहीबीच कोरोना आयो।
कोरोनाले धेरैको रोजिरोटी गुम्यो। कोरोनाकालमा नै उनकी जेठी छोरीले छोरो पाइन्। विहे गरे पनि छोरीहरु टीकासँगै बस्छन् मुड्खुमा। तर घर–माइत भने गरिरहन्छन्।
‘ज्वाईं कोरिया हुनुहुन्छ। छोरी र हामी सँगै बस्छौं। दिनहुँ सानो नातिलाई दूध किनेर खुवाउनुपर्ने भयो। म यता काम नपाएर छटपटिइरहेको थिएँ,’ उनी भन्छिन्, ‘आफैं केही गरौं भन्ने थियो। छोरीसँग गाई पाल्न सल्लाह गरें।’
सुरुवातमा आफ्नै परिवारको लागि गाई मात्र पाल्ने योजनामा टीकाले मोडिफाइ गरिन्। बजार बुझिन्। टोल–छिमेकले पनि दूध किन्छन्। गाईको भन्दा भैंसीको दूध बढी माग छ।
श्रीमानसँग सल्लाह गरेर मकवानपुरबाट दुई भैंसी ल्याइन्। त्यतिन्जेल एक मल्ला बाख्रा तीन मल्ला पुगिसकेको थियो।
बस्तु पाल्न त चरन चाहियो। काठमाडौंमा चरन धेरै छैन। उनले यसो विचार गरिन्। रंगशाला छेउ त चराउन मिल्छ। रंगशाला छेउ मकवानपुरमा तरकारी फलाउँदै गर्दा जग्गा किनिसकेकी रहिछन् टीकाले। सोही जग्गामा गोठ हालिन्। छरछिमेकलाई दूध बेचिन्। नातिलाई खुवाउन पनि भयो।
‘अरुका व्यापार बन्द भए पनि मेरो पशुपालनको व्यपार कोरोनाले पनि हल्लाउन सकेन, उनी भन्छिन्, ‘तर आफ्नो बल–बुद्धिले भ्याउने काम गर्नुको आनन्द नै बेग्लै हुन्छ।’
०००
टीका आनन्द अन्दाजमा सुनाउँदै थिएन् आफ्नो कथा। एक्कासि धुम्म आकाश रुन थाल्यो। उनका दुई भैंसीको पछि–पछि कुदे दुई पाडा। पाडाको पछि कुदिन् टीका।
कात्तिक १, २०७८ सोमबार १८:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।