कान्तिपुर गाथा : दशैंमा विस्थापित राजाको घण्टी

कान्तिपुर गाथा : दशैंमा विस्थापित राजाको घण्टी

त्यो दशैं पनि दशैं, यो दशैं पनि दशैं! समय र सान्दर्भिकताको त तुलना गर्नै सकिँदैन। त्यो सफा कान्तिपुर, यो फोहोरको डुंगुरमाथि अडिएको देखिने कान्तिपुर।

उतिबेलाको समयमा शहर गहिरो चमकमा डुबेको हुन्थ्यो। अहिले फुंग रङ उडेको अर्ध्दानु र अँध्यारो घर जस्तो देखिन्छ शहर। दोबाटो चौबाटोमा दुर्गन्ध भरिएका छन्। शहरबाट फोहोर उठन सकेको छैन। 

उतिबेला घटस्थापनाको दिनदेखि दशैंको चहल–पहल बढ्थ्यो। चपल हुन्थ्यो समय। अहिले त मानिसहरु विजयादशमीको दिनमा, एक घण्टाअघिसम्म पनि, मार्केटिङ गरिरहेका भेटिन्छन्। खोई किन हो, मानिसले राम्रो खोज्न छाडे। सबैलाई राम्रो होइन, झिल्के चाहिएको छ। 

उतिबेला गृहस्थहरु सबै कुराको थान्को–मान्को गर्थे। शहर छेउका गाउँहरुमा घैया पाकिसकेको हुन्थ्यो। चिउरा कुटिसकिएको हुन्थ्यो। घैयाको चिउराको स्वाद नै फरक हुन्थ्यो। अहिले बजारमा ताइचिनको चिउरा पाइन्छ। अचेलका केटाकेटीले घैयाको त नामै सुनेका छैनन् होला। 

पन्ध्र दिने पार्वण श्राध्द पर्वको समाप्तिपछि समाजमा बेग्लै प्रकारको उत्साह फैलिन्थ्यो, दशैंको उत्साह। चाडबाडको रमाइलो। बिहान सखारै मानिसहरु शक्तिपीठहरुको दर्शनका लागि हिंड्थे। मालश्रीको मधुर धुन गुन्जिएको हुन्थ्यो, वातावरणमा।

त्यतिबेलाको दशैं दशैं नै थियो। यो दशैं पनि दशैं नै हो। पहिलेको दशैंमा मानिस–मानिसका बीचमा आत्मीयता हुन्थ्यो। अहिलेको दशैं साह्रै नक्कली छ, एकदमै कृत्रिम। बजार बजार जस्तो छैन, तमासा जस्तो छ। 

मानिसहरु विभिन्न डिजाइनका सस्ता वस्त्र परिधानको खरिददारीमा मस्त छन्। एउटा कपडाले एक मौसम धानिहाल्छ। हेर्दा चिटिक्क परेको, छाँट परेको कपडा किने त भैहाल्यो। लवाइ–खवाइको हिसाबले पनि अब भव्य रहेन दशैं। मानिसले चाडबाडको सांस्कृतिक महत्व बुझ्न छाडेका छन्।

अहिले सबै कुरा राजनीतिक भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेता खड्गप्रसाद शर्मा ओली, प्रचण्ड, माधव सबैका आ–आफ्नै एजेण्डा छन्।

अब त, विस्थापित भइसकेका राजाको दशैंको सन्देश समेत राजनीतिक भएको छ। उनी जनतालाई राजतन्त्र र प्रजातन्त्रको अर्थ सिकाउन थालेका छन्। उनका हजुरबुबा, बुबा र दाजुले पूरै ३९ वर्ष एकतन्त्री शासन गरे। त्यतिखेर प्रजातन्त्र र राजतन्त्र कता गएको थियो? अब अरु के भन्नु? सन्देश पनि कस्तो रुखो भने, त्यसमा जनताप्रति राजाको सहृदयता एकरत्ति सुनिँदैन। राजाको सन्देश सुन्दा यस्तो लाग्छ, उनलाई कसैको चिन्ता छैन। त्यसो त यी राजालाई राज्य फिर्ता चाहिएको पनि छैन। फिर्ता आए पो चाहिनु। 

उनको सन्देश फगत नियत समयमा बज्ने एउटा ‘रुटिन’ हो। त्यो हरिशयनी एकादशीमा पनि बज्छ, हरिबोधिनी एकादशीमा पनि घन्किन्छ। बाला चतुर्दशीमा पनि आउँछ। शिवरात्रिमा पनि आउँछ। नयाँ वर्षमा पनि आउँछ। दशैंमा पनि आउँछ। राजाले एउटा निश्चित समयमा सन्देशको घण्टी बजाउँछन्। त्यति भएपछि सकियो। उनी कान्तिपुर शहरको एउटा कुनामा आफ्नो उपस्थिति रहेको जनाउन चाहँन्छन्, ‘म पनि यहाँ छु!’

त्यसो त, नक्कलीको यो जमानामा यस्तो शंका पनि लाग्छ कि कतै राजाको नाममा जुन सन्देश आउँछ, त्यो सही सक्कली हो कि होइन? सन्देश राजाले आफैं पढेर सुनाउँदैनन्। लेखेको सन्देशलाई सामाजिक सन्जाल र समाचारपत्रहरुले फैलाउँछन्। आखिर त्यसरी प्रसारित सन्देशको आधिकारिकताको के भर हुन्छ र? राजा आफैंले आफ्नै स्वरमा जनताको नाममा सन्देश सुनाउने भए त्यसको विश्वसनीयता पनि हुन्थ्यो। जनताको मनमा राजाका प्रति र राजाका मनमा प्रजाका प्रति नयाँ सन्दर्भबाट स्नेह सम्बन्धको विकास पनि हुन्थ्यो। 

अहिले ‘राजा आउ देश बचाउ’ भन्ने नाराका साथ जो–जो चिच्याइरहेका छन्, तिनको पनि पोल खुल्ने थियो। विचरा राजा, उनको आफ्नै होटल र कारखानाहरु घाटामा चल्न थालेका छन्। सरकारले कर बढाएको बढाएकै गरेको छ। विद्युत प्राधिकरणलाई समयमा बिजुलीको महसुल नबुझाए उद्योगमा जुनसुकै बेला बिजुली सप्लाई बन्द होला र त्यसको मार कारखानामा पर्ला भन्ने डर छ।   

राजालाई लागेको होला, उत्तराञ्चलका जोगीहरुको संगत गरेपछि हिन्दु राज्य आफ्नो हातमा फर्किइहाल्छ। राजाले चाणक्य पढेका छैनन्। चाणक्य नीति राजाका सल्लाहकार र सचिवहरुले पनि पढेका छैनन् होला। त्यति ज्ञान भएको भए राज्य नास किन हुने थियो र? यी मानिस त साना छँदा राजा भएर गद्दीबाट हटाइएका, बुढो हुने बेलामा राज्य फेरि हात प¥यो। राजालाई राज्य कसरी सञ्चालन गर्नुपर्छ? त्यो पनि थाहा रहेन छ। उनका दाजुले नेपाली राजतन्त्रको ‘एक टुक्रा’ युग हाँकेका थिए। नेपाली राजतन्त्रका लागि त्यो नै अन्तिम युग सावित भयो। यी राजालाई जति–जति दिन बित्दै जान्छ त्यति–त्यति लाग्दोरहेछ, अब मैले आफ्नो भूमिका देखाउने दिन आयो। 

तर, के भूमिका देखाउने? हिंसा, द्वन्द्व 

द्वन्द्व, छल–कपट, झुठ र फरेवीले राजाकै पालामा तहसनहस हुन थालिसकेको देश राजाको विस्थापनपछिको समयमा जर्जर भइसकेको छ। राजनीतिका नाममा फैलिएको अनीतिको अन्त्यको कुनै सूत्र कतै देखिएको छैन। के राजाले यो अनीतिको अन्त्य गर्न सक्छन्?

उनी प्रचण्डले जस्तो जनयुध्दको नेतृत्व गर्न सक्दैनन्। ज्ञानेन्द्र हिजोका राजा भए पनि, जे भए पनि, उनको नामसँग अनेकन विकृति जोडिएका छन्। उहिले पञ्चायतकालमा नै ‘भूमिगत गिरोह’ का प्रमुखका रुपमा परिचित व्यक्ति हुन् उनी। 

यो सत्य हो, हाम्रो देशले विकास गर्न सकेको छैन भने त्यसको कारण यो देशको धन–दौलतमाथि कब्जा जमाएर बसेका भारदारहरुको वर्ग नै हो। अहिले राजाको नाममा, महाजनका नाममा, भारदारका नाममा, धनपतिका नाममा, पूँजीपतिका नाममा, सामन्तका नाममा हिंसाको लपेटमा अलिकति पनि धकेलिदिने काम जो कसैले पनि गर्यो भने देश तहसनहस हुन्छ। यो दुर्गतिका बारे नेपाली जनता सचेत भइसकेका छन्। देश यहाँका जनतालाई चाहिने हो। अरु त नयाँ देशमा निर्वासित भइहाल्छन्। जनता कहाँ जान्छ? 

आखिर राजा भनेको इतिहास हो। हो, इतिहासको विश्लेषण र विवेचना हुनुपर्छ। तर इतिहासले देश चल्दैन। इरानका सर्वाधिक बलिया तानाशाह मोहम्मद रेजा शाह पहलवी र अफगानिस्तानका राजा जहिर शाहलाई कसैले बिर्सिएका छैनन्।

नेपालका राजा साँच्चै देशभक्त हुन् भने राजा ज्ञानेन्द्रले नेपालका रुग्ण उद्योगमा जीवन भर्न आफ्नो पूँजीको लगानी गर्नुपर्छ। आधारभूत उद्योगमा लगानी गरेर देशको मुहार बदल्ने अभिलाषा राजा ज्ञानेन्द्रमा उत्पन्न भयो भने देश बन्न कतिबेर लाग्छ? 

त्यो अवस्थामा अहिले राजा ज्ञानेन्द्रको जयजयकार गर्ने भक्तजनहरुले प्रचुर काम पाउन सक्नेछन्। सरकार हटाउने र पार्टी फेल गराउने षडयन्त्रमा लाग्नुपर्ने छैन। यस्तो भयो भने, सरकारले पनि राजालाई सघाउनुपर्छ।

तर, यो त परिकल्पना मात्रै हो। राजा ज्ञानेन्द्रले आफ्नो सम्पत्तिको प्रयोग देश विकासमा गरे भने यहाँका नीति–निर्माता र कर्मचारीहरु के गर्लान्? उनीहरुको नियमित हुने उपरी आम्दानीको के होला?

हो, समस्या थुप्रै खडा हुनेछन्। यो बाहेक राजाका उद्योगहरुले कर चोरी गर्न लागे भने के गर्ने? यो अर्को समस्या हुनेछ। देशका पत्रकारहरुलाई कति ठूलो समस्या। राजाको कम्पनीले कर छलेको समाचार छाप्नु कि लुकाउनु? 

असोज ३०, २०७८ शनिबार १८:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।