चौथो अंगमा अनिता विन्दु : समाचार वाचकमा ‘न्युज सेन्स’ हुनैपर्छ
म २०५४ सालमा रेडियोमा काम गर्थें। त्यतिबेला समाचार बाहेकका कार्यक्रममा मेरो प्रस्तुति हुन्थ्यो। मैले नाटकमा धेरै काम गरेँ।
समाचार भन्नुपर्दा स्वर परीक्षण गरिन्थ्यो। कुनै कार्यक्रममा महिला आवाज राख्न परेपछि मेरो स्वर परीक्षण भयो। स्वर परीक्षण गर्दा एक पाना संस्कृत, केही नेपाली समाचार तथा अन्तर्राष्ट्रिय समाचार पढ्नुपर्थ्यो। उच्चारण शुद्ध हुनुपर्थ्यो।
स्वर परीक्षणमा संलग्न त भएँ तर मलाई तालिम आवश्यक परेको अनुभव भयो। सुमन सरको स्मारिका तालिम केन्द्रमा तालिम लिने अवसर पाएँ। दुर्गानाथ शर्मा, रविन शर्माले तालिम दिनुभयो।
उच्चारण शुद्ध त अनिवार्य शर्त नै भइहाल्यो। आरोह–अवरोह, दु्रत–सुस्तमा ध्यान दिनुपर्छ बोल्दा। तत्सम, तत्भव शब्द श, स र ष बोल्दा, उद्गार चिह्न, पूर्णबिरामपछि कति ग्याप राख्ने भन्ने कुरामा ध्यान दिनुपर्छ। यो एक प्रकारको कला हो। ग्ल्यामर हो बोल्ने कुरा।
जस्तोसुकै समाचारलाई पनि सोही अनुसार प्रस्तुति दिनसक्नु कला हो समाचार वाचकको। त्यतिबेला मैले रिपोर्टिङ पनि गरेँ। घरमा क्यासेट थियो। त्यतिबेलाका गोरखापत्र कान्तिपुर पढ्थेँ र आफ्नो रेकर्ड सुन्थें। यसले मलाई धेरै सहयोग गर्यो।
सिएनएन र भारतीय च्यानलहरु हेर्थें। उनीहरुले बडी कसरी मुभ गर्छन्, कुन समाचार कसरी पढ्छन् मिहिन तरिकाले हेर्थें। हाम्रोमा टेलिभिजनमा पहिले शरीर कत्ति पनि चलाउन हुँदैनथ्यो तर उनीहरु भने एकदमै सहज तरिकाले बस्थे। विस्तारै यता पनि परिर्वतन भएको छ।
समाचार वाचकमा ‘न्युज सेन्स’ हुनुपर्छ। लाइभ बोल्दा क्राइसिस म्यानेजमेन्ट गर्ने क्षमता हुनुपर्छ। हाम्रा कार्यक्रमहरु तोकिएको समयमा सुरुआत हुँदैनन्। यस्ता अवस्थामासन्तुलन मिलाउन सक्नुपर्छ। सेड्युलमा भएको समाचार आएन भने पनि मिलाउन सक्नुपर्छ। समाचार वाचक पत्रकार हो। पत्रकारले सबै समाचारको हेक्का त राख्नै पर्यो।
समाचार वाचकलाई पत्रकार मान्दैनथे
अहिले समाचार वाचक समाचार वाचन गर्ने मात्र होइन, अन्तर्राष्ट्रिय समाचार अनुवाद गर्ने, नेपाली समाचार सम्पादन गर्ने, रिपोर्टिङ गर्ने पनि हो। टिभीमा समाचार पढ्ने भनेको चिटिक्क पर्ने, अनुहार राम्रो बनाउने, कपाल मिलाउने र अरुले लेखिदिएको समाचार पढ्ने त होनि भन्ने थियो। समाचारको पृष्ठभूमि के हो भन्ने कुरा कमैलाई थाहा हुन्थ्यो।
समाचार पढ्दा पढ्दै कति बेला त भर्खरै लेखिएको समाचार पनि पढ्नुपर्ने हुन्थ्यो। पहिले सूचना नआएका समाचार पढ्दा दकस त हुन्थ्यो तर यसलाई सहजताका साथ प्रस्तुत गर्नु समाचार वाचकको क्षमताको कुरा हुन्थ्यो। समाचार वाचक विश्लेषक पनि हो। लाइभमा बोल्नुपर्छ, त्यसरी बोल्दा कुन घटना, किन, के कारणले घटेको हो भन्नेदेखि गेस्टलाईसम्म बोलाएर काम गर्नुपर्छ। त्यसकारण समाचार वाचक समाचार विश्लेषक पनि हो।
पहिले–पहिले समाचार वाचकलाई पत्रकार नै मान्दैनथे। केही वर्षअघि म यस्तै छलफलमा गएकी थिएँ। मिडियाकै बारे कुराकानी थियो। एक जनाले भन्नुभयो, समाचार वाचक पत्रकार होइनन्। त्यतिबेला मलाई चसक्क लागेको थियो।
अहिले त्यो अवस्था रहेन। समाचार वाचकले समाचार वाचन मात्रै गर्दैन, रिपोर्टिङदेखि सम्पादनसम्म गरिरहेको हुन्छ। न्युज प्रिजेन्टर हुनु भनेको समाचार विश्लेषक हुनु पनि हो।
म छोटो दूरीको यात्रा गर्दा पनि एफएम सुन्छु। बोलाइमा शुद्धाशुद्धीपन देख्दिनँ। आरोह–अवरोहमा ध्यान दिएको देखिँदैन। पूर्णबिराम, उद्गार चिह्न, प्रश्नवाचक चिह्नमा पनि ध्यान दिएको देखिँदैन। हाम्रो र हिन्दी लिपी उस्तैउस्तै छ, कतिपय शब्दहरु मिल्छन् पनि तर उच्चारण गर्दा फरक हुन्छ। यसमा ध्यान दिएको देखिँदैन।
कम्तीमा पनि व्याकरण त जान्नैपर्छ समाचार वाचकले। कति समाचार वाचकलाई व्याकरण आउँछ, त्यो त समाचार सुन्दै थाहा हुन्छ। साँच्चै भन्दा हिजोआज रेडियो र टेलिभिजनमा उच्चारण नमिलाएको देख्दा लाज लाग्छ।
पावरमा जागिर खान्छन्, कसरी शुद्ध बोल्नु?
पहिले-पहिले गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनमा छापिने, वाचन हुने शब्दहरु शुद्ध हुन्थे। तिनै थिए मानक। पहिले हामीले समाचार पढ्दा यो दिन राम्रो भयो, यो दिन भएनदेखि यो शब्द शुद्ध, यो शब्द अशुद्ध भयो भनेर पहिल्याइदिने अग्रज हुनुहुन्थ्यो। अहिले त्यो छैन। शक्तिको दुरुपयोग गरेर जागिर खान्छन् अनि कसरी शुद्ध हुन्छ? कसरी आओस् व्याकरण? धेरै भद्रगोल छ समाचार वाचनमा।
काम हेरिनुपर्ने हो, क्षमता हेरिनुपर्ने हो तर यो देखिएन। मर्यादा, अनुशासनको कमी भएको छ यहाँ। अग्रजले भनिदिँदा पनि राम्रो मान्दैनन्। गल्ती पहिल्याइदिनेले पनि उत्सुकता देखाएको पाइँदैन।
सम्पादकलाई पनि तालिम आवश्यक छ
पत्रकार प्रविधिमैत्री हुन आवश्यक छ। न्युज प्रिजेन्टर होस् या अरु, अध्ययनशील त हुनैप¥यो। सम्पादक हुँ किन चाहिन्छ तालिम भन्ने पनि देखिन्छ तर सम्पादकलाई पनि तालिमको आवश्यकता देख्छु म। प्रविधि र विषयवस्तु पस्किने तरिका दिनहुँ परिर्वतन भइरहेका हुन्छन्। त्यसका लागि पनि तालिमको आवश्यकता छ।
आफ्नो मिडियामा काम गर्ने समाचार वाचकलाई तालिम दिनुपर्छ तर हाम्रो मिडियामा प्रवेश हुने वित्तिक्कै होस् या काम गर्दै गरेको अवस्थामा, तालिम दिने चलन नै छैन। जसले गर्दा जति प्रभावकारी हुनुपर्ने हो त्यति भएको देखिँदैन।
मिडिया वा अन्य धेरै ठाउँमा, नेतृत्वमा महिला पुगेका छैनन्। समाचार सम्पादक, चिफ रिपोर्टर एकदमै कम छन्। महिला पत्रकार नेतृत्व तहमा नपुग्नुको कारण बीचैमा जागिर छोड्नु पनि हो। मिडिया क्षेत्रको आम्दानी र काम गर्ने समय निश्चित नहुँदा महिलाहरु बीचैमा जागिर छाड्न पुग्छन्। अब भने त्यो समस्या नरहला कि भन्ने आशा छ।
दुर्व्यवहारका तरिका फरक छन्
म पत्रकार महासंघको उपाध्यक्ष थिएँ। त्यतिबेला एउटा टेलिभिजनमा काम गर्ने महिलालाई गर्भवती भएकाले समाचार वाचन नगराउने भन्दै कामबाट निकालियो। यो एक प्रकारको हिंसा हो। पछि जागिरमा आउन त भनियो तर उहाँ जानुभएन।
अझै पनि प्राकृतिक कुरालाई लिएर जागिरबाट निकाल्ने काम भइरहेको छ। महिलाको विषयमा यस्तो ज्यान हुनुपर्छ, उस्तो हुनुपर्छ भन्नु पनि हिंसा नै हो। त्यसकारण मिडियामा काम गर्ने सिनियरहरुले जेण्डरकै कारण हुने फरकपनलाई स्वीकार्नुपर्छ र जेण्डरकै कारण विभेद गर्न हुँदैन।
एउटा अनुसन्धानले समाचार वाचक अथवा महिला पत्रकारको तलब थोरै हुन्छ भन्ने पुष्टि गरेको थियो। सरकारीमा त्यस्तो छैन। निजीमा पनि अहिले नहोला तर समाचार वाचन गर्ने महिलाको तलब उपत्यका बाहिर निकै थोरै छ।
काम गर्दै जाँदा अवसरसँगै बाधा–अड्चन पनि आउँछन्। हाम्रा समाचार कक्षमा सम्पादक, रिपोर्टर, समाचार वाचकमा समस्या नभएको होइन छ तर सँगै अवसर पनि छन्। समाचार वाचन गर्नेले आफूमा त्यही प्रकारको क्षमता बढाउँदै लगे भने अवसर देख्छु म।
चौथो अंगका पुराना श्रृंखला
(नेपाल पत्रकार महासंघकी पूर्वउपाध्यक्ष, नेपाल टेलिभिजिनकी समाचार सम्पादक विन्दुसँग उकेराको चौथो अंग कोलमका लागि प्रजु पन्तले गरेको कुराकानी।)
असोज २६, २०७८ मंगलबार १४:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।