विधान महाधिवेशनको ब्यङग्य : जेलैमा हो जेलैमा, चरी जेलैमा, घनश्यामले बुद्धि पुर्‍याए धन्न बेलैमा

विधान महाधिवेशनको ब्यङग्य : जेलैमा हो जेलैमा, चरी जेलैमा, घनश्यामले बुद्धि पुर्‍याए धन्न बेलैमा
तस्बिर : कृष्पा श्रेष्ठ।

ललितपुर : एमालेको विधान महाधिवेशनमा माधव नेपाल समूह छाडेर फर्किएका १० नेताका लागि त्यति सहज वातावरण देखिएन। कार्यकर्तामाझ हुने चर्चादेखि कार्यक्रममा रमाइलोका लागि राखिएको प्रहसनसम्म उनीहरूलाई छेडखानीमै केन्द्रित भए।

१० नेतामध्ये मञ्चमा रहेकाहरूको भाव नियाँउरो थियो। भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट हँसिलो मुहार देख्न पाएनन् विधान महाधिवेशनका प्रतिनिधीहरुले।

नेकपा एकीकृत समाजवादी गठन गरेका माधव नेपालविरुद्ध त पार्टी अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनमै प्रशस्त गाली गरिएकै छ। अन्तिम समयमा नेपाललाई छाडेर एमालेमा फर्किएकाहरूलाई  घोचपेच गर्न कार्यकर्तादेखी  कलाकारसम्म पछि परेनन्।

एमाले अध्यक्ष ओलीको प्रतिवेदनमा नेकपा (एमाले) बाट केही व्यक्ति बाहिरिएको उल्लेखसँगै उनीहरूले सङ्गठनात्मक अराजकता, पदलोलुपता र फुटलाई प्रश्रय दिइरहेको आरोप छ।

महाधिवेशनमा नेपालको साथ छाडेर आएका नेताहरूको भूमिका खुम्च्याइएको छ नै। कार्यक्रममा प्रस्तुत गरिएको  प्रहसनमा समेत उनीहरूलाई घोचपेच गर्ने र ओलीको महिमा गान केन्द्रित थियो। 

अध्यक्ष ‌ओलीले प्रतिवेदन पढ्दै गर्दा खोकीका कारण उनले पढ्न नसकेको प्रतिवेदन नेता शङ्कर पोखरेलले पढेर सक्काएका थिए। राजनीतिक प्रतिवेदनको वाचन सकिएपछि खाजा ब्रेक अगाडि प्रहसनका लागि प्रदीप ज्ञवालीले मञ्चमा बोलाएका कलाकार पुरुषोत्तम भण्डारी अर्थात खुर्पिको बालाई। उनी एमाले निकट कलाकार संघको सदस्य हुन्। उनले प्रहसनमा अध्यक्ष ओलीको महिमा गान गर्दै नेपाल समूह छाडेर आएका १० जना नेतालाई ब्यङग्य कसे। 

उनले मञ्चमा आउँदाआउँदै माधव नेपाललाई तारो बनाउँदै प्यारोडी गाए' निरा जहिले रिसाउने, निरा जहिले रिसाउने, एमालेलाई नसकेर काँग्रेसले माधव नेपाल मिसाउने। ताली बज्यो। प्रतिनिधी गलल हाँसे। उनी हौसिँदै गाउन थाले ' घाम जस्तो उज्यालो जुन हुँदैन, जति रुन परे नि रामकुमारीसँग रोऊँ माधव, एमालेले देख्ने गरी रुनु हुँदैन।'

एमालेको गाथा गाउँदै प्रहसनलाई अगाडि बढाउँदै जाँदा उनले देखे घनश्यामलाई। उनले मोबाइल चलाइरहेका थिए। घनश्याम कमरेड मोबाइल चलाउँदै हुनुहुँदो रहेछ भन्दै उनले उहाँका लागि नि गीत बनाएको छु भन्दै भने' जेलैमा हो जेलैमा, चरी जेलैमा, घनश्यामले बुद्धि पुर्याए धन्न बेलैमा।' घनश्यामको मर्ममै हाने पनि उनी हाँसीरहेका थिए।

उनको प्यारोडी सुनेर विधान महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधीहरुमाझ हाँसोको फोहोरा छुटेको थियो। उनले बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई पनि तारो बनाउँदै भने' अष्टजी पनि हाँस्नु भो, तर मास्क लगाएर  हाँसेको देखिएन।'

पार्टीमा विवाद बढ्दा प्रारम्भदेखि नै ओलीको पक्षमा उभिएका नेताहरुको मुहार भने बढो खुलेको थियो। उनीहरु कार्यकर्तामाझ हसिलो अनुहारका साथ देखिन्थे। 

असोज १५, २०७८ शुक्रबार १७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।