हिजोका कुराः आफ्नै चित्र अरूका नाममा छापिएपछि सबै किताब उठाए
बनेपाको चण्डेश्वरी मन्दिरमा भैरवको भित्ते चित्र छ। त्यो चित्र लोक चित्रकारका पुर्खाहरूले बनाएका हुन्। त्यो वंश, अहिले पनि भक्तपुरमा नवदुर्गाको मुखुण्डाे बनाउने काम गरिरहेको छ।
लोक चित्रकारको पुर्ख्याैली थलो त भक्तपुर नै हो। तर उनी भने काठमाडौं इतुम्बहाल ताहानःनीमा जन्मिए। उनको परिवार चित्रकलाको काम गर्ने क्रममै काठमाडौं बसाइँ सरेको थियो।
त्यो बेला चित्रकारको काम भनेकै चित्र कोर्नु, घरघरमा रंग लगाउनु थियो। उनका बुबा घरघरमा गएर भित्ताहरू रंगाउथे। उनको घरमा नाग पञ्चमीको लागि नागको चित्र कोर्ने, रंग भर्ने, जनै खटिरा आउँदा सिंहको चित्र टाँस्नको लागि सिंहको चित्र बनाउने जस्ता काम गरिन्थ्यो।
उनी पनि ५÷६ वर्षकै हुँदा पुर्खाको काममा सघाउन सक्ने भइसकेका थिए। उनी नेवारी संस्कृति इहिं, व्रतवन्ध र जंकूमा चाहिने माटाका भाँडा तथा कलशहरूमा चित्र कोर्थे। उनी बुवाको पछिपछि लागेर घरको ढोकामा पनि चित्र कोर्न जान्थे। जसलाई नेवारीमा लुःखः दुवा लेख्ने भनिन्थ्यो। जुन घरको पूजा, विवाह, व्रतवन्ध आदिमा बढी लेखिने गरिन्छ।
लाेकका पहिलेका चित्रहरू जीवन निर्वाह गर्नका लागि हुन्थे। तर अहिले यो उनको कलाकारिता देखाउने माध्यम भएको छ। जापानको खान्जुइकी मण्डला म्युजियममा लाेकका १५० वटा चित्रको कलेक्सन छ। त्यस्तै जापानकै फुकुओखा म्युजियम, फिनल्याण्ड, रुस र पाकिस्तानको म्युजियममा पनि उनका चित्रहरूको कलेक्सन छ।
तर उनको यात्रा सजिलै यहाँसम्म आएको होइन।
चित्र बनाएर कमाएको ५ पैसाले कपी कलमको जोहो
लोकको परिवार गरिब थियो। उनले २ कक्षादेखि मात्रै विद्यालय गएर पढ्न पाए। त्यो पनि गरिब तथा जेहेन्दार छात्रवृत्तिवाट।
एकपटक शान्ति निकेतन स्कुलका प्रधानाध्यापकको घर रंगाउने क्रममा छोराले पैसाको अभावले पढ्न नपाएको गुनासो गरेपछि ती प्रधानाध्यापकले नै लोकलाई पढाइको चाँजो मिलाइ दिएका रहेछन्।
स्कुलमा पनि उनको कलाकारिताबाट सबै दंग पर्थे। विद्यालय छुट्टी भएपछि साथीहरू उनलाई चित्र कोर्न लगाउँथे। त्यसबापत उनी प्रति चित्र ५ पैसा पाउँथे। त्यो ५/५ पैसाबाटै उनले कपी र कलमको व्यवस्था गर्थे।
स्कुल जानुअघि र फर्केपछि उनी यट्खा टोलमा कलाकार चिनियालाल चित्रकारको काम हेर्न पुग्थे। फलामे रेलिङ्गमा चिउँडो राखेर घण्टौँ उनी चित्र हेरेर बस्थे। चिनियालाल मूलतः ल्याण्डस्केप र यथार्थपरक चित्रहरू बनाउँथे।
जब सारा स्केच बग्यो नदीमा
उनी ५÷६ कक्षामा पढ्दा कपीको कभरमा विभिन्न देवीदेवताको चित्र देख्थे। मयुरको चित्र भएको कपीे ७ पैसामा पाइन्थ्यो भने लक्ष्मी, सरस्वतीको चित्र भएको महंगो हुन्थ्यो। त्यही चित्र हेरेर पनि उनले धेरै चित्रहरू कोरे।
त्यसबेला उनको घरमा माघ महिनाभरी स्वस्थानी कथा पढिन्थ्यो। तर पछि कथा भन्न छाडेपछि उनको आमाले स्वस्थानीको किताब नदीमा बगाइदिनु भएछ। त्यसैबेला चित्रको नोटबुक पनि सँगै बगाइदिनु भएछ। त्यसमा लोकले बनाएको स्केचको कलेक्सन थियो। उनको सारा सम्पत्ति नै बग्यो।
यता आमाले भने देवीदेवताका किताब घरमै राख्दा खुट्टाले कुल्चिइन्छ भनेर बगाएकी रहिछिन्।
१२ वर्ष लगाएर बनाए १०८ लोकेश्वरको चित्र
उनी आमाको पछि लागेर जनबहालमा पूजा गर्ने जान्थे। त्यहाँ मन्दिरका तोरणमा रहेको चित्रहरू ट्वाल्ल परेर हेरिरहन्थे। आफूले पनि त्यस्तै कलाकृतिहरू बनाउने सपना बुन्थे। घरमा आएर कपीमा उतार्थे। यो उनको दिनचर्या थियो।
त्यही समयतिरै उनले कुनै दिन लोकेश्वरको चित्र बनाउँछु भन्ने अठोट लिए। त्यो बाल्यकालको अठोट सन् २००२ देखि उनले कार्यान्वयन गर्न थाले। १२ वर्ष लाग्यो। र तयार भयो– १०८ लोकेश्वरको चित्र।
उनले ती प्रत्येक चित्र ए थ्री साइजमा बनाएका थिए। जुन अहिले जापानको खान्जुइकी मण्डला म्युजियममा संग्रहित छन्। यस म्युजियममा उनको १५० वटा पौभा चित्रहरू संग्रहित छ।
लङ्गुरबुर्जा बेचेर फ्लेम पेन किन्ने रहर
उनीहरू बस्ने क्षेत्रमा महर्जन समुदायको बाहुल्यता थियो। नरदेवीको अष्टमात्रिका नाच्ने समूह पनि उनकै टोलबासीहरू थिए। पुलुकिसी गुठीका सदस्यहरू पनि त्यहीँ बस्थे। उनका घरबेटी पनि गःप्याःखःमा नाच्ने। उनले बाल्यकालबाटै देवीदेवता, जात्रा, संस्कृतिलाई नजिकबाट नियाल्ने मौका पाए।
दशैं त उनका लागि कमाउने उत्सव नै थियो। ३० पैसामा कागज किनेर चित्रहरू कोरेर ९० पैसामा लंगुरबर्जाको बोर्ड बेच्थे। हरेक दशैंमा उनले १२÷१३ वटा बोर्ड बेच्थे। लोकलाई फ्लेम पेन किन्ने ठूलो रहर थियो। उनले लंगुरबुर्जाको बोर्डे बेचेरै फ्लेम पेन पनि किने। जसमा २ पैसामा चक्की मसि भिजाएर पेनमा भिजाइ लेख्ने गर्दथे।
चित्र बनाउनको लागि रंग र ब्रस भने परिवारकै काम भएकोले उनको पहुँचमै थियो।
बुवा बितेपछि पहिलो जागिर
लोकको परिवारमा बुवाले नै सबै धान्दै आएका थिए। तर लोक ११÷१२ वर्षको हुँदा उनका बुबाको देहान्त भयो। लोकको परिवारमा ठूलै बज्रपात पर्यो। बुवाको ४५ दिनको काम सकेपछि उनका ठूलो बुवाका छोरा सुर्यबहादुर चित्रकारले पाटनमा चित्र कोर्ने ठाउँमा जागिरको व्यवस्था मिलाइ दिए।
त्यहाँ तल चित्रको पसल र माथि स्टुडियो थियो। त्यहाँ उनले पौभा चित्रहरू बनाउन थाले। धेरै कलाकारहरू जागिरे थिए। १२ वर्षको उमेरमा उनले मासिक ३५० रुपैंया कमाउथे। पछि उनले झोंछेंमा हिमालयन आर्ट एण्ड ह्याण्डीक्राफ्टमा काम गर्न थाले।
त्यहाँ काम गर्दागर्दे उनले घरमा चित्रहरू बनाएर पसल पसलमा बेच्न थाले। पछि पैसा उठाउन गाह्रो हुन थालेपछि उनले पसल पसल गएर बेच्न बन्द गरे। त्यसबीच उनका चित्रहरू अर्का पौभा चित्रकारले सस्तोमा किन्थे। अनि महंगोमा अरूलाई बेच्थे।
जति थियो, कमाइको स्रोत उनको चित्रकारीता नै थियो।
उपहारमा पाएको किताबमा जब आफ्नै चित्र देखे
उनी पाटन ढोकामा काम गर्न थालेपछि उनका केही विदेशी फ्यानहरू बने। ‘मेरो चित्र, कामहरू रुचाउने एकजना अमेरिकनले मलाई ‘गड अफ नेपाल’ नामको पुस्तक उपहारमा दिए। भित्र पल्टाउदैँ जाँदा त मेरा चित्र मैसँग सस्तोमा किनेर लाने कलाकार साथीले आफ्नो नाममा छापेको रहेछ’, उनले भने, ‘त्यसपछि नेपालमा भएको सबै पुस्तकहरू पसलबाट उठाएँ। यो घटना मेरो जीवनकै साह्रै मन दुखेको घटना मध्ये एक हो।’
टर्निङ प्वाइन्ट
कुम्भेश्वर टोलमा युनेस्को क्लबले राखेको स्टलहरूमा उनले पनि चित्रहरू राखेका थिए। एक जना डेनिस फोटोग्राफरले उनको २ वटा चित्र किने र अरू पनि अर्डर गरे। त्यही दौरानमा उनले चित्रहरू बोकेर जापानमा प्रर्दशनीमा जाने मौका पाए।
सन् १९९० मा उनले जापानमा पहिलो एकल चित्रकला प्रर्दशनी गरे। उनी यसलाई जीवनको ‘टर्निङ प्वाइन्ट’ मान्छन्। लोक जापानको आर्टबाट यति प्रभावित भए कि उनले जापनिज भाषा सिकेर २ वर्ष जापनिज आर्ट र बौद्घमार्गी चित्रकलाको अध्ययन गरे।
त्यहीँबाट उनले ठूला ठूला चित्रहरू कोर्न थाले। उनले जापानमै ४ वटा ठूला जापानी पौभा चित्र पनि बनाए।
नेपालमा फर्केपछि भने उनले पैसाको लागि चित्र बनाउन बन्द गरे। उनी आत्मसन्तुष्टिका लागि चित्रहरू कोर्ने थाले। त्यसपछि त कमाइ पनि झन् झन् राम्रो हुन थालेको उनको अनुभव छ।
उनले त्यसबेला महसुस गरे पैसाकै लागि कोरिएको चित्रमा भाव कम हुन्छ।
गरिबीको त्यो झापड
लोकलाई एकपटक गरिबीले निकै नमज्जाले झापड हान्यो। २०४२ सालतिर उनले ४ दिन, ४ रात भोक, निन्द्रा केही नभनी एउटा चित्र तयार पारे। राष्ट्रिय कला प्रदर्शनीमा उनले त्यस चित्रलाई प्रतिस्पर्धामा उतारे।
त्यहाँ उनले सान्त्वना पुरस्कार पाएका थिए। त्यो चित्रसँग उनको भावनात्मक सम्बन्ध थियो। तर जब खान लाउनै समस्या पर्यो, उनले त्यो चित्र ३ हजारमा बेचे। त्यसदिन गरिबीले हानेको झापडलाई उनले आज पर्यान्त प्रेरणाको स्रोतको रूपमा लिएका छन्।
आमाको हेरचाह गर्दा बनाएको चित्र
इतुम्बहालमा रहेको केशचन्द्र महाविहारमा ३ वटा ठूला ठूला चित्रहरू छन्। ती चोरीसँग जोडिएको छ। लोक सानोमा सधैँ त्यही चित्र हेर्न पुग्थे। ती मध्ये एउटा चित्र चिन्तामणी लोकेश्वरको पनि थियो।
त्यसैबाट प्रभावित भएर उनले चिन्तामणी लोकेश्वरको चित्र बनाए। उनकी आमालाई अल्जाइमरले थला पारेपछि आमाको हेरचाह गर्र्ने क्रममा सो चित्र तयार पारेका हुन्। १० वर्ष लाग्यो त्यो बन्न। आमाको सन्दर्भ जोडिने यो चित्रसँग पनि उनको भावनात्मक सम्बन्ध छ।
शास्त्रीय कला
पौभा चित्र शास्त्रीय कला भएकोले शास्त्रसम्मत् हुनुपर्छ। त्यसमा पनि उनी क्यानभाषदेखि रंगसम्म आफैँ बनाउने। उनी पत्थर र वनस्पतीबाट प्राप्त रंगहरूको प्रयोगवाट प्राचिन ढंगले आफ्ना चित्रकलाहरू तयार पार्छन्।
पौभा चित्रका लागि अध्धयन निकै जरुरी हन्छ। लोकले आफूले बेचेका चित्रहरूबाट कमाएको पैसाले किताबहरू किन्दै गए। अध्ययन गर्दै गए। कति किताबहरू आफ्नो चित्रसँग साटेर पनि लिएका छन्।
लोक सानैदेखि किताब प्रेमी थिए। ५÷६ वर्षको उमेरमा धम्मावत्ती गुरुमाको विहारमा पढ्न जाँदा त्यहाँ सबैलाई किताब वितरण गरिँदै थियो। लोक सानै थिए। उनलाई भने किताब दिइएन। तर उनले मागेरै किताब लिए। यो नै उनको किताब कलेक्सनमा पहिलो किताबको रूपमा रह्यो। अहिले उनीसँग धर्म र चित्रसम्बन्धी लाइबे्ररी खोल्नको लागि किताबहरूको कलेक्सन छ।
अहिलेका कलाकारमा सिक्ने चाह कम छ
लोक अझै विद्यार्थी हुन्। उनी एक्नोग्राफीको कक्षा लिइरहेका छन्।
उनले पाटनको गोल्डेन टेम्पलमा १२ फिटको अमिताभ र अक्षयोभे वाल पेन्टिङ्ग पनि गरेका छन्। केही समयअघि उनको टोलीले पाटनढोकामा अस्टमात्रिकाको चित्रहरू तयार पारेका थिए। अहिले उनी शताब्दी पुरुष सत्यमोहन जोशीको घरको एउटा तल्लामा वाल पेन्टिङ्ग गर्दै छन्।
शताब्दी पुरुषको घरलाई लोक साहित्य परिषद्ले संरक्षण गर्ने भएकाले उनले यो जिम्मा पाएका हुन्।
चित्रकारितामै जीवन होमेका लोक कलाको भावनात्मक सम्बन्ध हराउँदै गएकोमा दुःखी छन्। अभाव र सिक्ने चाहले पहिलेका कलाकारहरूमा निखारपन ल्याए पनि अहिलेको पुस्तामा कम हुँदै गएको उनको गुनासो छ।
कुनै पनि क्षेत्रमा निरन्तरता, अध्ययन र कौतुहलताविना दक्ष नभइने उनको अनुभव छ। उनको पालामा चित्रको बजार सानो थियो। अहिले विश्वव्यापी भएको छ। अहिले चित्रकारलाई हेर्न दृष्टिकोणमा पनि परिवर्तन आएकोमा उनी निकै खुसी छन्।
यद्यपि उनी चिन्तित छन्। कला, श्रृजना र देशको भविष्यप्रति।
थप हिजोका कुरा
असोज ७, २०७८ बिहीबार १८:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।