मोहन जसले कीर्तिपुरका तीन शहीदकाे शव लुकाए
ज्याठा नजिकै क्वाबहालमा जङ्गबहादुर राणाको दरबार थियो। त्यहाँ बस्ती पनि थियो– देउला पुजारीहरूको। ती पुजारीहरू जीविका चलाउन माछा मार्थे। माछाको सुकुटी बनाउँथे। सिद्रा बनाउँथे।
जङ्गबहादुरलाई यही चित्त बुझेन। माछा सुकाउनाले आफ्नो दरबारमा ‘झिँगा’ आएको भन्दै ती पुजारीहरूको बस्ती नै स्थानान्तरण गरिदिए। विष्णुमतीको किनारमा पठाए।
देउला पुजारीहरूको थातथलो राणाको भयो। यद्यपि, देउलाका कूल देवता भने सोही स्थानमा छन्।
जङ्गबहादुरले उनीहरूलाई यति सजिलै ‘हेप्न’ सक्नुमा पनि एउटा कारण थियो– उनीहरू ‘अछुत’ थिए। उनीहरू मल्लकालमा जात व्यवस्था लागू गरिएपछि अछुत भएका थिए।
तन्त्र साधनामा माहिर ती पुजारीहरू मन्दिरभित्र पूजा गर्थे, तर मन्दिरबाहिर अछुत थिए।
मल्लकालबाटै ती पुजारीहरूका लागि नयाँ नियम बन्यो– उनीहरूको खुट्टा र शिर खाली हुनुपर्छ। शरिरमा सुन लगाउन पाइँदैन। मन्दिरमा पूजा गर्नेबाहेक अन्य काममा उनीहरूको भूमिका हुँदैन।
‘हामी मन्दिरमा ढोगिन्छौँ। खुट्टामा जो कोहीले शिर राख्छन्। जब मन्दिरको ढोकाबाट निस्कन्छौँ न हामीले केही छुन पाउछौँ, न हामीलाई नै कसैले छुन्छ,’ क्षेत्रपाटी विष्णुमती किनारका बासिन्दा मोहन नेपाली (देउला)ले भने।
उनीहरूलाई अछुत बनाइनुको कारण भने तन्त्र साधना नै थियो। मोहन भन्छन्, ‘तन्त्र साधना राम्रो थियो हाम्रो पुर्खाको। सबै डराउँथे पनि। त्यसैले कसैको बिगार नहोेस् भनेर हामीलाई छुन नमिल्ने नाजिर जस्तै बन्यो उ बेला।’
मोहन आफैँ पनि ७ पटक मैतीदेवी, भद्रकाली, इन्द्रायणी, बज्रबाराही, सूर्यविनायक, दक्षिणकालीलगायतका तन्त्र साधना गरिने शक्तिपीठमा पुजारी बनिसकेका छन्। उनी विष्णुमती किनार छेउकै बस्तिमा जन्मिए २०२१ सालमा। उनी जन्मले देउला नै हुन्। नेवार समुदायकै हुन्। तर उनी १७ वर्षको उमेरमा नेपाली बने।
नामको कथा
सानोमा मोहनलाई आफू मन्दिरभित्र पुजारी र बाहिर अछुत भएकोमा साह्रै अचम्म लाग्थ्यो। त्यसैले १७ वर्षको उमेरमा नागरिकता बनाउने बेला उनले आफ्नो जात खुलाउनै चाहेनन्। उनलाई लाग्यो– नेपालमा बस्ने सबै नेपाली हुन्। अछुतबाट हट्न उनले नागरिकतामा ‘नेपाली’ थर राखे।
उनी भन्छन्– ‘जातको विरोध गरेर थर त फेरेँ। तर त्यो थर पनि तत्कालीन समयमा अछुत नै मानिदो रहेछ। मान्छे भएर मान्छे नै बन्न नेपाली राखेको तर त्यसले पनि मलाई अछुतको अछुत नै बनायो।’
०००
उनी दरबार हाइस्कुल पढे। तर १० कक्षाभन्दा बढी पढ्न सकेनन्।
प्रहरीको डरले उनले आफ्नो पढाइ सधैँलाई बिट मारे। ‘होलीको दिन थियो। स्कुलमा एउटी केटीलाई लोलाले हानेको, त्यसको चस्मा फुट्यो। त्यो केटीले मलाई चिन्दी रहेछ,’ मोहनले भने, ‘प्रहरीले मलाई समातिहाल्यो। बल्लबल्ल भागेँ।’
प्रहरीबाट भाग्दै गर्दा मोहनले आफ्नो पढाइबाटै भाग्नु पर्ला भन्ने कल्पना पनि गरेका थिएनन्। तर भयो त्यस्तै।
‘ठूलो कारबाही गर्ने हल्ला छ, स्कुल नआउ भने साथीहरूले’, मोहन भन्छन्, ‘डर लाग्यो। अनी केही दिन स्कुल जान्न भनेर बसेँ। त्यसपछि त बसेको बस्यै भएँ। पढाइ छुट्यो।’
पढाइ छुटेपछि मोहनले जागिर खोज्न थाले। नेपाल भाषाको पहिलो पत्रिका ‘नेपाल भाषा’मा पत्रिका बाढ्ने काम गर्न थाले। पत्रिकामा जागिर गरेपछि उनी प्रदीप नेपाल, केशव स्थापित, मुकुन्द नेपाललगायतका वामपन्थी नेताको संगतमा पुगे।
‘नेपाल भाषा पत्रिका त्यस बेलाको पञ्चायतविरोधी पत्रिका थियो,’ मोहन भन्छन्, ‘मान्छेका घर घर पुर्याउन निकै सकस हुन्थ्यो। ठाँउ फेरि फेरि छाप्नु पर्थ्याे। छुवाछुतको विरोध गर्थ्याे त्यो पत्रिकाले। त्यसैले मैले खूब मन लगाएर पत्रिका मान्छेका घर घर पुर्याउन थालेँ।’
मोहन पत्रिका ‘कम्पोज’ गर्न पद्यमरत्न तुलाधरको प्रेसमा पुगिरहन्थे। त्यहीँ उनको ‘कम्युनिजम’को स्कुलिङ भयो। त्यसपछि त उनलाई विद्यालय जान पर्छ भन्ने नै लाग्न छोड्यो। ‘म विद्यार्थी त बने तर पार्टीको’, मोहनले सुनाए।
०००
मोहनमा सानैदेखि विद्रोही स्वभावका थिए। त्यसैले उनी पञ्चायतको आँखामा तारो पनि बने।
‘बालाजु मजदुर आन्दोलनमा हामीले निर्मल लामालाई बचायौँ। पछि जनमतसंग्रह भयो। त्यसबेला म भूमिगत बन्नुपर्यो,’ मोहन भन्छन्, ‘पुलिस घरमा आउने। आमा बालाई लोभ्याउने, फकाउने गथ्र्यो, म पञ्चायतको विरोधमा नउत्रिओस् भनेर।’
तर उनी भूमिगत भएर बहुदलको पक्षमा उत्रिए।
०००
पञ्चायतले खेदो खनिरहेको थियो। पत्रिका जुनसुकै समयमा बन्द हुन सक्थ्यो। मोहनले यो कुरा बुझिसकेका थिए। उनी वैकल्पिक कामको खोजीमा थिए। उनले काम भेटि पनि हाले।
उनी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानले कुचिकार पदमा खुला गरेको आवेदनमा निवेदन बोकेर पुगे। नाम पनि निस्कियो। तर अन्तर्वार्ताका क्रममा उनलाई सोधियो– ‘मान्छेलाई लास देख्दा डर लाग्छ कि लाग्दैन?’ उनलाई के भनौँ के भनौँ भयो। त्यै पनि जवाफ फर्काए– ‘लासदेखि के को डर!’
उनको जागिर पक्का भयो।
२०४० सालमा उनले पहिलो नियुक्ति पाए– त्रिवि शिक्षण अस्पतालमा।
जागिरको पहिलो दिन थाहा पाए– त्यहाँ उनको काम भुईं पुछ्ने होइन रहेछ। उनको काम त मुर्दाघरमा शव कुर्ने रहेछ।
मुर्दाघरको कथा
उनले शवसँग डर लाग्दैन भन्दै जागिर त खाए। तर डर त लागिहाल्यो।
शवलाई कात्रोले बेरेर ल्याइने हुँदा पहिलो दिन त उती गाह्रो परेन। तर रात परेपछि भने उनलाई डर लाग्ने गर्थ्याे। कहिले बिरालो कराएको त कहिले बच्चा रोएको आवाज वरपर गुञ्जिँदा पनि उनी डरले थुरथुर हुन्थे।
‘केही साथीहरू त रक्सी पिएर आउँथे। म परेँ नखाने। नशामा नहुँदा त आवाजले तर्साउने’, उनले भने।
यसै गरि उनले ३८ वर्ष बिताए। जतिबेला शिक्षण अस्पतालमा ओपीडी पनि चल्दैन थियो, त्यति बेला नै उनले शव व्यवस्थापनको काम गर्थे। पछि अस्पतालमा मुर्दाघर बन्यो। पोष्टमोर्टम पनि थालियो। त्यसपछि त मोहनको डर लगभग हट्यो नै।
तर कुनै बिरामी राति नै बिते भने चाहिँ उनलाई आपत् पर्थ्याे।
शव बोक्ने स्ट्रेचर मुर्दाघरभित्र शवहरूसँगै हुन्थ्यो। भित्र गएर स्ट्रेचर ल्याउन पर्दा उनका शरीरका सबै राैँ ठाडा हुन्थे।
उनको अनुभवमा रातभर मुर्दा कुरेर बस्दा मनमा संवेदना भने कम हुँदै जाने रहेछ। उनी भन्छन्, ‘यस्तै हो भनेर मन बुझाउन सिकिने रहेछ। मैले ४० सालदेखि सिकेको– जीवन भनेको केही होइन रहेछ। केही नभएको चिजलाई हामीले केही बनाउनु पर्ने रहेछ।’
०००
मोहनलाई शवले जीवन सिकाउँदै थियो।
२०४६ सालतिर देश पनि आन्दोलनमय थियो। चारैतिर आन्दोलनको ताप थियो। यसैबीच कीर्तिपुरमा सत्तापक्षको गोलीले तीन जना शहीद भए। उनीहरूको शव शिक्षण अस्पताल ल्याइयो।
‘सिडियो, डिएसपीहरू लास माग्न आएको आयै’, मोहन भन्छन्, ‘तर मैले लास दिइनँ।’
२०४६ को आन्दोलन सफल हुनुमा उनी आफ्नो पनि भुमिका रहेको बताउँछन्। त्यसबेला आफूले प्रहरीलाई शव दिएको भए कथा बेग्लै हुन्थ्यो भन्ने लाग्छ मोहनलाई।
‘मलाई अस्पतालले पनि साथ दियो। म मुर्दाघरको चाबी बोकेर भागेँ,’ मोहन भन्छन्, ‘प्रहरीले लास लुकाउँथ्यो त्यो बेला। आफैँले जलाउँथ्यो। निकै दमनकारी थियो प्रवृत्ति। मलाई प्रदीप नेपालले आन्दोलन सफल पार्ने कि विफल तिम्रो हातमा छ मोहन भन्नुभयो।’
उनी प्रदीप नेपालको कुरा सुनेपछि मुर्दाघरको चाबी लिएर भूमिगत भए।
पछि प्रहरीले अस्पतालमा धरपकड गर्यो। अस्पताल शव दिन तयार भयो। तर चाबी त मोहनसँग थियो। ‘कीर्तिपुरबाट सबै जनता आएका थिए। म जनतालाई मात्र शव बुझाउने पक्षमा थिएँ,’ मोहनले भने।
कीर्तिपुरका जनता अस्पताल घेर्न आइपुगे। प्रहरी प्रशासन त यसै पनि शव लिने दौडमा नै थियो। तर जनताका बीचबाट प्रहरीले तीन वटा शव लान सक्ने अवस्था थिएन। त्यसबेला डा अन्जली शर्माले मोहनलाई सम्झाएपछि उनले कीर्तिपुरका जनतालाई शव सुम्पिए।
अस्पतालका तत्कालीन निर्देशक डा भोला रिजाल अस्पतालको गेटसम्म तीन शहीदलाई विदा गर्न आए। डा अन्जली शर्मा, मोहन लगायत अस्पतालका कर्मचारी शहिदको शव यात्रामा सुन्दरीजलसम्म पुगे।
कीर्तिपुरका जनता, वामपन्थी नेता र अस्पतालका कर्मचारीहरूको साथले आफूले त्यसबेला सत्तासँग जुहारी गर्न सकेको उनी बताउँछन्।
‘तीन जना शहीदको दाहसंस्कारपछि आन्दोलनले झन् गति लियो। आन्दोलन सफल भयो’, मोहनले गर्वसाथ भने।
०००
आन्दोलन सफल भएसँगै मोहन ट्रेड युनियनमा सक्रिय भए। मजदुरको हकका लागि राजनीतिक लडाइँ लड्न थाले।
शव व्यवस्थापनको ३८ वर्ष लामो अनुभवमा उनले धेरै शव देखेका थिए। निर्ममतापूर्वक मारिएका शव देखेका थिए। दुर्घटनामा क्षतविक्षत भएका शव देखेका थिए। तर यसै समयमा मोहनले यस्तो शवको व्यवस्थापन गर्नुपर्ने भयो, जसले उनलाई घरिघरि खेदिरहन्छ।
‘मलाई एउटा शवको ‘ह्याङ’ बिर्सन्छु भन्दा पनि सम्झनामा आइरहन्छ। त्यसकै कारण मैले मान्छे र जनावर उस्तै देख्न थालेँ। मासु खानै छाडेँ’, मोहनले उकेरासँग भने।
भएको के थियो भने– अस्पतालमा अध्ययनरत विद्यार्थीलाई अध्ययनकै सिलसिलामा कंकाल चाहिने भयो। भोटाहिटीमा एउटा बेबारिसे शव छ भन्ने जानकारी मोहनसम्म पुग्यो। शव उठाउन गए उनीहरू।
निकै दिन पहिलेको शव रहेछ। बल्लतल्ल ल्याए। ‘अहिले जस्तो हड्डी निकाल्ने प्रविधि पनि थिएन अस्पतालसँग’, उनले भने, ‘फ्रिजमा राख्नु पर्ने भयो। त्यो यति गन्हाउने थियो कि सम्झदा पनि गाह्रो हुन्छ। हामीले जसो तसो त्यसलाई फ्रिजमा राख्यौँ।’
शव व्यवस्थापन गरिसकेपछि उनले हात धुन खोजे। तर हातको चिल्लो त जाँदै गएन। अनि, एक हप्तासम्म उनले हातले खानै खाएनन्।
‘एक हप्तासम्म त्यो शव उठाउने हामी कसैले खाना नै खाएनौँ। मान्छेको बोसो साबुनले धोएर नजाने रहेछ’, उनले भने।
पछि मासु सबै कुहाएर कंकाल निकालियो। विद्यार्थीहरू त्यसैबाट अध्ययन गर्न थाले। त्यो देख्दा मोहनलाई आफ्नो दुखः, दुखः जस्तो लागेन।
पहिले मोहनले पोष्टमोर्टम पनि गर्थे। ०५३ सालतिर सरकारले त्यससम्बन्धी छुट्टै व्यवस्था ल्याएपछि भने उनले पोष्टमोर्टम गर्न छोडे।
उनी शव व्यवस्थापन गर्दा-गर्दा हत्या र काल गतिले मरेको शव पहिचान गर्न सक्ने भएका थिए।
पोष्टमोर्टमकै क्रममा उनले थाहा पाए– मान्छे र जनावरको मासु उस्तैउस्तै हुने रहेछ। अनि उनले मासु खान छोडे। ‘त्यस अघि म मासुको खूबै अम्मली थिएँ’, उनले भने।
०००
गोरखा भूकम्प र कोरोना महामारीमा उनले यति धेरै शव व्यवस्थापन गरे कि अब मान्छेका शवसँग डर लाग्दैन मोहनलाई।
‘भूकम्पको बेलामा त शवमाथि शव राख्नु पर्ने बाध्यता भयो। जताततै शव नै शव थियो टिचिङमा’, उनले भने। कोरोना महामारीमा धेरैले ज्यान गुमाए। सुरुसुरुमा त मृतकका शव आफन्तले हेर्न पनि पाएनन्।
मोहनलाई त्यसबेला भने पुण्यको काम गरिरहेको जस्तो लाग्न थाल्यो। उनी भन्छन्, ‘महामारीयता मेरो कामप्रती म आफैँलाई गर्व लाग्छ। कसैले छुन नमिल्ने शवलाई छुन पाइएको छ। कहिल्यै नआउने गरी विदा भएकाहरूको आफन्तलाई तिनको अनुहार देखाइदिन पाइएको छ।’
मोहनका अनुसार अन्तिम समयमा मृतकका आफन्तलाई एक पटक अनुहार मात्रै देखाइदिँदा पनि उनीहरूको दुःखमा थोरै भए पनि मल्हम लाग्छ।
‘त्यसबेला मृतकका आफन्तले हामीलाई दिएको आशिषले आँखा भरिएर आउँछ। तिनका आफन्तले ल्याएको अविर शवलाई चढाई दिँदा ती आफन्तको आँखाले हामीलाइ आफ्नो घरकै मान्छे जस्तो मानेर हेर्छन्। अनी म जात धर्म सबै विर्सन्छु’, उनले भने।
त्यसबेला उनी चारैतिर मान्छे जातका मान्छे मात्र देख्छन्।
असोज ४, २०७८ सोमबार १८:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।