सबै साधारण सेयरको लगानी सुरक्षित हुन्न
सेयर बजारको सुरुवात करिब चार सय वर्ष पहिले भएको थियो। त्यो बेला एउटा ‘डच इस्ट इन्डिया कम्पनी’ थियो। त्यो समय अहिले जस्तो विश्वको नक्सा बनिसकेको थिएन। व्यापारिक कम्पनीहरू जहाज मार्फत एक ठाउँबाट अर्को अनजान ठाउँमा व्यापार गर्न जाने गर्थे।
त्यो यात्रा हजारौँ किलोमिटरको हुन्थ्यो। त्यो एकदमै लामो व्यापारिक यात्राको लागि एक जना व्यक्ती सँग मात्रै त्यति धेरै पैसा हुँदैनथ्यो। त्यस पछि व्यापारीहरूले आम मानिसलाई आफ्नो जहाजमा पैसा लगानी गर्न आह्वान गरे।
उनीहरूले भने हाम्रो जहाज फर्किएर आउँदा ल्याएको खजाना र पैसाको केही हिस्सा लगानीकर्ताले पनि पाउने छन्।
तर जहाजमा पैसा लगानी गर्नु एकदमै जोखिम थियो। कारण बाटोमा नै लुटपाट हुने, समुन्द्रमा डुब्ने कारण सबै जहाजले नाफा मात्रै गर्दथे। त्यसैले लगानीकर्ताले एउटाबाट नाफा नभए अर्कोबाट नाफा हुन्छ भनेर धेरै जहाजमा लगानी गर्ने सुरु गरे। र एउटा जहाजले पनि धेरै लगानीकर्तासँग पैसा उठाउने गर्थे। उक्त जुक्ती सफल भयो र कालान्तरमा यो अभ्यास सेयर बजारको रूपमा परिणत भयो।
कसले कुन जहाजमा कति पैसा लगाउने भनेर खुल्लमखुल्ला बोली लगाउने भएकोले यो पारदर्शी पनि थियो। त्यहाँका सर्वसाधारण मानिसले पैसा कमाउने वैकल्पिक उपाय पनि भएको थियो। त्यही कामबाट नै इस्ट इन्डिया कम्पनी र डच इस्ट इन्डिया कम्पनीले राम्रो मुनाफा समेत कमाएका थिए। अहिले सबै देशमा सेयर बजार हुन्छ।
नेपालमा सेयर बजार
नेपालमा पहिलो पटक वि.सं. १९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैङ्कले सेयर जारी गरेका थिए। भने सरकारले २०१८ सालमा पहिलो पटक ऋणपत्र निष्कासन गरेको थियो।
निजी क्षेत्रबाट वि.सं.२०५४ सालमा श्रीराम सुगर मिल्सले ऋणपत्र जारी गरेको थियो। बैङ्कहरूमध्ये हिमालयन बैङ्कले वि.सं.२०५९ सालमा पहिलो पटक ऋणपत्र जारी गरेको थियो।
बेलायत अहिले जस्तो बिक्री तथा निष्कासन प्रबन्धक कम्पनी र स्टक एक्सचेन्ज थिएनन्। ती दुवै कम्पनीले सेयर जारी गर्दा सेयर निष्कासन र विक्री आफैले गरेका थिए।
नेपालमा वि.सं. २०२१ सालमा मात्र कम्पनी ऐन आएको थियो। र वि.सं.२०३३ सालमा धितो पत्र खरिदबिक्री केन्द्र सेक्युरिटीज एक्सचेन्ज सेन्टरको स्थापना भएपछि नेपाली पुँजी बजार सङ्गठित भएको थियो।
पछिल्लो समय अनलाइन मार्फत नै सेयर बजारमा प्रवेश गर्न सकिने र सेयर किनबेच गर्न सकिने भएका कारण मानिसमा यस प्रति चासो बढेको हो।
तर सेयर बजार सम्बन्धी पर्याप्त ज्ञानको अभावको कारण लगानीकर्ताहरूले गुमाएका उदाहरण पनि प्रशस्तै छन्। आफूले कमाएको पैसा लगानी गर्दा त्यसबारे बुझेर मात्रै लगानी गर्न आवश्यक छ।
साधारण सेयर
कम्पनीले आर्जन गरेको नाफाबाट अग्राधिकार सेयरवालाहरूलाई तोकिएको दरमा लाभांश वितरण गरिसकेपछि बाँकी हुन रकमबाट लाभांश वितरण गरिने गरी जारी गरिएको धितो पत्रलाई साधारण सेयर भनिन्छ। साधारण सेयरमा लगानी गर्ने लगानीकर्ताहरूलाई आफ्नो लगानीको मात्राअनुसार सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त हुन्छ र उनीहरूलाई कम्पनीको लगानीकर्ता मानिन्छ। कम्पनीको लगानीकर्ताको हैसियतले साधारण सेयरवालाहरूले बढी जोखिम उठाउनुपर्दछ।
साधारण सेयरमा दिइने लाभांशको दर निश्चित हुँदैन र कम्पनीले आर्जन गर्ने नाफाको घटबढ अनुसार यो पनि घटिबढी हुन सक्छ। अर्कोतर्फ कम्पनीले नाफा आर्जन गर्दैमा साधारण सेयर भएकालाई लाभांश प्राप्त हुन्छ भन्ने हुँदैन।
साधारण सेयरमा लाभांश दिनै पर्ने बाध्यात्मक अवस्था हुँदैन। तर कम्पनीले जति बढी नाफा आर्जन गर्दछ, उति नै बढी दरमा लाभांश प्राप्त हुने सम्भावना भने रहन्छ। साथै लाभांशको रूपमा कम्पनीले साधारण सेयरवालाहरूलाई बोनस सेयर पनि वितरण गर्न सक्छ।
सम्बन्धित कम्पनी खारेजीमा गएको अवस्थामा डिवेञ्चरवालाहरु र अग्राधिकार सेयरवालाहरूलाई भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गरिसकेपछि बाँकी रहेको रकम मात्र साधारण सेयर धनीले दाबी गर्न सक्छन्। यस कारण साधारण सेयरमा गरिने लगानीलाई जोखिमपूर्ण मानिएको छ।
बढी प्रतिफल प्राप्त गर्न बढी जोखिम पनि उठाउन तयार हुने लगानीकर्ताका लागि मात्र साधारण सेयर जस्तो धितो पत्रको औजार उपयुक्त मानिन्छ।
हालको प्रचलित व्यवस्था अनुसार साधारण सेयरको अङ्कित मूल्य साधारण एक सय रहेको छ। कदाचित सम्बन्धित कम्पनी खारेजीमा गई ठुलो दायित्व बेहोर्नुपर्ने भएमा पनि साधारण सेयरवालाहरूको दायित्व उनीहरूले लगानी गरेको रकमसम्ममै सीमित हुन्छ र आफ्नो घर घरानाबाट बेहोर्नु पर्दैन।
हकप्रद सेयर
विगतमा सर्वसाधारणमा साधारण सेयर निष्कासन गरिसकेको कम्पनीले भविष्यमा पुनः साधारण सेयर निष्कासन गर्ने भएमा त्यसरी निष्कासन गरिने सेयरहरू खरिद गर्ने पहिलो हक विद्यमान सेयरवालाहरूलाई प्राप्त हुन्छ।
यस प्रकार पुनः निष्कासन गरिने सेयरमा विद्यमान सेयरवालाहरूको पहिलो हक हुने भएकोले त्यस्तो सेयरलाई हकप्रद सेयर भनिन्छ। हकप्रद सेयर खरिद गर्ने वा नगर्ने निर्णय गर्न विद्यमान सेयरवालाहरू स्वतन्त्र हुन्छन्। विद्यमान सेयरवालाहरूले आफूले पहिले खरिद गरेको सेयरको अनुपातमा हकप्रद सेयर खरिद गर्ने अधिकार प्राप्त गर्दछन्।
अग्राधिकार सेयर
कम्पनीले आर्जन गरेको मुनाफाबाट तोकिएको दरमा लाभांश वितरण गर्ने गरी जारी गरिएको सेयरलाई अग्राधिकार सेयर भनिन्छ। कम्पनीले वितरण गर्ने लाभांश सम्बन्धमा साधारण सेयरवालाको भन्दा अग्र अधिकार हुने हुनाले नै यसलाई अग्राधिकार सेयर भनिएको हो।
यस्तै कम्पनी खारेजीमा जाने भएमा पनि आफ्नो लगानी र सञ्चित लाभांश प्राप्त गर्ने सम्बन्धमा अग्राधिकार सेयरवालाहरूको अग्राधिकार हुन्छ। यसै कारण अग्राधिकार सेयरमा गरिने लगानीलाई तुलनात्मकता कम जोखिमपूर्ण मानिएको छ।
तर सम्बन्धित कम्पनीले कुनै वर्ष नाफा आर्जन गर्न नसकेमा अग्राधिकार सेयरवालाहरूले तोकिएको दरमा लाभांश प्राप्त गर्न सक्दैनन्।
अर्कोतर्फ कम्पनीले जतिसुकै नाफा आर्जन गरेता पनि अग्राधिकार सेयरवालाहरूले तोकिएको दरभन्दा बढी लाभांश प्राप्त गर्न सक्दैनन्। यस प्रकार अग्राधिकार सेयरमा गरिने लगानीमा जोखिम पनि कम र प्रतिफल पनि कम हुन्छ।
अग्राधिकार सेयरवालाहरूले आफ्नो हकहितसँग सम्बन्धित विषयमा छलफल हुने अवस्थामा बाहेक अन्य अवस्थामा कम्पनीको वार्षिक साधारण सभामा भाग लिन पाउँदैनन्। अग्राधिकार सेयरलाई मिश्रित प्रकृतिको धितो पत्रको रूपमा लिइन्छ किनभने यसमा साधारण सेयर तथा डिवेञ्चर दुवैको विशेषता पाइन्छ।
अग्राधिकार सेयरहरू सञ्चयशील (कुनै वर्ष कम्पनी नोक्सानमा गई लाभांश भुक्तानी गर्न नसक्दा लाभांश सञ्चय भई आगामी वर्षको नाफाबाट भुक्तानी गर्नुपर्ने) वा असञ्चयशील, विमोच्य (निश्चित समयावधि पछि फिर्ता भुक्तानी दिइने) वा अविमोच्य र परिवर्तनशील (निश्चित समयावधि पछि साधारण सेयरमा परिवर्तन गर्न सकिने) वा अपरिवर्तनशील प्रकृतिका हुन्छन्।
डिवेञ्चर
तोकिएको दर र समयमा साँवा तथा ब्याज भुक्तानी गर्ने शर्तमा जारी गरिएको धितो पत्रलाई डिवेञ्चर भनिन्छ। यसको अङ्कित मूल्य साधारणता १००० हुन्छ।
डिवेञ्चरवालाहरुले आफूले गरेको लगानी रकममा तोकिएको दरमा वार्षिक वा अर्धवार्षिकरुपमा ब्याज प्राप्त गर्दछन्। साधारण सेयर र अग्राधिकार सेयरमा लाभांश दिनु अघि नै डिवेञ्चरवालाहरुले ब्याज प्राप्त गर्दछन्। सङ्गठित संस्था नोक्सानीमा गए पनि डिवेञ्चरवालाहरुले तोकिएको ब्याज प्राप्त गर्न कुनै वाधा पर्दैन।
डिवेञ्चरवाला र सङ्गठित संस्थाको सम्बन्ध साहु र ऋणीको जस्तो हुन्छ। कदाचित कम्पनीले तोकिएको दर र समयमा ब्याज प्रदान गर्न असमर्थ भएमा डिवेञ्चरवालाहरुले कम्पनी खारेजीमा पठाउन कार्यवाही चलाउन सक्छन्। डिवेञ्चरमा प्रायः जोखिम लिन नचाहने लगानीकर्ताहरू लगानी गर्न रुचाउँछन् । डिवेञ्चरवालाहरुलाई कम्पनीको वार्षिक साधारण सभामा सहभागी हुने अवसर र मतदान अधिकार प्राप्त हुँदैन।
डिवेञ्चरहरु सुरक्षित (कम्पनीको सम्पत्ति जमानत वा बन्धक राखी निष्कासन हुने) वा असुरक्षित, विमोच्य (निश्चित समयावधि पछि फिर्ता भुक्तानी दिइने) वा अविमोच्य र परिवर्तनशील (निश्चित समयावधि पछि साधारण सेयरमा परिवर्तन गर्न सकिने) वा अपरिवर्तनशील प्रकृतिका हुन्छन्।
लाभांश र बोनस सेयर
कम्पनीले आर्जन गरेको नाफाबाट आफ्ना सेयरधनीहरुलाई दिइने प्रतिफल नै लाभांश हो। यस्तो लाभांश नगदमा दिइएमा नगद लाभांश भनिन्छ भने सेयरमा दिएमा बोनस सेयर वा स्टक डिभिडेन्ड भनिन्छ।
कम्पनीको बचत वा जगेडा कोषलाई पुँजीकरण गर्नका लागि विद्यमान सेयरवालाहरूलाई यस प्रकार थप सेयर (बोनस सेयर) प्रदान गरिन्छ वा चुक्ता पुँजी वृद्धि गरिदिन्छ। लाभांशको परिमाण सञ्चालक समितिद्वारा निर्णय गरिन्छ।
वारेन्ट
कुनै निश्चित समयमा तोकिएको सङ्ख्या र मूल्यमा साधारण सेयर खरिद गर्न सकिने गरी जारी गरिएको धितो पत्र औजारलाई वारेन्ट भनिन्छ। अर्को शब्दमा भविष्यमा कम्पनीको साधारण सेयर खरिद गर्न लगानीकर्ताहरूलाई दिइएको अधिकार नै वारेन्ट हो। सामान्यतः बण्डको निष्कासनलाई लगानीकर्ताहरू समक्ष आकर्षक गराउन बण्डसँगै वारेन्ट पनि दिइन्छ।
भविष्यमा गएर वारेन्ट प्रयोग गरी साधारण सेयर लिने वा नलिने विकल्प सम्बन्धमा निर्णय लिन लगानीकर्ता स्वतन्त्र हुन्छ । वारेन्ट प्रयोग गर्दा यो साधारण सेयरमा परिवर्तन हुन्छ तर बण्ड भने जस्ताको तस्तै रहन्छ।
वारेन्ट निष्कासन गर्दा भविष्यमा साधारण सेयर खरिद गर्नका लागि भुक्तानी गर्नुपर्ने मूल्य, वारेन्ट प्रयोग गरी साधारण सेयर प्राप्त गर्न सकिने अनुपात र वारेन्ट प्रयोग गरिसक्नुपर्ने समयावधि जस्ता कुराहरू खुलाइएको हुन्छ।
ब्लु चिप सेयर
सङ्गठित संस्थाको कुशल व्यवस्थापन गरी लामो समयदेखि नाफा कमाउँदै र लगानीकर्ताहरुलाइ लाभांश प्रदान गर्दै आउनुको साथै लगानीकर्ताहरूप्रतिको जबाफदेहिताप्रति सजग हुँदै लगानीकर्ताहरूको विश्वास समेत जित्न सफल हुने संस्थाको सेयरलाई ब्लु चिप सेयर भनिन्छ । यस प्रकारका सेयरहरूको प्रायः बढी मूल्य कायम भई रहेको हुन्छ भने लाभांश मध्यम स्तरको प्राप्त भइरहेको हुन्छ।
–नेपाल धितो पत्र बोर्डको सहयोगमा
भदौ १४, २०७८ सोमबार १९:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।