युनिफाइड अस्पतालमा जागेश्वरकै शैली अपनाउँदै डा. बस्नेत, उपनिर्देशक हटाएर नयाँ नियुक्ति

उपनिर्देशकद्वय डा. अशेष ढुगाना र डा. नवीन पोखरेललाई हटाएर बस्नेतले कार्की र श्रेष्ठलाई नियुक्त गरेका हुन्।
डा. कार्कीले उकेरासँग आफू अस्पतालको उपनिर्देशकमा नियुक्त भएको जानकारी दिइन्। उनले भनिन्,‘म र डा. प्रज्वल श्रेष्ठ नियुक्त भएका हौँ।’ डा. कार्की वीर अस्पतालमा नै कार्यरत चर्म तथा छाला रोग विशेषज्ञ हुन्। डा. श्रेष्ठ क्रिटिकल केयर विशेषज्ञ भएको बुझिएको छ।
उपनिर्देशकद्वय ढुंगाना र पोखरेलले राजीनामा दिएको नभई डा. बस्नेतले हटाएका हुन्। डा. पोखरेलसँग तपाईँहरूलाई उपनिर्देशकबाट हटाइएको हो की? राजीनामा दिनु भएको हो? भन्ने जिज्ञासामा उनले भने,‘राजीनामा दिएको हैन।’
डा. भूपेन्द्रले आफूहरूलाई हटाएर नयाँ उपनिर्देशक नियुक्त गर्ने विषयमा कुरा भने गरेको उनले सुनाए। डा. बस्नेतले आफूहरूलाई हटाएर नयाँ उपनिर्देशक नियुक्त गर्ने विषयको जानकारी दिएको पोखरेल बताउँछन्। डा. पोखरेलले भने,‘कुरा भएको थियो। पोलिटिकल कुरा हो भन्ने भएको थियो। मैले आफ्नो पोलिटिकल हिसाबमा मान्छे राख्नुहोस् भनेँ। तपाईंहरुलाई जसरी सजिलो हुन्छ त्यसै गरी गर्नुहोस् भन्ने कुरा भएको थियो डा. अशेष र मेरो।’
०००
डा. गौतमले पनि युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीका रूपमा जेठ ११ गते नियुक्त भएपछि वीर अस्पतालको प्रशासन आफ्नो नियन्त्रणमा लिएका थिए। डा. गौतम नियुक्त भए लगत्तै अस्पतालको निमित्त निर्देशकको रूपमा रहेकी डा. शान्ता सापकोटालाई हटाएर आफूखुसी वीर अस्पतालकै डा. ढुंगाना र ट्रमा सेन्टरका डा. पोखरेललाई जेठ १४ गते उपनिर्देशकमा नियुक्त गरेका थिए।
डा. बस्नेतले पनि गौतमकै शैलीमा ढुंगाना र पोखरेललाई हटाएर डा. कार्की र श्रेष्ठलाई उपनिर्देशकमा नियुक्त गरेका हुन्।
०००
नेकपा एमालेका अध्यक्ष केपी ओलीको सरकार ढलेर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि युनिफाईड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीबाट डा. गौतमलाई सरकारले हटाएको थियो। गौतमलाई हटाएसँगै ट्रमा सेन्टरमा कार्यरत ११ औँ तहका चिकित्सक डा. रुद्र मरासिनी युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीका रूपमा नियुक्त भएका थिए। उनी अर्थोपेडिक तथा स्पाइनल सर्जन हुन्।
तर, डा. मरासिनी नियुक्त भएको २४ घण्टा पनि नबित्दै मरासिनीलाई दिएको नियुक्ति पत्र बदर गरेर १० औँ तहका चिकित्सक डा. बस्नेत युनिफाईड केन्द्रीय अस्पतालमा निमित्त प्रशासकीय अधिकारीका रूपमा साउन १९ गते नियुक्त भएका हुन्। उनी रातारात डा. मरासिनीको नियुक्ति बदर गराएर अस्पतालको निमित्त प्रमुख प्रशासकीय अधिकारी नियुक्त हुन सफल भएका हुन्।
डा. बस्नेतले नियुक्त भएपछि आफूले अस्पताल सुधारका कामहरू गरिरहेको दाबी गरेका छन्। कोभिड ओपिडी तथा पोस्ट कोभिड ओपिडी सुरुवात समेत गरेको उनले बताएका छन्।
भदौ ४, २०७८ शुक्रबार ०८:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।