चौथो अंगमा किशोर थुलुङ : पत्रकारलाई लाइसेन्सको कुरा उठ्दा किन टाउकोदुखाइ ?
अवस्था सामान्य रहँदासम्म कुनै पनि विषयमा बहस वा चर्चा जरुरी हुँदैन। जब अवस्था असामान्य बन्दै जान्छ, नयाँ दिशा दिनुपर्ने हुन्छ। त्यसका लागि बहस, छलफल र वादविवाद जरुरी हुन्छ।
अहिले नेपाली पत्रकारिताको विषयमा बहस गर्ने बेला भएजस्तो लाग्छ। यतिबेला पत्रकारिता असामान्य अवस्थामा जाँदै गरेको आभाष हुन थालेको छ। यसको मतलब सबै गलत नै भयो भन्ने होइन। पत्रकारितालाई कसैले गलत तरिकाले प्रयोग गर्न खोज्दैछ कि भन्ने मात्र हो।
पछिल्लो समय स्वच्छ पत्रकारिताको कुरा चर्चामा छ। सुन्दै आनन्द लाग्ने विषय हो यो। भनेजस्तै भए कति मज्जा हुन्थ्यो। तर पत्रकारितामा कोरोनाको जस्तै महामारी चलेको छ।
यतिबेला विज्ञापन भाइरसको प्रवेशद्वार बनेको छ। एउटा मिडियाले पाँच हजारमा विज्ञापन छाप्दैछ भने अर्कोले तीन/दुई हुँदै एक हजारमै छापिदिने प्रतिस्पर्धा बढ्यो। यो पत्रकारिता भित्रको दलालीपन हो। नियमन, नियन्त्रण केही छैन। बजार अनुसारका पत्रकार भए। विज्ञापनदाता र व्यापारीमा पत्रकारिता निर्भर हुन थाल्यो। विज्ञापनदाताले मिडिया खोज्नुपर्थ्यो तर उल्टो भयो।
यो विषयलाई अलि मिहिन ढंगले हेरौं न। मिडियामा किन समस्या आयो त? तर्क आ-आफ्ना होलान्। तर मिडिया हाउसले पत्रकारको क्षमता बढाउनमा लगानी गरेन। क्षमता बढाउनेभन्दा पनि थोरै लगानी गरेर धेरै कमाउने मनसाय हावी भयो मिडिया मालिकको।
देशका विभिन्न सञ्चार माध्यममध्ये रेडियो अहिले पनि धेरै सुनिने माध्यममै पर्छ। तर रेडियोमा मार्केटिङ र प्राविधिक बाहेक कर्मचारी हुनै छाडिसके। रिडियोमा रिपोर्टर नै हुँदैनन्। अनलाइनको समाचार पढ्ने र नेटवर्कबाट हुक गरेर बजाउने बाहेक केही प्रगति भएको छैन। प्रविधिसँग रेडियोलाई जोड्न सक्नुपर्थ्यो। तर त्यो भएन।
अन्य क्षेत्रमा पनि त्यस्तै छ। पत्रिकादेखि अनलाइनमा पनि कपिकारिता चलेको छ। यसले खास पत्रकारको भूमिका खुम्च्याएको छ। समाचार चोरेर बाइलाइन हाल्नेको धेरै छन्। यो हाम्रो पत्रकारिताको बिडम्वना हो।
पढेर निखारिएको, नभए निखारिने क्षमता भएको मान्छे पत्रकार हुनुपर्छ। १० कक्षा फेल भएकाहरु पत्रकार भए। स्रोतलाई भेरिफाइ कसरी गर्ने भन्ने न्यूनतम ज्ञान नभएकाहरु पत्रकारितामा भावी भए।
कतिपय पत्रकारले आफ्नो मौलिक पहिचान नै बनाउन सकेका छैनन्। अहिलेकै अवस्थाबाट अगाडि बढ्ने हो भने पहिचान बनाउन सक्ने अवस्था नै रहँदैन। विषयवस्तुको अध्ययन नै नगरी जसले जे भन्यो त्यसैलाई सत्य मानेर भ्रम छर्ने सञ्चारमाध्यम धेरै छन्।
समाचार स्रोतमा कुनै शंका लागे समाचार नै बनाउन हुँदैन। तर यहाँ त जे नहुनुपर्ने हो त्यही भइरहेको छ। अहिलेको मोबाइल पत्रकारिताले त झनै समस्या बढाएको छ। पत्रकारिता र फेसबुकको सूचनामा केही फरक नै भएन।
मिडिया मालिक र पत्रकार दुवैमा सैद्धान्तिक ज्ञान हुनुपर्ने हो। तर त्यो भएन। मालिकले मिडियाको अपनत्व महसुस गर्न सकेको देखिँदैन। मालिकलाई सस्तो पत्रकार चाहिएको छ। सकेसम्म बिना तलब काम गर्ने। अनि सिप विनाका बेरोजगारले पत्रकार बन्ने अवसर पाएका छन्। त्यसले बजार बिगारेको छ। सञ्चारको महत्व बुझ्नलाई पत्रकारिता पढ्नैपर्छ। आमसञ्चार पढेको वा बुझेको मालिक भयो भने धेरै समस्याको हल हुन्छ।
आफूलाई मात्र ठिक लागेको विषय समाचार हुँदैन भन्ने बुझ्नुपर्यो। अहिले समाचारको शीर्षक हेर्दै लाज लाग्ने खालका हुन्छन्। अनि तिनै समाजका प्रतिष्ठित अनलाइन र पत्रकार भएका छन्। पाठकको चासो वा रुचिको विषय पत्रकारिताको क्षेत्र हो भनेर कहिले बुझाउने। त्यसको लागि त पत्रकारिता पढ्नै पर्छ नि।
खासमा भन्नुपर्दा हामीले गरेको पत्रकारिता पाइप पत्रकारिता भयो, सूचनाको स्रोतले जस्तो दिन्छ त्यस्तै सम्पे्रषण गर्ने। क्रस भेरिफाइ भन्ने कुरै छैन। मिहिनेत गर्नै डराउने पत्रकारिता पनि यही बेला देखियो। प्रष्ट रुपमा भन्नुपर्दा अहिलेको पत्रकारिता चलेको मात्र छ। हाम्रा मिडिया कामचलाउ मात्र छन्। तीन दिने तालिम लिएका पत्रकारले धानेको क्षेत्र हो यो। हामी अझै न्यूनतम पारिश्रमीकमै अल्झिएका छौं भने गुणस्तरमा कहिले पुग्ने?
तथापि, कालो बादलमा चाँदीको घेरा देखिन थालेको छ। विद्यार्थीलाई पत्रकारिता पढाउनसक्ने अवस्था नै थिएन। पत्रकारिता भन्दा नाक खुम्च्याउने अवस्था थियो। अहिले त्यो कम भएको छ। मास कम्युनिकेसन एन्ड जर्नालिजमको क्षेत्र फराकिलो छ भन्ने बुझेपछि विद्यार्थीको आकर्षण बढ्दै गएको छ।
पढेका पत्रकारमा ज्ञानको दायरा फराकिलो र तडकभडक कम हुन्छ। सक्रिय पत्रकारहरु पनि पत्रकारिता पढ्नैपर्छ भनेर लागिपरेका छन्। यो सकारात्मक विषय हो। आमसञ्चार तथा पत्रकारिता पढ्ने र नपढ्ने पत्रकारमा आकाश-पातालको फरक छ।
पत्रकारितामा अभ्याससहित ज्ञान हुनुपर्छ भन्ने मान्यता राख्नुपर्छ। सरकारी कार्यालयमा आमसञ्चार तथा पत्रकारिता विषय अध्ययन गरेका सूचना अधिकारी भए सूचनाको सहज पहुँच स्थापित हुन्छ। अन्य विभिन्न निकायमा पनि राम्रो दखल राख्छन् उनीहरु।
पत्रकारको लाइसेन्सको कुरा उठ्दा धेरैलाई टाउको दुखाइ भएको छ। एमबिबिएस डाक्टरले नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स नलिएसम्म उनीहरु डाक्टर मानिँदैनन्। अधिवक्ताको लाइसेन्स नलिई वकालत गर्न पाइँदैन। तर पत्रकारिताको लागि केही पनि नचाहिने कसरी भयो?
एउटा मुद्दामा वकालत गर्ने वकिललाई लाइसेन्स चाहिने अनि समाजका अनेकन मुद्दामा बहस गर्ने पत्रकारलाई लाइसेन्स नचाहिने हुन्छ? विना लाइसेन्स समाजको मुद्दामा कसरी बोल्नसक्छ पत्रकार? त्यसैले पत्रकारलाई लाइसेन्स अनिवार्य हुनुपर्छ।
पत्रकारलाई लाइसेन्स अनिवार्य गरियो भने यो पेसा गर्व गर्न लायक हुन्छ जस्तो लाग्छ। अनि त्यहीँबाट छानिन्छ नि को पत्रकार हो, को होइन। त्यसपछि हुन्छ, स्वच्छ पत्रकारिता।
चौथो अंगका पुराना श्रृंखला
(त्रिभुवन विश्वविद्यालय अन्तर्गत महेन्द्र बहुमुखी क्याम्पस, धरानमा आमसञ्चार तथा पत्रकारिता विषय अध्यापन गर्ने थुलुङसँग उकेराको चौथो अंग कोलमका लागि विनय बाह्रकोटीले गरेको कुराकानीमा आधारित।)
भदौ १, २०७८ मंगलबार १३:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।