छोरीमैयाँको ‘मनकामना छु’ लेखिएको एसएमएसपछि आएका एसएमएसहरुको रहस्य
#ChhoriMaiyaKhai शृंखला- ६ मा हामीले छोरीमैयाँको मोबाइलबाट आएको र उनको मोबाइलबाट गएको एसएमएसबारे चर्चा गरेका थियौं।
बेलायतमा दुई वटा मर्डर केसको अनुसन्धान एसएमएसको आधारमा गरिएको र शव हालसम्म नभेटिए पनि दोषी ठहर गरी सजाय समेत दिइएको प्रसंग पनि लेखेका थियौँ।
छोरीमैयाँको केसमा भने महत्त्वपूर्ण प्रमाण हुनसक्ने यो एसएमएसलाई मिसिलमा समेत नराखेर एसएमएस आएको पनि हो कि होइन अन्योलमा पार्ने गरी ११ महिनापछि अदालतले टेलिकमलाई सोध्ने र टेलिकमले एसएमएस त तीन महिनापछि डिलिट भइसक्यो भन्ने जवाफ पठाउने काम भएको छ।
यद्यपि, राज्यले चाह्यो भने यसको अनुसन्धान अझै गर्न सक्ने ठाउँ छ। किनभने एसएमएस रिसिभ भएको छोरी सुधाको मोबाइल हामीले यो सिरिज गर्न थालेपछि बजारमा ब्याट्री खोजेर चालु अवस्थामा राख्न सकिएको छ।
यसबाहेक त्यतिबेला अनुसन्धानका लागि प्रहरीले एसएमएसहरु पनि मगाएको जानकारी हामीले पाएका छौँ।
‘यस्ता खालका केसहरुमा मुद्दा प्रक्रियामा आवश्यक कागजातहरु मिसिलमा राख्ने र त्यसबाहेकका अन्य डकुमेन्टहरु प्यारालल्ली अर्को फाइल बनाएर राख्ने चलन हुन्छ’, पूर्वडिआइजी हेमन्त मल्लले शनिबार ट्विटर स्पेसमा भएको यो केसको पुनः अनुसन्धान कति सम्भव विषयमा भएको बहसमा भनेका छन्, ‘मलाई लाग्छ, यो केसको पनि त्यस्तो फाइल छ।’
नाम बताउन नचाहने केही सम्वद्ध पक्षले आफूहरुले तीन महिनाभन्दा पुराना एसएमएसहरुको डिटेल पनि नेपाल टेलिकमबाट निकालेको अनुभव सुनाए।
मिसिलमा नराखिएको तर अनुसन्धानका लागि प्रहरी समक्ष पुगेर अहिले हाम्रो पहुँचमा आएको एसएमएस डिटेलमा हामीले अर्को एउटा शंकास्पद मेसेज भेटेकोबारे शृंखला ६ मा लेखेका थियौँ।
हराएको दिनको भोलिपल्ट अर्थात् फेब्रुअरी २९, २०१६ राति ७ बजेर ३१ मिनेटदेखि छोरीमैयाँको नेपाल टेलिकमको प्रिपेड मोबाइल नम्बर ९८४१***६७१ मा केही मेसेजहरु पठाइएको देखिन्छ।
यी मेसेजहरु नेपाल टेलिकमकै प्रिपेड मोबाइल नम्बर ९८४१***२४० बाट गएको देखिन्छ।
राति ७ बजेर ३१ मिनेटको पहिलो मेसेजमा लेखिएको छ, Dare to read it .. I bet you will mistake !
त्यस लगत्तै तीन वटा एसएमएस लगातार पठाइएको छ जसमा लेखिएको छ-
all the wood Esau saw to saw, Esau sought to saw. Oh, the wood Wood would saw! And, oh the wood-saw with which Wood would saw wood! But one day, Woods wood-saw would saw no wood, and thus the wood Wood sawed was not the wood Wood would saw if Wood?s wood-saw would saw wood. Now, Wood would saw wood
यो क्रम भोलिपल्ट पनि जारी छ।
भोलिपल्ट अर्थात् हराएको दिनको पर्सिपल्ट २०१२ मार्च १ तारिखका दिन बिहान ८ बजेर ३९ मिनेटमा Dare to read it .. I bet you will mistake ! मेसेज पठाइएको छ।
त्यसको केही समयमा Esau wood मेसेजहरु पठाइएका छन्।
त्यसैगरी ११ बजेर ७ मिनेटमा Dare to read it .. I bet you will mistake ! त्यसलगत्तै Esau wood वाला मेसेजहरु।
पासो, जसमा कोही फसेनन् !
आमाको नम्बरमा यस्ता एसएमएस पठाउने नम्बर कसको हो भनेर खोजी गर्दा भेटियो उनकै कान्छी छोरी सुधाको मोबाइल नम्बर।
वास्तवमा यो प्रहरीको सल्लाहमा थापिएको पासो थियो, जसमा दुर्भाग्यवश कोही फसेनन्।
हराएको दिन फागुन १६ गते (२८ फेब्रअुरी) मा ‘मनकामना छु’ भनेर आएको एसएमएसपछि भोलिपल्ट बिहान छोरी सुभद्राको मोबाइलमा छोरीमैयाँको मोबाइलबाट कल आएको थियो, जसमा कुराकानी भने भएन।
घटनाको १५ महिनापछि नेपाल टेलिकमले काठमाडौँ जिल्ला अदालतलाई पत्र लेख्दै भनेको छ- ‘यस कम्पनीको जिएसएम प्रविधिमा एसएमएसमार्फत मोबाइलको लोकेसन पत्ता लगाउन सक्ने व्यवस्था नरहेको व्यहोरा अनुरोध गरिन्छ।’
नेपाल प्रहरीमा लामो समय टेक्निकल इन्भेस्टिगेसन गरेका पूर्वइन्स्पेक्टर दीपेन्द्र अधिकारी भन्छन्, ‘एसएमएसको लोकेसन तत्काल (२४ घण्टाभित्र) भए पत्ता लगाउन सकिन्छ। तर त्यसको लोकेसन सिडिआर (कल डिटेल रेकर्ड) मा बस्दैन।’
हामीले केही प्राविधिकहरुसित पनि यो विषयमा कुरा गर्यौँ। अहिले एसएमएस गर्दाको पनि लोकेसन थाहा हुने सिस्टम राखिएको छ। तर त्यो बेला भने थिएन।
तर, एसएमएस गर्नुअघि र पछि मोबाइल सेटको टावरसित केही ट्रान्जेक्सन हुने काम भएको छ (कल आउने, कल गर्ने) भने त्यसको लोकेसन पत्ता लगाउन सकिन्छ।
एसएमएस पठाएको भोलिपल्ट छोरीमैयाँको मोबाइलबाट छोरी सुभद्राको मोबाइलमा कुराकानी नभए पनि सम्पर्क भएको छ। त्यतिबेला टावर देखिन्छ- ‘टेकु एनटी अफिस १८ एम’।
अर्थात्, त्यतिबेला छोरीमैयाँको मोबाइल टेकुस्थित नेपाल टेलिकम कार्यालय नजिकै थियो।
प्राविधिकहरुका अनुसार १८ एमको अर्थ टावर नजिकै हो। टावरमा ९ सय र १८ सय दुई मेगाहर्ज हुन्छ। नजिक हुँदा १८ एम र टाढा हुँदा ९ सय मेगाहर्जले टिप्छ।
त्यसपछि छोरीहरुले फोन गर्दा छोरीमैयाँको मोबाइलको स्विच अफ गरिएको थियो।
यो हिसाबले छोरीमैयाँको मोबाइलको ‘लास्ट नोन लोकेसन’ टेकु हो।
माथिको टङ ट्विस्टर (Esau Saw) सहितका एसएमएस पासो थाप्नका लागि प्रहरीको सल्लाहमा छोरी सुधाको मोबाइलबाट पठाइएको थियो।
ताकि मोबाइल अन हुने बित्तिकै ती एसएमएसहरु त्यसमा रिसिभ होउन् र केही क्लु मिलोस्।
तर, दुर्भाग्वश त्यस्तो कुनै क्लु पाउने अवस्था भएन।
त्यसपछि मोबाइल कहिल्यै ‘अन’ भएन।
१९ मिनेटमै ‘नानीछोरी’ भन्दै अर्को एसएमएस !
मिसिलमा सामेल नगरिएको, त्यही कारण अदालतमा नपुगेको तर अनुसन्धान गर्ने प्रहरी समक्ष पुगेको एसएमएस डिटेलहरुको अध्ययन गर्दा हामीले अर्को एउटा अनौठो मेसेज पनि फेला पार्यौँ।
छोरीमैयाँको मोबाइलबाट मनकामना छु भनेर लेखिएको एसएमएस छोरी सुधाको मोबाइलमा राति ७ बजेर ५३ मिनेटमा आएको थियो।
त्यतिबेला सुधा बीएन्डबी अस्पतालतिर जाँदै वा फर्कँदै थिइन्। दुर्घटनामा परे कि भन्ने शंका भएर अस्पतालहरुमा खोज्न सुझाव आएकोले मामाहरुसहित टोली बनाएर विभिन्न अस्पतालहरुमा उनीहरु पुगेका थिए।
‘म बाटोमै हुँदा एसएमएस आएको हो’, सुधाले भनिन्।
राति ८ बजेर १२ मिनेटमा अर्थात् त्यो एसएमएस आएको १९ मिनेटमा छोरीमैयाँको मोबाइलमा ९८४१***९१५ नम्बरको नेपाल टेलिकमको प्रिपेड मोबाइल नम्बरबाट एसएमएस पठाइएको छ जसमा लेखिएको छ- Manakamana vanera sms aayo vanne sune nani6ori kata ho kasari tya pugyau? Hami chintit 6au 6ito ph gara.
यति छिट्टै उसले छोरीमैयाँले मनकामना छु भनी एसएमएस पठाएको जानकारी कसरी पायो?
के ऊ परिवारकै कुनै सदस्य हो?
हामीले परिवारलाई सोध्दा त्यो नम्बर कसैले चिनेनन्। ट्रुकलरमा खोज्दा यो नम्बरमा ‘चिरञ्जीवी सर’ सेभ भएको पाइयो।
यो नामका कोही पनि परिवारले चिन्दैनन्।
यति छिट्टै परिवार बाहेकका अरु कोही सदस्यलाई एसएमएस आएको कसरी थाहा भयो भन्ने जवाफ पनि परिवारलाई थाहा छैन।
‘हामीलाई यसबारे प्रहरीले केही बताएको थिएन, १० वर्षपछि आज बल्ल तपाईँहरुले भनेर थाहा भयो,’ सुधाले भनिन्।
प्रहरीले यो नम्बरको पनि सिडिआर मगाएको थियो। हाम्रो पहुँचमा पनि आएको त्यो सिडिआरमा खोजी गर्दा यो नम्बरको न छोरीमैयाँको परिवारका कसैसित सम्पर्क भएको पाइयो, न निकीको परिवारका।
‘कमन नम्बर’ कुनै पनि भेटिएन।
छोरीमैयाँ खै श्रृंखला
बानेश्वर जान्छु भनेर घरबाट निस्केकी छोरीमैयाँलाई श्यामकाजीले टेकुमा छाडिसकेपछि त्यहाँबाट उनी आफ्नो गन्तव्यतिर जाँदै गर्दा बिहान ८ बजेर १३ मिनेटमा एउटा फोन आएको थियो।
सरकारद्वारा गठित छानबिन टोलीले त्यो नम्बरबारे खोजेको थियो। टोलीको प्रतिवेदनमा लेखिएको छ-
‘बिहान ०८.१३.४४ बजे जावलाखेलकी ग्राहक रेनुले फोन गरेको र उक्त समयमा निज महिला सुन्धारामा रहेको नेपाल टेलिकमको टावरसँग सम्पर्क रहेको पाइयो।’
नानीछोरीलाई मनकामना कसरी पुग्यौ भनेर एसएमएस गर्ने ९८४१***९१५ नम्बरको सिडिआर हेर्दा पनि उनको अधिकांश लोकेसन जावलाखेल, कुमारीपाटीतिर नै एक्टिभ देखियो।
के यसमा जावलाखेलको कुनै लिङ्क छ?
यो र यससँगै यो केससँग जोडिएका अन्य पाटोबारे विस्तृत जानकारी #ChhoriMaiyaKhai को आगामी भागमा हरेक दिन उकेरामा।
(प्रजु पन्त र कृष्पा श्रेष्ठको सहयोगमा)
साउन ३२, २०७८ सोमबार १७:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।