कान्तिपुर गाथा : ‘राजनीतिमा निहुँ खोज्नु’
पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले दुई तिहाइको सरकार मजैसँग चलाइरहेका थिए। गफ हाँकेकै थिए। स्थानीय तहमा समेत धरहरा खडा गराउन लागेकै थिए।
राष्ट्रिय गानको बीचबीचमा जय गान घुसेकै थियो। हवाइजहाज र हेलिकोप्टरको धन्दा चलेकै थियो। यती, ओम्नी, मार्सी, आइटीको कुनै धन्दा नचलेको थिएन। बिजुलीको खम्बामा उनका तस्बिर झुन्ड्याइएको थियो। विश्व-विद्यालयका कुलपति र उप-कुलपतिहरु हातमा डाक्टरको उपाधि उनलाई टक्र्याउन आतुर थिए।
परिस्थिति सुखद थियो। तैपनि, उनलाई अहमत्याईं चढ्यो कि कुन्नि के भयो! अचानक निहुँ खोज्न थाले। अचम्मै भयो।
उनले पहिलो निहुँ खोजे, एमाले र माओवादीलाई जोडेर आफैंले बनाएको नेपाल कम्युनिष्ट पार्टीको आफैंले बनाएको ‘दोस्रो’ अध्यक्ष प्रचण्डसँग। उनी निहुँ खोजेको खोज्यै गर्न थाले। त्यसपछि झगडा भयो।
दोस्रो अध्यक्ष प्रचण्डले पहिलो अध्यक्ष ओलीको भण्डाफोर गरे। पत्रकारले भण्डाफोर गरेका भए केही थिएन। तर पार्टीमा आफैंले बनाएको ‘दोस्रो’ अध्यक्षले भण्डाफोर गरेपछि उनले गरेका अवैध कारोबार कान्तिपुर शहरमा चर्चाको विषय बने। त्यतिबेलासम्म उनको छवि राम्रै थियो। धन्दाका दोषहरु मन्त्रीहरुले आ–आफनो काँधमा बोकिदिन्थे। बुढा गफ लगाएर ‘मखन’ खान्थे। ठोरीमा राम मन्दिर बनाएर रामको जन्मभूमि अयोध्यालाई धूलो चटाउने योजना बनाउँथे।
निहुँ खोज्दैखोज्दै प्रधानमन्त्री जस्तो देशको कार्यकारी प्रमुख भएका अध्यक्ष ओली अचानक बालुवाटारबाट बालकोट कसरी पुगे? यो प्रश्न टड्कारो छ। प्रधानमन्त्रीका रुपमा उनले सर्वोच्च अदालतसँग निहुँ खोज्न थाले।
प्रधानमन्त्री ओलीको विचारमा यो नेपाल भन्ने चराचरको भाग्य विधाता उनै थिए। उनका अगाडि संविधान, कानुन, संवैधानिक मर्यादा, सामाजिक निष्ठा र राजनीतिक प्रतिष्ठाको केही अर्थ थिएन। ‘म’ भनेपछि ‘म’।
पहिले युरोपतिरको कुन्नि कुन चाहिँ राजालाई लागेको थियो रे, मैले आदेश दिएपछि समुद्रको छाल पनि रोकिन्छ। राजाले छाललाई रोकिने आदेश दिए। छालले आदेश सुनेन। उल्टै राजालाई पानीमा घिसार्दै लग्यो।
अध्यक्ष ओलीको केसमा पनि त्यस्तै भयो। उनलाई लागेको थियो, म जस्तो शक्तिशाली प्रधानमन्त्रीको आदेश त्यो सर्वोच्च अदालतले मान्नै पर्छ। जब मेरो एक आदेशमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक स्थगित हुन्छन् भने यो अदालतको आदेश किन स्थगित नहुने?
दुर्भाग्य, अदालतको आदेश स्थगित भएन। अध्यक्ष ओली बालुवाटारबाट बालकोट पुगे। बालुवाटारबाट अध्यक्ष ओलीलाई बालकोट पुर्याउन हिँडेको जुलुस जोशिलो थियो होला। रापिलो थिएन। राप नभएको चिसो जुलुसमा आक्रोश मात्रै हुनु स्वाभाविक हो। त्यहाँ परिचित, अपरिचित जो जति थिए, ती सबैको अनुहारमा नक्कली जोश थियो। अध्यक्ष ओलीको हातबाट सरकारको डोरी खुस्किएकोले अब त्यताबाट कुनै आशा राख्नु सजिलो थिएन। भोलिदेखि कुन नेताको झण्डा बोक्न जानु?
अध्यक्ष ओलीले सुरु गरेको निहुँ खोज्ने धन्दालाई ‘म्याडम प्रेसिडेन्ट’ विद्या भण्डारीले पनि निरन्तरता दिइन्। अध्यक्ष ओली र म्याडमको सम्बन्ध ढुंगा र माटोको जस्तै हो। यो प्रसंगमा अध्यक्ष ओली ढुंगा हुन् भने म्याडम प्रेसिडेन्ट माटो।
ढुंगा जति कडा हुन्छ, माटो त्यत्तिकै नरम। यो कुरा त देशका जन-जनलाई थाह छ, ढुंगाको भर माटो हुन्छ, माटोको भर ढुंगा। तर बीचमा एउटा उदाहरण छ। ढुंगा भनेको चक्कु जस्तै हो। चक्कुले मुला काट्न सक्छ सजिलैसँग। तर, मुलाले चक्कु भाँच्न सक्दैन। ढुंगाले माटोलाई थिच्न र किच्न सक्छ। माटोले ढुंगालाई हल्लाउन पनि सक्दैन। हो, ढुंगा माटोमुनि दब्छ। अध्यक्ष ओली र म्याडम प्रेसिडेन्ट भण्डारीको सम्बन्धको आधार पनि यही हो।
अध्यक्ष ओली प्रधानमन्त्रीको पदमा बहाल रहुन्जेल, ‘म्याडम प्रेसिडेन्ट’ को अनुहार धुमधाम ‘हँसिलो’ देखिन्थ्यो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने निश्चित भएपछि चाहिँ उनको अनुहार ‘अमिलो’ देखिन थाल्यो।
उनले पदीय बाध्यताका कारण शेरबहादुर देउवालाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराउनैपर्ने भयो। उनले अपरान्ह ४ बजे शपथ ग्रहण गराउने सूचना लेख्न लगाइन्- सर्वोच्च अदालतले जारी गरेको परमादेश बमोजिम शपथ ग्रहण गराउने व्यहोरा सहित। यसमा संविधानको ‘धारा’ त के, कमा र फूलस्टपको पनि उल्लेख थिएन। यो व्यहोरा पढेर प्रधानमन्त्री देउवाले जंगिदै भने, ‘जबसम्म यसमा संविधानको धारा उल्लेख हुँदैन, तबसम्म म शपथ नै खान्न।’
उनले अपरान्ह ४ बजेदेखि ६ बजेसम्म शपथ खाएनन्। उनले शपथ खाँदा झन्डै ७ बजेको थियो। त्यसपछि म्याडम प्रेसिडेण्ट भण्डारी शपथ खाएका प्रधानमन्त्रीलाई ‘कन्ग्य्राचुलेसन्स’ सम्म पनि नभनी ठसक्क ठस्किदै खोपीतिर प्रस्थान गरिन्। पूरै शपथ ग्रहणको अवसरभरि, म्याडम पे्रसिडेन्ट भण्डारीको मुहारमा कालो हाँसोमात्रै देखियो। निश्चय पनि, यो कालो हाँसो म्याडम प्रेसिडेण्ट भण्डारीको स्वास्थ्यका लागि सुहाउँदो कुरा थिएन।
लोकतान्त्रिक देशहरुमा शपथ ग्रहण, रात्रिभोज वा दिवाभोज भनेका राजकीय अवसर हुन्। राष्ट्रपति लगायत संवैधानिक पदका पदाधिकारीहरुले देशप्रति स्नेह र सदभाव प्रदर्शन गर्ने लोकतान्त्रिक परम्परा हो यो। राष्ट्रपति यो परम्पराको पहिलो सोपान हो। त्यो पहिलो खुड्किलोबाट लड्यो भने लड्ने मानिसको हातगोडा भाँचिन सक्छ।
म्याडम प्रेसिडेन्ट भण्डारीले शुक्रबार पनि तुजुक देखाउनु भएको छ, आफैंले नियुक्ति दिएको पदाधिकारीलाई शपथ ग्रहण गराउन इन्कार गरेर। खम्मबहादुर खातीलाई महा-न्यायाधिवक्ताको पदमा नियुक्ति दिएपछि शपथ ग्रहण गर्न सर्वोच्च अदालत पठाउनु कस्तो सभ्यता हो! यस्तो लाग्छ- प्रधानमन्त्री पदबाट अध्यक्ष ओलीको अवसानपछि म्याडम प्रेसिडेन्ट भण्डारीका लागि राष्ट्रपति निवास उजाड बनेको छ। यहाँ न मयुर नाचेका छन्, न हरिण उफ्रिएका छन्। यस्तोमा, देशको शासन गरेर एक्लै कसरी दिन बिताउनु? यो त भएन।
राजनीतिमा म्याडम प्रेसिडेण्ट पनि निहुँ खोज्दैछिन्।
साउन २, २०७८ शनिबार १४:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।