हिजोका कुरामा पर्वतारोही माया : बुबाले सुनाउने यात्रा वर्णनले हिमालतिर डोर्यायो
विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम महिला पासाङल्हामु शेर्पा हुन्। उनी लगातारको चौथो प्रयासमा सन् १९९३ अप्रिल २२ मा सगरमाथाको शिखर चुम्न सफल भएकी थिइन्।
पासाङल्हामु शिखर चुम्न त सफल भइन् तर यो सफलतासँगै उनको जीवनको अस्तित्व सगरमाथाकै शीरमा बिलायो। अर्थात् आकस्मिक रुपमा आइलागेको हिम आँधीमा परी उनको मुत्यु भयो।
विश्वकै उच्च शिखर सगरमाथा नेपाली महिलाले चढ्न नसकिरहेको अवस्थामा उनको सफलताले नयाँ कीर्तिमानको जग खडा गर्यो। उनीपछि अरु धेरै नेपाली महिलाले सगरमाथा चढ्ने प्रयास गरे। अहिले थुप्रै महिलाले सगरमाथा चढेर आफ्नो नाम राखिसकेका छन्।
पासाङल्हामुपछि पेमा डोमाले सगरमाथाको आरोहण गरिन्। पछि उनी पनि आरोहणकै क्रममा बितिन्। ९ पटक सगरमाथा आरोहण गरेर महिला पर्वतारोहीको रुपमा विश्व रेकर्ड राखेकी लाक्पा शेर्पा अहिले अमेरिकामा बस्छिन्।
महिला पर्वतारोहीमध्ये माया शेर्पाको कथा भने बेग्लै छ। तीन पटक सगरमाथाको आरोहण गरेकी माया ओखलढुंगाको खिम्जीदेम्बा रिपाल गाउँमा जन्मेकी हुन्। मायाले सगरमाथा नेपालबाट दुई पटक र तिब्बतबाट एक पटक चढिन्।
संसारका १४ वटा ८ हजार मिटरमाथिका हिमाल चढ्ने सोच बनाएकी मायासँग ८ हजार फिटका ६ वटा हिमाल चढेको अनुभव छ। १४ वटामा ८ वटा ८ हजार मिटर अग्ला हिमाल नेपालमा, ५ वटा पाकिस्तानमा र एउटा तिब्बतमा पर्छ।
सगरमाथा संसारकै सबैभन्दा अग्लो हिमाल भए पनि चढ्न गाह्रो हिमालको रुपमा पाकिस्तानको माउन्ट केटु मानिन्छ। यस्तै खतरनाक हिमालको रुपमा भने अन्नपूर्ण र कञ्चनजंघालाई चिनिन्छ। यी सबै हिमाल चढेको अनुभव सँगालेकी माया शेर्पाले पर्वतारोहणलाई करिअरको सुरुमै अपनाएकी भने होइनन्।
०००
माया जन्मेको रिपाल गाउँ एकदमै विकट थियो। बाटोघाटो, बिजुलीदेखि अन्य केही सुविधा थिएन। काठमाडौं पुग्न ४/५ दिन लाग्थ्यो। हप्तामा एक पटक हाट बजार लाग्थ्यो। त्यो बजार पुग्न पनि ४/५ घन्टा हिँड्नु पर्थ्यो। बजारमा नुन, तेल, चामल, मट्टितेल किन्न उनीहरुको खेत, बारीमा फलेका गहुँ, जौ, मुला बजारमा बेच्नु पर्थ्यो। टुकी बाल्न मट्टितेल नभई हुन्नथ्यो।
माया सानैदेखि निकै चञ्चले, चकचके र धेरै बोल्नुपर्ने स्वभावकी थिइन्। उनी गाउँमा अरु केटाकेटीभन्दा जेमा पनि अगाडि हुन्थिन्। छोरा र छोरीबीच गरिने असमानता विरुद्ध उनी सधैं उनी आवाज उठाउँथिन्। केही कुरामा चित्त बुझेन भने कुटिहाल्ने स्वभावकी थिइन्।
गाउँमा विद्यालय थिएन। तर गोठ जस्तो ठाउँमा पढ्न गएको क्षण भने उनलाई अझै याद छ।
०००
उनका बुबा किसान। त्यो बेलामा भर्खर ट्रेकिङ सुरु हुँदै थियो। तर ट्रेकिङको लागि काठमाडौं जानुपर्थ्यो।
बुबाले जीविकोपार्जनका लागि ठेक्कापट्टाको काम गर्न थाले। बाटो बनाउने कामको सिलसिलामा उनी बुबासँगै रसुवाको धुन्चे पुगिन्। त्यहाँ उनले ४ कक्षासम्म पढिन्। धुन्चेको प्राकृतिक सुन्दरताले मायालाई साह्रै मोहित बनाउँथ्यो। ठेक्काको काम सकेपछि काठमाडौंमा आएर उनलाई काकाको घरमा राखेर पढाउने व्यवस्था गरियो। उनले लैनचौरमा सिद्धार्थ स्कुल र सिद्धिगणेश स्कुलमा पढिन्।
स्कुले जीवनमा नै केही बन्छु भन्ने सोच थियो, उनमा। त्यतिबेलासम्म उनलाई पर्वतारोहणभन्दा खेलकुदतिर रुचि थियो। रुचि मार्सल आर्ट र फुटबलतिर थियो।
मायाले उनले सन् २००१ देखि ३ वर्ष भारत्तोलन खेल खेलिन्। सँगसँगै बक्सिङ पनि सिकेर खेल्न थालिन्। उनी दुवै खेलमा राम्रो खेलाडीको रुपमा अघि बढ्दै थिइन्। घर-परिवारलाई भने मायाले खेलेको पटक्कै मन पर्दैनथ्यो।
उनी भारोत्तोलनको राष्ट्रिय प्रतियोगितामा तेस्रो भइन्। खेलेर थुप्रै मेडल पाइन् तर खेलकुदमा उनले सोचे जस्तो कमाउन भने सकिनन्। साथमा गह्रुङ्गो उठाएर पछि गाह्रो हुन्छ भनेर सबैले भन्न थालेपछि उनले अर्को बाटो खोज्न थालिन्।
०००
मायाको पर्वतारोहण करिअर ट्रेकिङ गाइडबाट सुरु भएको हो। ट्रेकिङ गाइड बन्ने रुचि चाहिँ बुबाले सुनाउने यात्रा वर्णनले बढाएको थियो। ‘बुबाले घुमेको ठाउँको कथा-किस्सा सुनाउँदा-सुनाउँदै म पनि धेरै ठाउँ घुम्ने सपना देख्न थालें,’ उनी भन्छिन्, ‘त्यही क्रममा ट्रेकिङ कम्पनीमा काम गर्न थालेँ। त्यो कामले ट्रेकिङ गाइड बनायो र हिमालतिर डोर्यायो।’
ट्रेकिङ गाइड बनेपछि सगरमाथा बेसक्याम्प, कालापत्थर आउजाउ बाक्लियो। लक्ष्य अझ माथि पुग्ने हुन थाल्यो। त्यसबेला धेरै कम महिला ट्रेकिङ गाइड थिए।
मायाको लगन र साहस देखेर उनी आबद्ध कम्पनीले पर्वतारोहण तालिम दिलाएर २००३ मा अमादब्लम (६ हजार ८१२ मिटर) आरोहण टोलीमा समावेश गरायो। उनी त्यो हिमाल चढ्ने पहिलो नेपाली महिला हुन्। त्यो हिमाललाई पर्वतारोहीले अप्ठ्यारो हिमालको रुपमा लिने गर्छन्।
त्यसपछि २००४ मा उनले पुमरी (७ हजार १०० मिटर) र चोयु (८ हजार २ सय ११ मिटर) हिमाल आरोहण गरिन्। ‘यी तीन हिमाल आरोहणपछि लाग्यो, म पनि सगरमाथा पनि चढ्न सक्छु,’ माया सुनाउँछिन्।
उनलाई पहिलो पटक हिमाल चढ्दा धेरै गाह्रो भयो। ‘केही आइडिया थिएन। अहिले जस्तो सल्लाह, सुझाव र प्रशिक्षण दिने पनि कोही थिएन,’ माया आरोहणका सुरुवाती क्षण सम्झिन्छिन्, ‘हिमाल चढ्ने लुगा, जुत्ता, पञ्जा अरुका मागेर लगेको थिएँ। सामानहरु सबै महँगो हुने हुदा किन्ने सम्भव पनि थिएन। हिमाल चढ्दा चिप्लेर धेरै पटक लडें। हिउँले खाएर हातै निलो भयो।’
उनले हिमाल चढ्दा नेपाली महिला निकै कम मात्रै हिमाल चढ्थे। ३२ जना विद्यार्थीमा १२ जना प्रशिक्षकमध्ये उनी मात्रै महिला थिइन्। बाटोमा, बेस क्याम्पमा नेपाली महिला पनि खासै हुँदैनथे। उनले काम गर्दा समाजले पनि पर्वतारोहणमा लागेका महिलालाई राम्रो मान्दैनथ्यो। तैपनि उनको पर्वतारोहणप्रतिको लगाव र रुचि झन्झन् बढ्दै गयो।
उनी विगत पाँच वर्षदेखि हिमाल सम्बन्धी प्रिजेन्टेसन र लेक्चर दिंदै आएकी छिन्। उनको हिमाल चढ्ने सिजन बाहेकका ९ महिना विदेशी पर्वतारोहीहरुलाई हिमाल, नेपाल र पर्वतारोहण सम्बन्धी प्रिजेन्टेसन र प्रशिक्षणमा व्यस्त हुन्छिन्।
कञ्चनजंघ तीन पटकको प्रयासपछि मात्रै पूरा गरेको बताउँदै उनी भन्छिन्, ‘तीन पटकको प्रयासमा बल्ल पूरा गरें।’ पैसा, समयको साथमा आफूले दुःख पनि धेरै झेल्नु परेको उनले बताइन्। ‘केटु र अन्नपूर्ण हिमाल चढ्ने बेला धेरैले त्यो हिमाल चाहिँ नचढे हुने समेत भने। हिम पहिरो बढी आउने हिमाल भएकोले धेरैलाई मरिहाल्छे की भन्ने डर थियो,’ मायाले भनिन्।
ती हिमाल चढ्दा अस्ट्रेलियन महिला पर्वतारोहीलाई सहयोग गर्दै लगेकी थिइन् उनले। २८ दिन पूरा लाग्यो। जति गाह्रो भए पनि डर भने नलागेको उनले सुनाइन्।
त्यसपछि मायाले २००४ देखि २००९ सम्म हरेक सिजनमा हिमाल चढिन्। २००६ मा सगरमाथा चढेकी उनले २००७ मा तिब्बतबाट, २०१६ बाट नेपालबाटै गरेर तीन पटक सगरमाथाको आरोहण गरिसकेकी छिन्।
उनले ८ हजार माथिका ६ वटा सहित २३ वटा हिमाल आरोहण गरिसकेकी छिन्। सबैसँग घुलमिल भइहाल्ने स्वभावले नयाँ र पुराना सबै पर्वतारोहीसँग उनको राम्रो सम्बन्ध छ। नेपालमा सबैभन्दा बढी हिमाल चढ्ने महिलामा उनी नै पर्छिन्।
०००
मायाले नेदरल्यान्ड्सका आरोही अर्नोल्ड कोस्टरसँग विवाह गरिन्। यो जोडीलाई हिमालले नै विवाहको अवसर जुराइदिएको थियो। पाँच पटक सगरमाथा आरोहण गरेका कोस्टर र मायाले सन् २००७ मा तिब्बततर्फबाट सँगै सगरमाथा आरोहण गरे।
नेपालजस्तो अथाह सम्भावना बोकेको देशका नागरिक विदेशिनु परिरहेको अवस्था देख्दा आफूलाई दुःख लागेको बताउने पर्वतारोही मायाले अबका दिनमा बाँकी ८ वटा ८ हजार मिटरका हिमाल चढ्ने सपना देखेकी छिन्।
असार ३१, २०७८ बिहीबार १७:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।