निर्वाचन आयोगको ठहर– माओवादी केन्द्र वैधानिक छ

निर्वाचन आयोगको ठहर– माओवादी केन्द्र वैधानिक छ

काठमाडौं : निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) वैधानिक रहेको ठहर गरेको छ।

माओवादी केन्द्र अवैधानिक रहेको भन्दै दल दर्ता खारेज गर्नुपर्ने माग राखी निवेदन परेपछि प्रमुख निर्वाचत आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा आज (आइतबार) बसेको आयोगको बैठकले उक्त निवेदनमाथि केही गर्न नपर्ने निर्णय गरेको हो। 

आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले आयोगको आज बसेको बैठकले माओवादी केन्द्रलाई वैधानिक ठहर पुष्टि गरे। 

‘केही दिनअघि नेकपा माओवादी केन्द्र अवैधानिक भन्दै दर्ता खारेजीका लागि केही दिनअघि आयोगमा निवेदन परेको थियो। आजको बैठकले उक्त निवेदनमाथि केही गर्न नपर्ने निर्णय गरेको हो,’ उनले भने। 

नेपालको संविधान, निर्वाचनसम्बन्धी ऐन तथा नियमावली र कानुन अनुसार आयोगमा दर्ता भई निरन्तररूपमा सञ्चालनमा रहेको देखिएकाले उक्त निर्णय लिएको आयोगले जनाएको छ। 

 माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका नेताको तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले यही असार २३ मा माओवादी केन्द्र अवैधानिक रहेको भन्दै दल दर्ता खारेजीको माग राखी आयोगमा निवेदन दिएका थिए। निवेदनमा माओवादी केन्द्रले २०६९ सालपछि महाधिवेशन नै नगरेकाले दर्ता खारेजीकाे हुनुपर्ने माग गरिएकाे थियाे। 
 

असार २७, २०७८ आइतबार १६:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।