हिजोका कुरामा गायिका संगीता शाक्य : शान्ति र हेलेन शाहले मेकअप गरिदिएको त्यो क्षण
सानै उमेरमा कृष्ण पाउरोटी, एभरेस्ट टुथपेस्टदेखि धेरै विज्ञापनमा उनको आवाज गञ्जिन्थ्यो। संगीतालाई 'विज्ञापनकी रानी' समेत भनिन्थ्यो त्यतिबेला।
चर्चित बाल गीत ‘पुतली हो पुतली’ मा स्वर दिएपछि उनी धेरैको नजरमा परेकी थिइन्। उनले नेपाली संगीतका पुराना पुस्ता कोइलीदेवी, नातीकाजी, शिवशंकरदेखि धेरैको संगीतमा स्वर भर्ने मौका पाइन्। उनले बाल गीत, आधुनिक गीत, भजन, राष्ट्रिय गीत र नेपाल भाषाका गीत गरेर ९ सय वटा गीतमा स्वर दिएकी छिन्।
उस्ताद भैरवबहादुर थापा र गायिका धर्मादेवी थापाकी छोरी हुन्, संगीता। उनका हजुरबुबा उस्ताद पदमबहादुर थापा त्यतिबेला दरबारमा संगीत सिकाउँथे। उस्ताद थापाले बुबा पदमबहादुर नन्दलालजी, पण्डित यज्ञराज शर्मा, संगीत प्रविण नरराज ढकालसँग संगीत सिकेका थिए।
पारिवारिक पृष्ठभूमि नै सांगीतिक भएकोले संगीतामा पनि सानैदेखि संगीतप्रति लगाव हुनु स्वभाविक नै थियो।
उस्ताद भैरबबहादुरसँग संगीत सिक्न जो पनि लालयित हुन्थे। उनी घरमै संगीत कक्षाहरु लिन्थे। गायिका तारादेवी ७ वर्षकी हुँदादेखि नै थापासँग संगीत सिक्न आउँथिन्। उनले नै तारादेवीलाई रेडियोमा गीत गाउन लगेका थिए। उनी दरबारमा तत्कालीन रानी रत्नलाई पनि संगीत सिकाउँथे।
घरभरि विभिन्न बाजा थिए। तबला, सितार, हार्मोनियम, तानपुरा बजाएर सांगीतिक चहलपहल भइरहन्थ्यो। थापासँग घरमा प्राणदेवी, प्रेमध्वज प्रधान, शान्ति शाह, दीपतारा ताम्राकार, शेखर प्रधान, कमल क्षेत्री, ध्रुव केसी लगायत संगीत सिक्न आउँथे। प्राणदेवी गायक प्रेमध्वजकी आमा हुन्।
उस्ताद थापाले प्राणदेवीका आमा–छोरालाई नै संगीत सिकाउँथे। संगीताको नाम पनि प्राणदेवीले नै फेरिदिएकी थिइन्। पहिले उनको नाम अर्कै थियो। उनीहरुसँग धिर्जलाल, हरिप्रसाद रिमाल, भैरवनाथ रिमाल कदम, राजु अग्रवाल, चेतन कार्की, श्यामदास वैष्णव, होमनाथ उपाध्याय, तारावीरसिंह, कमला श्रेष्ठ, कालु गुर्जु, तबलाबादक इन्द्रलाल श्रेष्ठ, हुतराज शर्मा, धर्मराज थापा आदि घरमा आएर सांगीतिक माहोल जमाइरहन्थे। दुई/तीन वर्षकी संगीता बुबाको काखमा बसेर घन्टौं गीत–संगीत सुन्थिन्।
संगीतालाई चार वर्षको उमेरदेखि नियमित गायन कक्षा सुरु गराइयो। उनी र दिदी शान्ति थापालाई सँगै राखेर गीत सिकाइन्थ्यो। संगीता जस्तो गीत पनि सरल र आफ्नै तरिकाले गाउन माहिर थिइन्।
६ वर्षकै उमेरमा उनले रेडियो नेपालको बाल गीत प्रतियोगितामा भाग लिएर प्रथम भइन्। त्यसपछि पुनः दुई पटक बाल गीत प्रतियोगितामा पहिलो भएपछि उनले भाग लिन छोडिन्। उनले भाग लिएको प्रतियोगितामा अरु गायिकाहरु भग लिन डराउँथे। संगीताले भाग लिँदा आफूले मौका नै पाउँथेनौं भन्ने ठान्थे।
उमेरले सानै भए पनि गीत–संगीतमा उनी परिपक्व बन्दै थिइन्। घरमा झ्याल खोलेर ठूलो–ठूलो स्वरमा रियाज गर्दा घर मुनि टन्न मान्छेहरु झुम्मिएर सुन्थे।
बिहान स्कुल जानुअघि बुबासँग संगीत सिक्दै अभ्यास गरेर बस्थिन् संगीता। रेडियोमा बाल कलाकारको रुपमा प्रवेश गरेकी उनले ६ वर्षको उमेरदेखि नै बाल गीतहरु रेकर्ड गराएकी थिइन्। उनको पहिलो रेकर्ड भएको बालगीत ‘म्याउँ, म्याउँ बिरालो, यतातिर आउ’ थियो।
‘माइक अगाडि बस्दा मलाई साह्रै रमाइलो लाग्थ्यो। दिनभरि माइक अगाडि बसेर गीत गाइरहुँ जस्तै लाग्थ्यो,’ उनी पुराना कुरा सम्झिन्छिन्।
बुबाको हात समाएर रेडियो नेपाल पुग्ने संगीतालाई रेडियोका सबै कलाकारले उत्तिकै माया गर्थे। गायिका कोइलीदेवीले उस्ताद थापालाई ‘संगीता भविष्यकी लता जस्तै संगीतकी तारा हुन्, राम्ररी सिकाउनु है’ भनेको उनी अहिलेसम्म सम्झिन्छिन्।
अधिराज्यव्यापी बाल गीत प्रतियोगितामा राष्ट्रिय गीत गाएर प्रथम भएकी संगीताले दरबारमा तत्कालीन रानी ऐश्वर्याको अगाडि गीत गाउने मौका पाइन्। सामूहिक गीतमा सबैभन्दा सानी भएकीले उनलाई बीचमा राखेर गाउन लगाइएको थियो। त्यतिबेला दरबारमा शान्ति शाह र हेलेन शाहले संगीतालाई मेकअप गरेर ड्रेस लगाइदिएका थिए। सो प्रतियोगितामा प्रथम भएकालाई रसियामा पढ्न पठाउने व्यवस्था थियो तर सन्चो नभएर उनी जान पाइनन्।
रेडियोमा ६/७ वर्षकै उमेरमा गीत रेकर्ड गर्न जानुपर्थ्यो। दिदी शान्ति र उनी कालधारा, कुस्लेचौर घरबाट विस्तारै हिँड्दै सिंहदरबार पुग्थे। रत्नपार्कमा काँक्रो र बदाम खाँदै, पार्क भित्रको माछापोखरी घुम्दै उनीहरु विस्तारै सिंहदरबारतिर लाग्थे। संगीतालाई त्यतिबेलाको रत्नपार्कदेखि भद्रकालीसम्मको बाटो साह्रै मनपर्थ्यो।
सिंहदरबार भित्र पुगेपछि संगीताको शानै बेग्लै हुन्थ्यो। सबैले फुच्ची गायिका आइन् भन्दै माया गर्थे। भजन शिरोमणि भक्तराज आचार्य हरेक पटक संगीताको टाउकोमा हात राखेर ‘के छ पुतली?’ भन्थे। त्यतिबेला आचार्यले मात्रै होइन, धेरैले संगीतालाई पुतली भनेरै बोलाउँथे।
गोपाल योञ्जनको संगीतमा नुपुर भट्टराईले गाएको ‘पुतली हो पुतली’ गीतमा संगीता र शान्तिले पुतली भएर स्वर दिएका थिए। उनलाई सबैले पुतली भनेर बोलाउनुको कारण यही थियो। यो गीत यति चल्यो कि, जसको मुखमा पनि झुन्डिने। अहिले पनि बाल कार्यक्रमहरुमा यही गीत बजाएर बालबालिकालाई नचाइन्छ।
९ वर्षको उमेरमा संगीताले राष्ट्रिय नाचघरमा दुई वर्ष तालिम लिन पाइन्। त्यो दुई वर्षमा अभिनय, गायन, वाद्यवादन र नृत्य सिकाइन्थ्यो। नारायण गोपाल राष्ट्रिय नाचघरको निर्देशक थिए। श्यामदास वैष्णवले अभिनय, विमला श्रेष्ठले नृत्य, चन्द्रराज शर्मा र तारादेवीले गायन तथा सुवि शाहले वाद्यवादन सिकाउँथे।
त्यहाँ हरेक ६/६ महिनामा परीक्षा लिइन्थ्यो। तीन पटकको परीक्षामा उनले बढी नम्बर ल्याइन् र एउटा परीक्षामा गायक चन्द्रराज शर्माको छोरा तथा पण्डित यज्ञराज शर्माका नाति सुदेशराज शर्मा पहिलो भए।
राम्रो अंक ल्याउने संगीता र सुदेशराजले नाचघरमा दुई वर्ष करारमा जागिर पाए। ११ वर्षमै जागिर खाएकी संगीताले मासिक रु.३५० तलब पाउँथिन्। दुई वर्षमा उनले देशैभरि विभिन्न कार्यक्रममा भाग लिन पाइन्। गायनको साथमा नाटक र कथक नृत्यहरु पनि धेरै स्टेजहरुमा गरिन्। उनले अभिनय गरेको ‘सत्य प्रतिस्पर्धा’ नाटक निकै चलेको थियो। त्यो नाटकमा उनले बालक ध्रुवको भूमिका निभाएकी थिइन्।
रेडिया नेपालको २७औं वार्षिकोत्सवमा आयोजना भएको आधुनिक गीत प्रतियोगितामा गायनतर्फ संगीता र संगीततर्फ उनका बुबा भैरवबहादुर प्रथम भएका थिए। जतिबेला संगीता जम्मा ११ वर्षकी मात्र थिइन्।
भैरबनाथ रिमाल कदमले लेखेको ‘मै गोरीलाई लैलै मुसलधारे पानीको’ गीत गाएर प्रथम भएपछि उनले रेडियो नेपालमा ‘क’ श्रेणीको गायिकाको रुपमा प्रवेश पाइन्।
क श्रेणीका गायक–गायिकाले उनको पालामा एउटा गीत रेकर्ड गर्दा ३० रुपैयाँ पारिश्रमिक पाउँथे। पारिश्रमिक पाएको रकम बुबालाई नै गुरु दक्षिणाको रुपमा दिन्थिन् संगीता।
३० को दशकमा रेडियो नेपालमा सबैभन्दा सानो उमेरकी गायिका संगीता र गायकमा उदितनाराण झा थिए। भारतीय दूतावासमा कार्यक्रम हुँदा उदितनारायण र संगीताले गीत गाएका थिए। त्यसपछि संगीता र उदितले भारतीय दूतावासबाट पुनेमा संगीत पढ्न जाने छात्रवृत्ति पाए। ११ वर्षकी छोरीलाई भारत पठाउन आमाले स्वीकृति दिइनन्। उदितनारायण भने छात्रवृत्तिमा पढ्न गए। भारतमा संगीत पढ्न जान नपाएको पीडा उनलाई अझै पनि छ।
संगीताले रेडियो नेपालमा उस्ताद भैरबबहादुरको गीत–संगीतको साथमा नातीकाजी, शिवशंकर फत्तेमान, कोइलीदेवीका गीत–संगीतामा धेरै नै गीत गाएकी छिन्। रेडियोमा सधैं बिहान बज्ने ‘ओम जय जगदीश हरे’ भजनमा पनि उनको स्वर छ।
संगीतालाई रेडियोमा रहँदा कोइलीदेवीसँगको स्मरण भने खास लाग्छ। कोइलीदेवी शान्ति र संगीता दुवैलाई उत्तिकै माया गर्ने। उनीहरु पनि रेडियोमा छिर्नासाथ कोइलीदेवीकै काठामै छिरिहाल्थे। संगीताले कोइलीदेवीको संगीतमा धेरै नै गीत गाएकी छिन्।
कोइलीदेवीसँग सानो खालको हार्मोनियम थियो। संगीतालाई देख्नासाथ दराजबाट हार्मोनियम निकालेर गीत सिकाउन र गाउन लगाइहाल्थिन्। २/३ घन्टा गीत गाउन लगाएपछि टन्न खाजा खुवाएर पठाउँथिन्। कोइलीदेवीसँगै बसेर धेरै गीतहरु सिक्दै गाउँदाको क्षण जीवनका अविष्मरणीय क्षणहरुमध्ये पर्छ संगीताका लागि। उतिबेला कोइलीदेवी गायनको साथमा व्यस्त संगीतकार पनि थिइन्।
कोइलीदेवीको संगीतमा ‘सोधुँ सोधुँ लाग्छ मलाई मिलनका दिन, बोलुँ बोलुँ लाग्छ मलाई जीवनमा गीत’ र फत्तेमान राजभण्डारीले संगीत दिएको अन्तिम गीत पनि संगीताले नै गाउने मौका पाइन्। रिहलर्सरमा सँगै भए पनि गीत रेकर्ड गर्दा भने फत्तेमानको निधन भइसकेको थियो।
अबको पालो मेरो प्रभु
अब जाने पालो मेरो प्रभु।
यो गीतको रिहर्लसलमा फत्तेमानले ‘नातीकाजी, शिवशंकर सबै गइसके, अब जाने पालो मेरो’ भन्दै हार्मोनियम बजाएर सुनाएको संगीतालाई हिजै जस्तो लाग्छ।
संगीता १५ वर्षकी हुँदा उनका बुबाको निधन भयो। नेपाली संगीतका हस्ति भैरवबहादुर थापा बितेपछि संगीताको विवाह १६ वर्षकै उमेरमा भयो। श्रीमान् पनि संगीतको पारखी भएकाले संगीतमा लाग्न रोक भने लागेन।
पहिले गीत गाउँदाका क्षणहरु सम्झँदा अहिलेको माहोल उनलाई खास लाग्दैन। संगीता भन्छिन्, ‘संगीतकार, रचनाकार, वाद्यवादकहरु सबै बसेर गीत रेकर्ड गर्दाको मज्जा नै बेग्लै हुन्थ्यो। अहिले त कसको गीत, क–कसले बजाए, केही थाहा हुँदैन।’
असार १०, २०७८ बिहीबार १७:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।