कोभिड-१९ महामारीमा प्रतिजैविक सहनशीलताको चिन्ता

कोभिड-१९ महामारीमा प्रतिजैविक सहनशीलताको चिन्ता

फेसबुक लगायत विभिन्न सामाजिक सञ्जालमा स्वनामधन्य विशेषज्ञले दिएका सल्लाह–सुझावले पनि यस्तो प्रवृत्ति बढेको कुरालाई पुष्टि गर्छ।

अध्ययन अनुसार अस्पतालमा भर्ना भएका ८ प्रतिशतलाई मात्र एन्टिबायोटिकको आवश्यकता देखिएको भए पनि ७० प्रतिशतभन्दा बढीले एन्टिबायोटिक लिइरहेको अनुमान गरिएको छ।

धेरै मानिसले कोभिड-१९ को बढ्दो लहरसँगै चिकित्सकलाई नसोधी आफूखुसी एन्टिबायोटिक किन्छन्। यसले एन्टिबायोटिक प्रतिरोधको विश्वव्यापी सङ्कटलाई थप तीव्र बनाउने जोखिम बढेर गएको देखिन्छ।

हामीले अन्तर्राष्ट्रिय नीति राष्ट्रिय कानुन एवं स्थानीय कदमको सहयोगमा यो चुनौतीको सामना गर्नुपर्ने हुन्छ। विश्व स्वास्थ्य सङ्गठनले एन्टिबायोटिक प्रतिरोधलाई भविष्यमा मानवतामाथि आइपर्ने दस प्रमुख स्वास्थ्य सङ्कटमध्ये एक मानेको छ।

एन्टिबायोटिकले ब्याक्टेरियाले गराउने सङ्क्रमणलाई निको पार्छ। कोभिड-१९ गराउने भाइरसलाई यसले खासै छुँदैन। यसको अनावश्यक अति प्रयोग र न्यून प्रयोगले ब्याक्टेरियामा एन्टिबायोटिक विरुद्ध प्रतिरोध शक्तिको विकास हुन्छ। त्यसपछि सामान्य रोगको उपचार पनि कठिन हुन्छ एवं निमोनिया तथा पिसाब नलीको सङ्क्रमण जस्ता सामान्य सङ्क्रमण पनि प्राणघातक हुनसक्छ, जुन आजको दिनमा यी रोग सामान्य एन्टिबायोटिकको प्रयोगले छिटो निको हुने गरेको छ।

कमजोर स्वास्थ्य सेवा प्रवाह प्रणाली भएका एवं एन्टिबायोटिक बिक्रीमा कुनै नियन्त्रण नभएका अफ्रिकी, दक्षिण अमेरिकी एवं एसियाली मुलुकमा यसले विकराल रूप लिने जोखिम बढ्ला जस्तो छ।

हाम्रो आफ्नो परिवेशमा एन्टिबायोटिकको बिक्री मानवीय प्रयोजनका लागि होस् वा पशुपंक्षीको उपचार प्रयोजनका लागि, एन्टिबायोटिकको प्रयोग पछिल्ला केही वर्षहरूमा अत्यधिक दरले बढेर गएको देखिन्छ।

चिकित्सक, पशु चिकित्सकको आधिकारिक सिफारिसविना नै औषधि पसलबाट एन्टिबायोटिकको बिक्री झनै बढ्दो छ। अफ्रिकी, उत्तर अमेरिकी एवं एसियाका विकासशील देशहरूमा सबै प्रकारका एन्टिबायोटिक औषधि चिकित्सक, पशु चिकित्सकको सिफारिसविना नै किन्न सकिन्छ।

एन्टिबायोटिक विरुद्ध प्रतिरोध क्षमता विकास गरेका ब्याक्टेरियाबाट हुने रोगहरूको उपचार निकै गाह्रो हुने गर्छ किनभने तिनले गैरप्रतिरोधी ब्याक्टेरियाले गराउने सङ्क्रमणभन्दा तीनगुणा बढी मानिएकोले ज्यान पनि लिन सक्छ।

चीन र इजिप्ट लगायत कैयौँ देशका अस्पतालका सिसियुमा हुने ५० प्रतिशत ब्याक्टेरिया सम्बन्धी सङ्क्रमण विरुद्ध धेरैखाले एन्टिबायोटिकहरु निष्प्रभावी भएको अभिलेख पाइन्छ।

अमेरिकामा प्रत्येक वर्ष करिब ३० लाख मानिसलाई एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको सङ्क्रमण हुने गरेको तथ्य बाहिर आएको स्थिति छ। एन्टिबायोटिक प्रतिरोधी ब्याक्टेरियाको सङ्क्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्न सक्छ। त्यसैले यसले समय समयमा अस्पताल, नर्सिङ होमहरूमा प्रकोपको रूप लिने गर्छ।

कोभिड–१९ को उपचारका लागि प्रयोग हुने धेरै उपचार कक्ष अहिले यही समस्यासँग जुधिरहेका छन्। त्यसैले होला उपचाररत बिरामीको मृत्यु सङ्ख्या पनि बढिरहेको छ।

आजको परिस्थितिमा चिकित्सकहरूले विषम खालको ब्याक्टेरियाबाट सङ्क्रमित बिरामीको उपचारमा निकै अप्ठ्यारो स्थिति भोगिरहेका छन्। किनभने, तिनको सङ्क्रमणमा सबैखाले उपलब्ध एन्टिबायोटिकले केही लछारपाटो लगाउन सकिराखेको छैन।

यस्ता ब्याक्टेरियामा प्रतिरोधको उपचारमा प्रयोग गर्न सकिने पछिल्लो समयमा विकसित औषधि अत्यन्तै महँगा छन्। र, ती थोरै देशमा उपलब्ध छन्। यस्ता महँगा औषधि अधिकांश बिरामीको पहुँच बाहिर हुन्छन्।

कोभिड-१९ को उपचारका लागि ल्याइएका धेरै बिरामीले रोगको लक्षण अनुसार घरमै एक वा बढी एन्टिबायोटिक प्रयोग गरिसकेको अवस्था छ भन्दा हुन्छ। यस्ता औषधिको प्रयोगले उनीहरूमा ठिक हुँदैछु भन्ने भावना विकास गराउने हुँदा अस्पताल पनि ढिलो उपचार गराउन जाने गर्छन्। तर यसबाट उत्पन्न हुने एन्टिबायोटिक प्रतिरोध उपचार गर्न निकै महँगो पर्छ र ज्यानै पनि जाने सम्भावना बढेर जान्छ।

एन्टिबायोटिक प्रतिरोधको भावी महामारीलाई रोक्न के गर्नुपर्ला?

सुरुमा विश्व स्वास्थ्य सङ्गठन तथा अन्य विश्वव्यापी निकायहरूले कोभिड–१९ को सन्दर्भमा एन्टिबायोटिक प्रयोग गर्नु नपर्ने कुरा स्पष्ट रूपले बताउनुपर्ने देखिन्छ।

राष्ट्रिय एवं स्थानीय सरकारले चिकित्सकको आधिकारिक सिफारिसविना कुनै पनि खाले एन्टिबायोटिक खरिद–बिक्री गर्न नमिल्ने व्यवस्था गर्नुपर्ने हुन्छ। साथै नियमन पनि गर्नुपर्ने हुन्छ। यस्तो बिक्री–वितरण गर्ने ऐन कानुनमा व्यवस्था गरी लामो समयसम्म लागू गर्नसके प्रभावकारी काम गर्ने विभिन्न देशको प्रयोगले सिद्ध गरेको दृष्टान्त पाइन्छ।

चिकित्सकको आधिकारिक सिफारिस पत्र विना एन्टिबायोटिकको बेचबिखन गैरकानुनी हो भन्ने सूचना औषधि पसलमा टाँस गरेर पनि एन्टिबायोटिकको बेचबिखन निर्बाध हुने परम्परा घटाउन सकिन्छ।

साथै, अस्पतालमा कार्यरत अधिकारप्राप्त चिकित्सकले पनि सबैखाले जुनसुकै कारणले बिरामी परेकालाई एन्टिबायोटिक प्रयोग नगरी निको हुँदैन भन्ने मानसिकता त्यागी अनावश्यक सिफारिस घटाउने रणनीति अपनाउनुपर्ने हुन्छ।

तर, हाम्रो जस्तो परिवेशमा ‘नानीदेखि लागेको बानी’ भनेझैँ त्यति चाँडो कसरी पो घटाउन सकिएला? कुराको चुरो त यहीँ छ। यस्ता कदमले एन्टिबायोटिक प्रयोग मात्र हैन, तिनको मूल्य पनि घटाउन सहयोगी हुनेछ।

लामो समयावधिमा यसले अस्पतालहरूमा एन्टिबायोटिक प्रतिरोधी सङ्क्रमणको सङ्क्रमण न्यूनीकरण गराउनमा सहयोगी हुनेछ।

प्रभावकारी रणनीति अन्तर्गत सामान्य सङ्क्रमणको उपचारमा के गर्न सकिन्छ भन्ने स्वास्थ्य उपचार निर्देशिका एवं मापदण्डको विकास गर्ने, भाइरसको सङ्क्रमणमा एन्टिबायोटिकको प्रयोगमा रोक लगाउने, न्यूनीकरण गर्ने, आर्थिक रूपमा कमजोर मुलुकहरूमा प्रयोगशाला सेवा विस्तार क्षमता अभिवृद्धि गराउने जस्ता कुरामा राज्यको ध्यान जानुपर्ने देखिन्छ। जसका लागि आवश्यक भौतिक पूर्वाधार एवं दक्ष मानवीय जनशक्तिको व्यवस्थापन तथा आर्थिक स्रोतको सुनिश्चितता राज्यको प्राथमिकतामा पर्नुपर्ने हुन्छ।

सुविधा सम्पन्न प्रयोगशालाले कुन ब्याक्टेरियाका लागि कुन एन्टिबायोटिकले प्रभावकारी उपचार हुन्छ भन्ने निर्क्योल गर्ने हुँदा उचित एवं सटिक एन्टिबायोटिक सिफारिस गर्न सम्भव बनाउँछ। चिकित्सकलाई पनि एन्टिबायोटिक प्रयोग सम्बन्धमा नियमित पुनर्ताजगी तालिम प्रशिक्षण दिनुपर्ने हुन्छ।

अहिले कोभिड-१९ को त्रास व्याप्त छ तर यो डर त्रासका कारण अनावश्यक एन्टिबायोटिकको प्रयोग गरेर जनसमुदायको स्वास्थ्यलाई थप जोखिममा पार्न हुँदैन। यदि हामीले एन्टिबायोटिकको प्रयोग न्यूनीकरण गर्न अहिलेबाट नै काम सुरु गरेनौँ भने नयाँ महामारीलाई निम्तो बाँडेजस्तो हुनेछ। साथै, कोभिड–१९ जस्तो यस सम्भावित महामारीबाट कुनै खोपले पनि हामीलाई बचाउन सक्ने छैन।

त्यसैले भनिएको छ कि, हिजो बाँचेका थियौँ र पो अहिले छौँ, आज नबाँचे भोलि कसरी बाँचिरहौँला, भोलि कसले पो देखेको छ र? त्यसैले भविष्यमा एन्टिबायोटिकले निम्त्याउने महामारीबाट आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ।

(डा. कार्की वरिष्ठ पशु चिकित्सक हुन्।)

असार ३, २०७८ बिहीबार ०७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।