‘अहिले गुन्डा लेख्छौ, भोलि मन्त्री भनेर लेख्ने दिन पनि आउँछ’

‘अहिले गुन्डा लेख्छौ, भोलि मन्त्री भनेर लेख्ने दिन पनि आउँछ’

ट्याब्लोइड साइजमा प्रकाशित भइरहेको थियो नयाँ पत्रिका। कहलिएका कुनै गुन्डाको अन्तर्वार्ता गर्ने कि भनेर राखेको प्रस्ताव सम्पादकीय नेतृत्वबाट स्वीकृत भएपछि पहिला दीपक मनाङेलाई नै प्रस्ताव गरेको थिएँ। तर उनले मानेनन्।‘पछि गरौला’ भने।

दोस्रो छनोटमा परे भर्खरै जेल जीवन सक्काएर बाहिरी दुनियाँमा आएका चक्रे मिलन। सम्पर्क सूत्रमार्फत पठाएको प्रस्ताव स्वीकार भयो। महाराजगन्जमा रहेको उनकै घरमा पुगेर अन्तर्वार्ता गरेँ। 

मनाङे र चक्रे एक अर्काका प्रतिस्पर्धी मात्रै हैन दुस्मनको रूपमा परिचित थिए काठमाडौँको अपराध सञ्जालमा। तर अन्तर्वार्ता प्रकाशित भएकै आधारमा मनाङे यत्ति झोक्किएलान् जस्तो लागेको थिएन। झोक्किए।

राजनीति सम्बन्धी रिपोर्टिङ छाडेर भर्खर सुरक्षासम्बन्धी विषयमा लेख्न थालेको थिएँ। कहलिएका गुन्डा नै रिसाएपछि त हल्का डर लाग्ने नै भयो। नभेटी भएन। मनाङेसँग निकट स्रोतमार्फत भेटघाटको प्रस्ताव पठाएँ।

कुरा मिल्यो। बेलुका ८ बजे फायर क्लब।

०००

सञ्चय कोषको अपोजिट पुगेर बोर्डहरू हेरेँ। ठ्याक्कै अगाडि आइपुगेको रहेछु। बाइक बाहिरै राखेर भित्र छिरेँ। अन्डरग्राउण्ड हुँदै भित्र पुगेजस्तो लाग्छ। 

‘दीपक दाइलाई भेट्न आएको।’ 

एकै छिन पर्खन लगाए। भित्रबाट एक जना मसल्स म्यान आए। अलि घुमाउरो बाटो हुँदै खुला हलमा पुर्याए।

अहो! भित्र हल भरिभराउ थियो। वरिपरि केटाहरू, बीचमा मनाङे। म एकछेउको कुर्सीमा बसेर कान थापेँ।

गफ राजनीतिको हुँदै थियो।

‘तिमीहरू राजनीति नै बुझ्दैनौ’ भन्दै एकोहोरो प्रवचन दिइरहेका थिए मनाङे। कुरा सुन्दा उनीसँग राजनीतिक प्रशिक्षण लिनेहरू नेपाल विद्यार्थी सङ्घका युवा नेता भन्ने ठम्याएँ।

०००

काठमाडौँको सङ्गठित अपराधमा कहलिएको नाम थियो दीपक मनाङे, चक्रे मिलन, राजु गोर्खाली, गणेश लामा, कुमार घैँटे, दिनेश अधिकारी चरी। अन्य गुन्डाहरू पनि नभएका हैनन्। तर ती कुनै न कुनै रूपमा यी नाइकेहरूसँगै जोडिन्थे। 

मनाङबाट आएकाले राजीव गुरुङ दीपक मनाङे भएका थिए। मिलन गुरुङ चक्रपथमा बस्दा चक्रे मिलन बने। राजेन्द्र गोर्खालीकै राजु गोर्खाली, कुमार श्रेष्ठले किन घैँटे उपनाम पाएका थिए खुलेन। लुखुरे, फुत्त फुत्किने भएर धादिङका दिनेश अधिकारीलाई चरी उपनाम दिइएको रहेछ।

यीमध्ये मुख्य चार जना कहलिएका थिए २०६४/०६५ तिर। मनाङे, चक्रे, गणेश अनि कुमार। उनीहरूको आ–आफ्नो आधार क्षेत्र थियो। ठमेल मनाङेको। त्यसमा गणेशको दबदबा सुरु भएको थियो। चक्रे मिलनको चक्रपथ क्षेत्र भइहाल्यो। कुमारको सामाखुसी एरिया। चरीको चाहिँ सोह्रखुट्टे, नयाँ बजार क्षेत्र।

गोर्खाली बाहेक अन्यसँग मनाङेको त्यत्ति राम्रो सम्बन्ध थिएन। चक्रेसँग त दुस्मनी हुने नै भइहाल्यो। मनाङेको समूहको आक्रमणमा हातै छिनेको थियो चक्रेको। दुस्मनी हुने पनि भयो।

ठमेलमा कुनै नयाँ व्यवसाय गर्नुपर्यो भने मनाङेको अनुमति अनिवार्य। अझ रात्रिकालीन व्यवसाय खोल्न त सरकारी निकायभन्दा पहिला उनको अनुमति चाहियो नै। जसले लौ हेरौँ त भनेर खोल्यो त्यसको लगानी पक्का डुब्यो।

‘म व्यवसायी हुँ तर पत्रकार र पुलिस मिलेर मलाई जबर्जस्ती गुन्डा बनाए,’ हरेक पटक उनले गर्ने दाबी यही नै हो। उनले आफूलाई व्यापारीको रूपमा प्रस्तुत गरिरहे।

देखिने व्यापार उही केही रेष्टुरेण्टहरुमा लगानी। ठमेलको झिटीगुन्टामा पनि उनकै हालीमुहाली रहेछ। एउटा ट्राभल एजेन्सी पनि देखिन्थ्यो।

उनको रवाफ, उनको वरिपरि दाइ भन्दै हिँड्ने समूहको खर्च पानी सबै हेर्दा देखिने व्यवसायले मात्रै कहाँ खर्च धान्थ्यो र।

गुन्डा मैत्री प्रहरीको एकाएक रणनीति बदलियो। दिनेश अधिकारी चरी मारिए। गुन्डाहरू दुलो पसे। मनाङे पनि ओइलाए। ठमेलमा उनको वर्चस्व खस्कँदै गयो। चक्रे मिलन घरभित्रै बस्न थाले। कुमार घैँटे पनि प्रहरी इन्काउन्टरमा मारिए। काठमाडौँको सङ्गठित गुण्डागर्दी ओइलायो।

भटाभट प्रहरी इन्काउन्टर हुन थालेपछि गुन्डाहरू राजनीतिक सुरक्षा कवच ओढ्न तम्सिए। गणेश लामा विजयकुमार गच्छदारको छत्राछायामा गइसकेका थिए। मनाङे मौकाको पर्खाइमा थिए।

०००

नेतादेखि प्रहरीसम्म उनको राम्रै सम्बन्ध देखिन्थ्यो मनाङेको। बेलाबखत पक्राउ परे पनि उनको प्रहरी हिरासत होस् या कारागार हिरासत होस् त्यत्ति लामो हुँदैनथ्यो। उनको पक्षमा अदालतमा गएर बहस गर्नेहरू कति घागडान थिए भन्ने एउटै घटना पर्याप्त छ बुझ्न।

सार्वजनिक अपराधमा एक वर्ष कैद सजाय भएपछि डिल्लीबजार कारागार चलान भए मनाङे। उनी जेल गएपछि निर्दोष व्यक्तिलाई जेलमा राखिएको भनेर सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण मुद्दा दर्ता भयो।

बहस सुरु भयो र उनी रिहा पनि भए।

अदालतमा गरिएको तर्क थियो- अहिले जो जेलमा राखिएको छ, उनी राजीव गुरुङ हुन्। प्रहरीले पक्राउ गर्नुपर्ने दीपक मनाङे वा दीपक गुरुङ हुन्।’

प्रहरीले मिसिलमा लेख्दा उनको नाम दीपक गुरुङ, उपनाम मनाङे लेखेको रहेछ। उनले मनाङबाट बनाएको नागरिकता चाहिँ राजीव गुरुङको नामको। यही आधारमा टेकेर दीपक मनाङेलाई दीपक मनाङे हैन भनेर जेलबाट रिहा गरिदिए।

पछि यी दुवै एकै हुन् भन्ने पोल खुल्यो। उनी करिब चार महिना फरार भए। पछि प्रहरीले बल्लबल्ल खोजेर फेरि जेल पठाएको थियो।

सार्वजनिक भए अनुसार उनले राजनीतिको यात्रा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गरेका थिए। पशुपतिशमशेर राणाको मुख्य सहयोगी। पछि उनी नेपाली काङ्ग्रेसतिर लागेर तरुण दल मनाङको जिल्ला अध्यक्ष पनि भएका थिए। त्यसपछि केही समय उनी लक्ष्मण थारुसँग थरुहटको अधिकारका लागि सक्रिय भए। 

एकाएक उनी कमल थापाको हातबाट फूलमाला लिएर राप्रपा प्रवेश गरे। मनाङको समूह नै एमालेतिर लागेपछि उनी पनि त्यतै लहसिए। प्रदेश निर्वाचनमा टिकटको आकांक्षी थिए। पाएनन्। स्वतन्त्र उम्मेदवारी दिए।

उनलाई सघाउन एमालेले आफ्नो उम्मेदवारको उम्मेदवारी नै फिर्ता गराएर प्रदेश सभाको बाटो खाली गराइदियो र जिते पनि।

०००

मैले भेटेको समयमा उनी राजनीतिक रूपमा कतै संलग्न थिएनन्। तर राजनीतिमा चाख त थियो नै। त्यसैले त विद्यार्थी नेताहरूलाई वरपर राखेर पूरै प्रशिक्षण दिइरहेका थिए।

केही समयमा उनको प्रशिक्षण सकियो। हलमा उनी म अनि उनको एक सहयोगी मात्र भए।

‘यस्ता युवा नेताहरू दाइ राजनीति सिकाउनु पर्यो भनेर आउँछन्, तिमी पत्रकारहरू चाहिँ गुन्डा नाइके लेख्छौ हैन,’ उनले म तिर हेर्दै भने।

म फिस्स हाँसे मात्र।

उनले थपे‘ तर याद गर अहिले गुन्डा नाइके लेखिरहेका छौ नि, कुनै दिन मन्त्री दीपक भनेर लेख्नुपर्ने छ।’

मनमनै ‘क्या गफ दिए’ भन्दै फर्किएको थिएँ।

२०७८ वैशाख १६ गते उनले जे भनेका थिए त्यही भयो।

आज मसहितका पत्रकारले समाचार लेखे, ‘राजीव गुरुङ गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री।’

वैशाख १६, २०७८ बिहीबार २०:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।