चाैथो अंग : बिहान पत्रिका हेरेपछि लाग्छ, बित्थामा समय खेर गयो
म २०२३ सालमा काठमाडौं आएँ। त्यतिबेला गोरखापत्र, राइजिङ नेपाल र मधुपर्क थिए। गोरखापत्रमा काम गर्ने हास्यव्यंग्यकार भैरव अर्यालसँग भेट भयो। उहाँ सामान्य, दयालु, परोपकारी र गज्जब मान्छे हुनुहुन्थ्यो।
उहाँले मेरो ५/६ वटा कथा छापिदिनुभयो। त्यसका दुई वटा फाइदा थिए। प्रत्येक शनिबार आउने अंकमा रचना पनि छापिने र त्यो जमानामा २४ रुपैयाँ पैसा पनि पाइने। एक–दुई कथा मधुपर्कमा पनि छापिए।
त्यो बेलामा जीवन र जगतलाई हेर्ने तरिका बदलिएको थिएन। समाजमा गरिब, पिछडावर्ग, धनी वर्ग के कारणले हुन्छ? संरचना कसरी बन्छ? सम्बन्ध कसरी बन्छ? थाहा थिएन।
भावुक खालका, गरिबीमा आँसु बगाउने, दया देखाउने कथा छाप्दा व्यवस्थालाई हानि हुँदैन भन्ने मान्यता थियो। जब म वामपन्थी भएँ तब राज्यप्रति मेरो असन्तुष्टि भयो। विमति राख्न थालेँ, व्यवस्थाको विरोध गर्न थालेँ। त्यसले गर्दा मेरा लागि गोरखापत्रको ढोका नै बन्द भयो।
अर्को पत्रिका थियो रुपरेखा। त्यसमा विशिष्ट मान्छेको रुचना मात्रै छापिन्थ्यो। मेरो हैसियत थिएन। लेख्यो छाप्ने ठाउँ नै नहुने। हामी ३–४ जना उपद्र्या थियौं। आफूले लेखेको कविता सडकको भित्तामा गोबरले टाँस्थ्यौं।
तपाईं राज्य–सत्ताको समर्थनमा हुनुहुन्छ वा सरकारको दूराचार, अन्याय, अत्याचार, भ्रष्टाचार नदेखेझैं गर्नुहुन्छ भने छाप्ने ठाउँ हुन्छ। माध्यम पनि हुन्छ सम्बन्ध पनि राम्रो हुन्छ। तपाईं जब प्रश्न गर्न थाल्नुहुन्छ, माध्यम पनि हुँदैन, सम्बन्ध पनि राम्रो हुँदैन। मैले यस्तो अवस्था धेरै भोगेको छु।
विष्टको नजरमा दलितजस्तो
जनमत संग्रहपछि परिस्थिति अलि खुकुलो भयो। त्यो बेला सानातिना अखबार आए। २०४० सालमा ‘पृष्ठभूमि’ पत्रिका निस्कियो। यो पत्रिका वामपन्थी विचारधाराले निकालेको भएर मेरा लेख छापिन गाह्रो भएन। सम्पादक जे कुरामा सहमत हुन्छ, त्यो विषयवस्तु छाप्न कठिन हुने कुरा पनि आएन। सम्पादक र लेखकको दृष्टिकोण र जीवनको लक्ष्य उही भयो। लेख्यो छाप्यो।
२०४६ पछि निजी क्षेत्र बलियो भयो। निजी क्षेत्रबाट दैनिक पत्रिका निस्केपछि अभिव्यक्तिको स्वतन्त्रता भयो। गोरखापत्र सरकारको भजनपत्र थियो। गोरखापत्रमा भन्दा भर्खरै निस्केको निजी पत्रिकामा छाप्नु सबैको रहर हुन्थ्यो। मेरो पनि रहर थियो।
मेरो त्यतिबेला जागिर थिएन। गोराहरुलाई पढाउने र केही अनुवादको काम गरिरहेको थिएँ। तर त्यो निजी पत्रिकामा मेरो लेख छापिँदै छापिएन। पहिलो सम्पादकको नजरमा विष्टको दृष्टिमा दलित परेको जस्तो भयो। धेरै लेख पठाउँदा जम्मा दुई वटा लेख मात्रै छापियो।
संकटमा चाहिने हो मिडिया
कसको लेख छाप्ने वा नछाप्ने भन्ने सम्पादकको सामाजिक दृष्टिकोणले फरक पारेको हुन्छ। वामपन्थी झुकावको भयो भने, वामपन्थी चिन्तन,स्वभाव र संस्कारलाई महत्व दिन्छ। सम्पादक जागिरे भएकाले तटस्थता प्रयोग गर्नसक्छ।
गोरखापत्र सरकारी वृत्तमा सीमित तर कान्तिपुर जनस्तरमा बाँडियो। सुरुदेखि नै लोकप्रिय भयो। त्यस्तो अर्काे कुनै थिएन। सामान्य नागरिकको पनि रचना छापियो। सत्ताको आलोचना गर्यो।
चरणचरणमा मिडियाको औतार फरक छन्।
माओवादी जनयुद्ध चर्केको बेला नेपालका प्रभावशाली पत्रिकाहरु दक्षिणपन्थी भएको पाएको छु। माओवादीको कुनै पक्षलाई समर्थन गर्दा बाँच्न गाह्रो हुन्थ्यो। मिडियालाई पनि गाह्रो थियो। तर सत्य के हो भने, कुनै पनि मिडिया चाहिने संकटका बेला हो। सामान्य अवस्थामा मिडिया चाहिँदैन।
नागरिकको पहिचान स्वतन्त्रता, अभिव्यक्ति, नागरिकको हिँडडुलमा समस्या पर्दा मिडिया चाहिन्छ। तर माओवादी जनयुद्धमा पत्रिकाहरु राज्यपक्षको जस्ता भए। संकटकालमा साहसी, निर्भिक र जोखिम उठाउने कुनै पनि मिडिया भएनन्।
०६२-०६३ सालमा भने मिडियाहरुले जोखिम उठाए। राज्य त्यतिबेला कमजोर थियो।
सम्पादकको टेबुलमा सेनाको मेजर मेसिनगन लिएर बस्दा पनि सम्पादकले काम गरे। मैले अप्रत्यक्ष रुपमा राजनीतिमा लेखेको थिएँ तर त्यो बिम्वको प्रयोग थियो। चिबे चरी र कागको प्रेम कथा। त्यो लेख छापिएन।
त्यतिबेलाका सम्पादकले राजनीति लेख्दै नलेख्ने भनेका थिए। मैले उनीहरुलाई पत्र लेख्दै भनिदिएँ, यत्रो ठूलो मिडियाले राजनीतिबारे लेख्दैन भने पत्रिका बन्द गरेर काशी गए हुन्छ। पछि उहाँहरु भन्नुहुन्थ्यो, यस्तो उपद्र्या लेखक नभएको भए, पत्रिका सुतिरहन्थ्यो।
२०६२/६३ मा मिडियाको भूमिका राम्रो थियो। राज्य र जनताबारे जे सोच थियो, त्यो बेला पत्रिकाहरुले त्यही बोले। राजतन्त्र विरोधी गतिविधि राम्रोसँग समर्थन गरे।
अहिले धरै अनलाइन खुले। सञ्चारमाध्यम धेरै छन् तर संवेदनशील कम छन्। ह्वारह्वारर्ती समाचार आउने तर विश्वसनीय कम हुने।
युगको जडतालाई तोड्न सक्ने लेखक सधैं दुर्लभ
स्तम्भकार र समग्र मिडियाकै प्रभाव घटेको छ अहिले। समग्र राजनीति दक्षिणपन्थमा गइरहेको हुनाले राजनीतिप्रति घृणाको स्तरमा वितृष्णा छ। अखबारले जेसुकै छापे पनि पत्यार हुँदैन। आर्दश र नायक विनाको समाज भएपछि कुनै पनि कुराको पत्यार मर्दाे रहेछ।
बिहानीमा पत्रिका हेर्छु समाचार कुनै चाख लाग्दा छैनन्। दुई घन्टा पत्रिका हेरेपछि लाग्छ, बित्थामा दुई घन्टा खेर गयो। पुरानो पात्र, पुरानो स्वार्थ सिवाय पत्रिकाले केही ल्याउँदैन।
स्तम्भकारले समाजमा घटेका घटनाको गतिविधि टिपेर,चरित्र टिपेर लेख्ने हो। समाज गतिमा छ भने हरेक दिन केही न केही हुन्छ। समाज अगतिमा छ भने के हुन्छ? स्तम्भकार जतिसुकै राम्रो भए पनि त्यही पत्रु कुरा दोहोर्याउँदै हो।
केही समय अघिसम्म लेखहरुले प्रभाव पार्थे। लेखकलाई अहिले सहज छ। नाम र लेखनमा दम छ भने रोजी–छाडी जहाँ पनि पठाउन सकिन्छ। समाज एउटै वृत्तमा दौडिरहेपछि त्यसले उत्पादन गर्ने विचार,तर्क सबै पुरानो हुने रहेछ। लेखक आफैंमा ठूलो आशा र उमंग हुँदैन अनि लेखकले पनि मिहिनेत गर्दैन भन्ने लाग्छ।
तपाईं गम्भीर चिन्तक हुनुहुन्छ भने दूरदर्शीता हुन्छ। सात डाँडापारिसम्म देख्न सकिएला। २० वर्ष पछिसम्मको समाजबारे परिकल्पना गर्न सक्नुहुन्छ। लेखकको दृष्टि फरक हुन्छ, परिकल्पना सीमित हुन्छ। अधिकांश लेखकले लेख्ने भनेको दैनिक घटनाको वृत्तान्त हुन्छ। अहिले प्रायः विचारहरु खड्गप्रसाद ओली वरिपरि घुमेका छन्। उनको गुनगान गाएर गोरखापत्र भरेका छन्। धेरैजसोले उनको स्वार्थमा कटाक्ष गरेका छन्।
राजनीतिमा गति हुन नसक्दा लेखनमा पनि गति देखिएको छैन। संसद पुनर्स्थापनापछि तरंग आउनुपर्ने हो तर संसद् त मसानघाट जस्तो भएको छ। प्रतिपक्षी समेत हात बाँधेर बसेको अवस्था छ। आदर्श, न्याय र नायक हराएको समाजमा छाैँ हामी। त्यसको प्रतिबिम्व अखबारहरुमा देखिन्छ।
शासक सुतेका बेला कसले ब्युझाउँने? लेखकहरुमै कमी–कमजोरी देखिएको हो त? या भजनमण्डलीको प्रभाव बढी परेको हो भन्ने प्रश्न पनि आउँला। मलाई भजनमण्डलीको प्रभाव बढी भएकाले अन्यको प्रभाव घटेको भन्ने लाग्दैन।
केही राम्रा लेखक नभएका हैनन्। तलबाट धेरै मिहिनेत गर्दै ठूला मिडियामा प्रवेश गरेका राम्रा लेखक छन्। हरेक परिवर्तनकामी मान्छेले उनीहरुलाई पढ्न चाहन्छ। तर अहिले उनीहरुले लेख्ने पनि त्यही वृत्तभित्रै हो, खड्गप्रसादकै वरपरि। यथास्थितिको पर्खाल चिर्न त कसैले पनि सकेका छैनन्।
जड्तामा अल्झेको समाजलाई चिन्तन र दृष्टिकोण दिने लेखक नै छैनन् यहाँ। सामान्य लेखक, सामान्य विचारक सधैँ हुन्छन् तर युगान्तकारी केहीमात्र हुन्छन्। समाजमा यो युगभन्दा अर्काे युगसम्म देख्न सक्ने, यो युगको जडतालाई तोड्न सक्ने लेखक सधै दुर्लभ हुँदा रहेछन्।
भारतको तुलानामा नेपालको सञ्चारमाध्यम स्वतन्त्र छ। भारतमा नरेन्द्र मोदीले धेरैजसो मिडिया आफ्नो कब्जामा राखेका छन्। हामीकहाँ त्यस्तो छैन।
भारतमा बागी स्तम्भकार नभएका हैनन्, तर मोदीका अगाडि बागी स्तम्भकारले घुँडा टेकिसके। नेपालमा यस्तो छैन। विरोध गरिरहेका छन्।
बागी स्तम्भकारको जीवन पनि संंकटमा छैन। कुटिने, मारिने भएको छैन। मिडियाले यो लेख्न हुने यो लेख्न नहुने भनेर आदेश आउने अवस्था आएको छैन। ठूलो नाम भएका लेखकहरुको एक शब्द पनि काटिँदैन। सम्पादकको ठाडो सेन्सरसिप छैन, संकटकालमा बाहेक।
तर, यहाँ सामाजिक सञ्जालमा ओली प्रबृत्तिको नरम विरोध गरेर केही लेख्यो भने पनि ओलीका अरिंगाल र साइबर सेनाको आक्रमण सहनुपर्ने अवस्था कायमै छ।
तर हाम्रो नैतिकतामाथि प्रश्न उठाउने, इज्जतमा धावा बोल्ने, चरित्र हत्या गर्ने काम भइरहेकै छ। हामीले तिरेको कर खुवाएर दलालहरुको जमात तयार पारिएको छ।
निरंकुश हुँदै गएपछि राज्य विचारमा टाट पल्टिन्छ। नागरिकको चरित्र हत्यामा जब जीवन खोज्ने अवस्था आउँछ, त्यो बेलामा धेरै लेखकहरु चुप लाग्छन्। अहिलेको हाम्रो अवस्था यस्तै हो।
डोनाल्ड ट्रम्पलाई न्युयोर्क टाइम्सले दसौं पटक पागल भन्यो। हामी कहाँ भने नरम टिप्पणी गर्नुभयो भने पक्राउ खाइन्छ। अमेरिकामा लोकतान्त्रिक प्रणाली बसेका कारण राज्य सत्ताको टुप्पोमा पुग्दा पनि जतिसुकै निरकुंश भए पनि नागरिकको हक कुण्ठित भएका छैनन्।
स्वाभिमान र पहिचानको हक जीवित छ। जहाँ आबेग र नाराको भरमा सबै सत्ता चल्छ, त्यहाँ बोल्न पाइँदैन। त्यसको प्रतिरुप हाम्रोमा पनि छ।
मिडियाले यस्तो लेख भन्दैन तर अंगभंग बनाइदिन्छ
एक समयमा व्यापक सूचना प्रवाह गरेर विश्वास आर्जन गरेपछि विश्वासनीयता हुने रहेछ मिडियाको। नेपालमा केही यस्तै मिडिया छन् तर यसको भूमिका गलत पनि छ।
त्यो के भने, पहिलो संविधानसभा विघटन भएपछि दोस्रो संविधानसभाबाट संविधान बन्दा धेरै कुरा काटियो। अन्तरिम संविधान धेरै काटियो। खण्डित संविधान आयो। मैले भन्ने गरेको छु, यो संविधान मधेसीहरुको रगतले लेखियो।
राज्यले ६० जना मान्छे मार्यो। मधेसमा आगो बल्दै गर्दा मिडियाको सपोर्ट भएन। एउटा पहाडी मारिँदा ७ दिन प्रमुख शीर्षक बन्यो तर ६० जना मधेसी मारिँदा मुख्य समाचार बनेन।
यो बेला मधेसको सपोर्ट गरेर लेखिएका लेखहरु पनि धेरै आएनन्। जतिले लेखे उनीहरु भारतीय दलाल र डलरवादी कहलिए।
सामान्य राजनीतिक अवस्थामा लेखकहरुलाई केही फरक पर्दैन। तर जब राज्यमा उथलपुथल आउँछ, त्यसपछि भने धारहरु प्रस्ट देखिन्छन्।
कर्पोरेट मिडियाहरुको सम्बन्ध राज्य चलाउनेहरुसँग हुन्छ। त्यसको प्रतिबिम्व पत्रिकामा पर्छ। यस्तो लेख, उस्तो लेख भनेर आदेश त आउँदैन तर लेखलाई अंगभंग भने बनाइदिन्छन्।
पत्रिकाको लाइनसित सहमत हुने देखिएन भने काटिदिने गरेको पनि गरेको पाएको छु।
मिडियामा लगानीकर्ता पर्दा पछाडि हुन्छ। सम्पादक मध्यस्तकर्ता हो। सम्पादकले बिक्री मूल्य भएको र विश्वसनीयता बढी भएको स्तम्भकार छान्छ।
उसले स्वतन्त्रता पनि दिन्छ तर सम्पादक सानो व्यक्तित्व भएको छ त भने लगानीकर्ताले पेल्छ नै।
हामी कहाँ अझै पनि सम्पादकहरु सम्पादक नभएर मालिकका कर्मचारी भए। कोही साँच्चैको सम्पादक हो भने मालिकको स्वार्थ अनरुप काम गर्दैन। संविधान बनिरहेको बेलामा मालिकको स्वार्थ अनुसार गरे।
त्यो सम्पादक हैन, भर्ति गर्नेको कमारो हो। समाजमा भइरहेको कुरा नभन्ने सम्पादक कमारो नै हो। टिप्पणी नगर्न सक्छ तर राज्यले मान्छे मारेको लेख्न त सक्छ नि। हामीकहाँ साहस भएको सम्पादक कमै छन्।
लेखक सधैं सत्ताको प्रतिपक्षी हुनुपर्छ
स्तम्भकार मात्रै हैन, लेखक पनि सत्ताको प्रतिपक्ष हुनुपर्छ। लेखक भनेको अधिनस्थ हो की स्वाधिन हो? मेरो सवालमा म कसैको अधिनस्थ हैन। म मेरो विवेकको अधिनस्थ हुँ।
कुनै चिजको दृष्टिकोण बनाउँदा पोलिटब्युरो, बालुवाटार वा पशुपतिनाथको आदेश लिन्नँ। मेरो चिन्तन भनेको मेरो विवेकको कुरा हो। लेखक सधैं सत्ताको बागी हुन्छ।
यसरी लेखकको अर्थाेपार्जन चल्छ त भन्ने कुरा पनि आउँला। नेपालमा लेखकहरु धेरै उच्च वर्ग र मध्यम वर्गका छन्। त्यसकारण पेटै पालन गाह्रो छैन।
प्रतिपक्षीमा रहनु भनेको जोखिममा रहनु हो। उत्पिडनको पक्षमा बोल्दा नागरिक साथमा हुन्छन्।
मलाई त के लाग्छ भने, सेनामेनाको सुरक्षा लिएका खड्गप्रसादभन्दा म बलियो हो। मेरो के गुम्नु छ र म बलियो छु किनभने मसँग कलम छ।
यसो भन्दैगर्दा लेखकहरुको श्रमलाई अवमूल्यन गर्न पाइँदैन। संकटको बेलामा ठूला मिडियाले श्रमको अवमूल्यन गरेका छन्।
साना मिडिया सधैं संकटमा रहन्छन्। ठूला मिडियाले कोरोनाको समयमा पत्रकारलाई तलब नदिने, निकाल्ने, लेखकलाई आधा तलब दिने गरे। जसको विज्ञापनमा एकाधिकार छ, उसले ठगी गरेको हो यो। सञ्चारकर्मी तथा लेखक भएनन् भने मिडिया चल्छ?
मिडिया उदार छैन
मिडिया निरपेक्ष रुपमा उदार र स्वतन्त्र छैन। भएको भए त मिडिया समावेशी हुन्थ्यो। त्यही अनरुप लेखकहरु जन्माउँथ्यो।
अहिले जति पनि सीमान्तकृत समूदायका लेखहरु देखिन्छन् ती मिडियाले योजनाबद्ध रुपमा ल्याएको हैन। मिडियाले त्यो किसिमको दायित्वबोध महसुस गरेका छन् भन्ने मलाई लाग्दैन। अवसरको बाटो खुल्दै गएपछि सारा पर्खाल तोड्दै आएका हुन् महिला, दलित, जनजाति एवं अल्पसंख्यक लेखकहरु।
(लेखक खगेन्द्र संग्रौलासँग चौथो अंगका लागि उकेराकर्मी प्रजु पन्तले गरेको कुराकानीमा आधारित।)
चैत १०, २०७७ मंगलबार १९:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।