छोरी डाक्टर पढ्छु भन्छिन्, राजनलाई रातभर निद्रा पर्दैन
२०६२ सालमा घर छाडेर हिँड्दा मैले घरतर्फ फर्केर पनि हेरिनँ। आफूले माया गरेर हुर्काएका गाईवस्तुलाई पनि हेरिनँ। किनकी, घर छोड्ने बेलामा फर्केर हेर्नु भनेको हिँड्न नसक्ने हुनु हो।
मैले निकै पटक कोशिस गरेको थिएँ, घरबाट भाग्न। फर्किएर हेरेपछि मन बाँध्नै नसकिने। पटकपटक भाग्न खोज्दै फर्कंदै गरेको थिएँ।
परिवारको मुख यसै पनि हेर्नु थिएन मलाई। परिवारकै कारण निकै पहिलेदेखि मैले घर छाड्ने मन बनाएको थिएँ।
घर छाडेको रात बस स्टेसनमा गुजारें। बिहानै ओखलढुंगाबाट गाडी चढेर काठमाडौं हुइकिएँ।
दिनभर गुडेपछि साँझपख बसका सहचालकले काठमाडौं आएको जानकारी गराए, म ओर्लें पहिलो पटक काठमाडौं खाल्डो। काठमाडौं त सानो पो रहेछ। यति सानो सहरमा कता काम पाइएला र गर्नु। झिलिमिली बत्ति, ढलानका घर। पिच गरेको सडक। गाडीबाट झर्दा यत्ति देखियो।
०००
काठमाडौं सहरमा मैले चिनेको व्यक्ति जम्माजम्मी एक जना थिए, मेरो फुपुको छोरा। उनी कालिमाटीमा काम गर्थे। सोध्दैखोज्दै कालिमाटी पुगें। उनीसँग भेट भयो।
अल्लारे थिएँ। ज्यानमा बल थियो। हातको सिप भनेको गोरु जोत्ने, कोदाली चलाउने, बन्चरो हान्ने, बनपाखा गर्ने मात्र। भारी बोक्ने काम त गाउँमा सामान्य नै भइहाल्यो।
काठमाडौं आएको दुई दिनसम्म कामविहीन थिएँ। फुपुको छोरा (दाइ पर्ने) गाडीमा लोड–अनलोडको काम गर्थे। म पनि उनीसँगै हिँड्न थालें।
काठमाडौंमा सिप, दिमाग र बल यी तीन चिजमध्ये एक नभए छाक टार्न गाह्रो हुने रहेछ।
गाउँले सिपको सहरमा अर्थ नहुने। धन्न बल थियो र मालसामान उचाल्ने–पछार्ने काम गर्न सकियो।
गाउँमा हुँदा पैसाको अनुहार नदेखेको मान्छे। सहरमा मिठो–मसिनो खान पनि पाइने, पैसा पनि हाताहाती कमाइ हुने।
काठमाडौं आएको १५ वर्ष भयो। ८ वर्ष मैले लोड–अनलोड गरेकै बिताएँ। ज्यानले धेरै दुःख पायो। तर गाँउमा टुहुरो कामदार हुनुभन्दा त दुःख गर्न धेरै सजिलो नि यता।
०००
म भारतमा जन्मेको, नाम राजन श्रेष्ठ। आमाले उतै आत्महत्या गरिन्। आमा बितेपछि हामी गाउँ फर्कियौं। बा पनि गाउँ फर्किएको दुई वर्षमै बितिहाले।
मलाई कान्छा काकाले हुर्काएका। म माइलाको छोरा। जेठा बा भरतमै छन् अझै।
बाआमाको अनुहार नै याद छैन मलाई। काकाको परिवारले राम्रो गरेनन्। मैले मात्र आफ्नो परिवार मानेर नहुने रहेछ। उनीहरुले आफ्नो जस्तो कहिल्यै गरेनन्। जति सेके पनि तातो नलागेपछि एकोहोरो सेरिएर के अर्थ?
गाउँमा हुँदा काकाका छोराछोरी स्कुल जान्थे, म भने गोठालो। उनीहरु स्कुलबाट फर्केर खेल्न जान्थे, म घाँस काट्न। उनीहरु उठ्दा म गोरु नारीसक्थें। मेला–पर्म मेरै भर। काम सबै आफ्नो, दाम सबै काकाको जस्तो थियो। न एक वचन मिठो बोली, न गतिलो नाना, न राम्रो छाना।
दिक्क लाग्थ्यो। आफूसरहका दौंतरी सबै खेल्थे, रमाउँथे। म भने जहिल्यै काममा। त्यही भएर घरबाट भाग्न बाध्य भएको थिएँ।
पढ्न त मन थियो नि। तर पढ्न पठाएनन् घरकाले। आफूलाई पनि जसरी पनि पढ्छु भन्ने मनमा आएन। अहिले पो पढाइको महत्व बुझ्दै छुु।
कहिलेकाहीँ यसो सोच्छु, पढ्न नपाएर के भो त, भगवानले गरिखाने बाटो दिएकै छन्। मैले नपढे पनि दुई छोरी छन्। तिनलाई बोर्डिङमा पढाइरहेको छु। मेरो सट्टा पनि छोरीले पढ्छन्।
०००
सहरमा भारी बोक्ने कामले मलाई आँट दियो। घर छाडेर भागेको दुई वर्षपछि मेरो गाउँ ओखलढुंगाको एसाम्लिखु गाउँपालिका गएँ।
घरमा त गएँ तर बस्नै मन नलाग्ने। बिरानो ठाउँमा छु जस्तो लाग्ने। घर छाडेदेखि जम्मा ४ पटक गएको छु गाउँ।
मैले २३ वर्षको उमेरमा विवाह गरेको हुँ। फुपुले केटी मागेर विवाह गराइदिनुभयो। गाउँ नजिकै छ मेरो ससुराली।
ससुराली गएर घर नपस्दा 'यो राजन सहरमा बस्न नसकेर घर फर्केछ' भनेर गाउँलेले कुरा काट्छन्। अहिले धेरै भयो गाउँ गएको छैन। सायद जान्न पनि। यही रिक्साले टिकाउँछ मलाई यो सहरमा। रैथाने जस्तै भइसकें नि यो सहरको।
०००
८ वर्ष भारी बोक्दा पनि पैसा खासै कमाउन सकिएन। पैसा कमाउने काम गर्न मन थियो। साथीले रिक्सा चलाउँदा राम्रो पैसा कमाइ हुन्छ भन्यो। साथीको सल्लाह अनुसार १३ हजारमा ठेल्ने रिक्सा किनें।
रिक्सा किनेपछि गाडीमा लोड–अनलोडको काम बन्द भयो, रिक्सामा भारी बोक्ने काम सुरु। भारी बोक्ने काम बाहेक दिमाग अन्त चलेन। आफूले जानेकै त्यही भरिया बन्न। तीन वर्ष ठेल्ने रिक्सा चलाएँ। अलिअलि कमाइ हुन थाल्यो। ल, पैसा यहाँ रहेछ भनेर ब्याट्रीवाला रिक्सा बनाउने भूत चढ्यो।
बल पनि कम गर्नुपर्ने, काम चाँडो पनि हुने। जति धेरै काम गरियो उति कमाइ पनि। ८० हजार खर्चेर इन्भर्टरवाला रिक्सा बनाएँ। डेढ सय किलोसम्म बोक्थ्यो। कमाइ दिनमा ४ हजार जस्तो हुन थाल्यो। तर के गर्नु पैसा कमाउन सुरु हुने बित्तिकै रिक्सा बिग्रियो, बनाउँदैको सास्ती।
०००
अहिले ५ वटा इन्भर्टर राखेर आफ्नै डिजाइनले रिक्सा बनाएको छु। ३०० केजी बोक्छ। आफैं लोड–अनलोड गर्छु। आफैं चलाउँछु। रिक्सा धेरै भएकाले पहिलेजस्तो कमाइ चाहिँ हुँदैन अचेल।
मैले बुढानीलकण्ठमा इन्भर्टरवाला रिक्सा चलाउँदा कसैको पनि त्यस्तो रिक्सा थिएन। अहिले ४ वटा रिक्सा त मेरा जस्तै छन्। तीन वर्ष हुन लाग्यो मैले यो रिक्सा चलाएको।
बिहान सातै बजे काठाबाट निस्क्यो, १२ बजे कोठामा गयो, चार गाँस च्याप्यो, एकै चोटी आठ बजे फर्कियो। कुनै बेला त ५ सय रुपैयाँ पनि हुँदैन।
गतिलो बाइक आउने पैसा त यही रिक्सालाई परेको छ। तर के गर्नु, बाइकले पेट पाल्दैन।
२ लाख ६० हजारमा बनाएको रिक्साले लगानी उठाइसक्यो। यही रिक्साले आरामसँग परिवार पालिरहेको छ। रिक्साले मेरो जीवन राम्रैसँग चलाइरहेको छ।
०००
मेरो परिवार पाल्ने यो रिक्सा फेमस छ यतातिर।
‘एउटा कुरा छ’ भन्ने गीत युट्युबमा हेर्नु भएको छ? त्यहाँ हरिवंशले रिक्सा चलाएका छन् नि, त्यो मेरै रिक्सा त हो नि।
गजबको संयोग पर्यो। सुटिङका लागि कौशलटारबाट रिक्सा ल्याएका रहेछन्। तर बिगे्रछ। त्यही बेला म त्यता पुगें। मेरो रिक्सा मागे, मैले दुई हजार भाडामा दिएँ। दिनभरलाई दिएको रिक्सा दुई घन्टामै फिर्ता दिए।
हरिवंशलाई रिक्सा चलाउन सिकाउन मन थियो। तर उनकै साथीले सिकाए।
अचेल त मेरो रिक्सालाई मान्छेहरु जिस्क्याउँछन्, फेमस रिक्सा भनेर। भिडियोमा देखिँदैमा फेमस के हुन्थ्यो। जति फेमस भए पनि चार्ज नगरी कुद्दैन।
०००
मैले केटाकेटीमा परिवारको माया कस्तो हुन्छ थाहा नै पाइनँ। अहिले आफ्नै परिवार छ। दुःख–सुख, मिठो–मसिनो खाइएकै छ। परिवार बनाउने जीवनको एउटा सपना पूरा भयो। अब एउटा सानो घर बनाउन मन छ, आफ्नै कमाइले। अलिअलि पैसा जम्मा गरेको छु।
सबैले यत्रो वर्ष काठमाडौं बसेर के गरिस् भन्छन्। तिनलाई देखाउन भए पनि बास नबनाई भएको छैन। ३२ वर्षको भएँ, ४५ वर्षसम्म त काम गर्न सकिएला नि।
जेठी छोरी आठ वर्षकी भइन्। ‘बाबा म त डाक्टर पढ्छु’ भन्छिन् र भुसुक्क निदाउँछिन्। आफूलाई भने छोरीलाई कसरी डाक्टर बनाउनु भनेर रातभर निद्रा पर्दैन। रिक्साको कमाइ पनि पहिले जस्तो छैन। छोरीले पढ्न खोजेसम्म त पढाउनै पर्छ।
आ! मेरो जीवनको सपना भनेको यही छोरीहरुको खुसी त हो। घरसर बनाउँदिन, यिनिहरुलाई ज्यानै बेचेर पनि पढाउँला भन्छु, मन बुझाउँछु।
छोरीले पढ्छु भनेजति पढाउन पाए र एउटा घर बनाउन सके यो रिक्सावालको जिन्दगी पूर्ण हुन्छ।
मान्छेहरु भन्छन्, एउटा छोरो त चाहिन्छ, छोरो नभए जिन्दगी पूरा हुँदैन, वंश टुंगिन्छ। तर मलाई त्यस्तो लाग्दैन। छोरा–छोरी दुवै बराबरी। असल भए छोरीले पनि पालिहाल्छन्, खराब भए मरेपछि छर–छिमेकले फालिहाल्छन्।
चैत ९, २०७७ सोमबार १२:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।