ललितपुर वडा ३ को बदमासी : सम्झौतै नगरी पूर्वसांसदको स्वकीय सचिवलाई पार्किङ ठेक्का

ललितपुर वडा ३ को बदमासी : सम्झौतै नगरी पूर्वसांसदको स्वकीय सचिवलाई पार्किङ ठेक्का

ललितपुर : ललितपुर महानगरपालिका कार्यालय अगाडि सडकमा दुई पाङग्रे र चार पाङग्रे सवारीसाधनका लागि पार्किङ छुट्टाइएको छ। पार्किङ सञ्चालक वडा नम्बर ३ कार्यालय रहेको खुल्यो। 

सुल्क पर्किगं रसिदमा लेखिएको थियो दुई पाङग्रे  १०,  कार, जिप, भ्यान रु ३०। सर्त चैँ‘आफ्नो जिम्मेवारीमा पार्किङ गरौँ।’ अर्थात् पार्किङमा राखिएका सवारीसाधनमा केही भए आफैँ जिम्मेवार।

चिटमा १० र ३० लेखिए पनि पैसा उठाउने कर्मचारीले बाइकको २० रुपैंया लिए। चिटमा त १० लेखिएको छ भन्दा ती कर्मचारीले क्रिसमसपछि दोब्बर बढाएको उत्तर दिएर हिँडे।

पूर्व सांसदको स्वकीय सचिवलाई पार्किङ

ललितपुर महानगरपालिकाले सशुल्क पार्किङ सञ्चालनको अनुमति दिएको विवरणमा सो स्थान उल्लेख छैन। ललितपुर महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष श्री गोपाल महर्जनले आफूखुसी केही व्यक्तिलाई पार्किङको जिम्मा दिएको उकेराको अनुगमनमा खुल्यो।

महानगर अगाडि मात्रै हैन सेन्ट मेरिज स्कुल अगाडिको पार्किङ पनि उनको मौखिक आदेशमा चलिरहेको छ। आर्थिक कारोबारको अनुमतीदिँदा कुनै सम्झौता भएको छैन। 

महर्जनले पनि सम्झौता नभएको स्वीकार गरे। उनले उकेरासँग केही व्यक्ति राखेर वडाले पार्किङ सञ्चालन गरेको दाबी गरे। उनले जिम्मा पाउने व्यक्ति को हो खुलाउन चाहेनन्।

उकेराको खोजमा पार्किङको जिम्मा पाउने व्यक्ति ललितपुर क्षेत्र नम्बर दुईका सांसद कृष्णलाल महर्जनको स्वकीय सचिव अब्दुल खान रहेको पुष्टि भयो।

खानले २०७६ भदौ १२ गतेबाट महर्जनको मौखिक अनुमतिमा केही कर्मचारी राखेर सडक छेउ पार्किङ भएका सवारीसाधनसँग पैसा असुली रहेका छन्।

उकेरासँगको कुराकानीमा खानले मासिक ८० हजार उठ्ने जानकारी दिए। उनले मासिक उठेको रकम हेरेर वडा कार्यालयलाई १५ हजारसम्म दिने गरेको जानकारी दिए।

‘मैले समाजसेवा गरेको हो, पार्किङमा आउनेको हेलमेट हराए दिन्छु, पानी निःशुल्क खुवाउँछु,’ उनले भने।

वडा अध्यक्ष महर्जन महानगरपालिकाका काम लिएर आउने र नजिकै रहेको लबिब् मलमा आउनेहरूले सडकमा जथाभाबी पार्किङ गरेपछि व्यवस्थित गर्न पार्किङ सशुल्क बनाएको दाबी गरे।

महर्जनको दाबी अनुसार पार्किङ शुल्क वडाबाट खटाइएकाहरूले सङ्कलन गर्छन्। त्यसका लागी पाँच–छ जनालाई जिम्मा दिएको उनको दाबी छ।

तर ती वडाका कर्मचारी हैनन्। के आधारमा खटाउनुभयो भन्ने जिज्ञासामा उनले भने‘ वडाको कर्मचारी हैन, तर उनीहरूलाई हामी नै पैसा दिन्छौँ।’

महिनामा कति पैसा उठ्छ भन्ने जिज्ञासामा उनले ललितपुर महानगर कार्यालय अगाडिकोबाट धेरै हुँदा २५, ३० हजार र सेन्ट मेरिज स्कुल अगाडिबाट न्यूनतम १५ हजार उठ्ने दाबी गरे।

उकेराको खोजमा भने दुवै ठाउँबाट मासिक कम्तीमा पनि एक लाख ५० हजार रुपैंया उठ्ने देखियो।

वडा अध्यक्ष महर्जन उठेको पैसा खटिएका व्यक्तिले सिधै नेपाल राष्ट्र बैङ्कमा रहेको महानगरको खातामा जम्मा हुने दाबी गरे। 

प्रारम्भमा पार्किङ वडा कार्यालय आफैँले चलाएको दाबी गरेका महर्जनले पछि अन्य व्यक्ति खटाएको स्विकारे। ती खटाएका व्यक्ति को हुन् भन्ने उनले खुलाउन चाहेनन्।

‘अब, मैले मान्छे खोज्दै त हिँड्न सक्दिन। व्यवस्थापनको जिम्मा त कसैलाई दिनै पर्यो। चर जना जतिलाई जिम्मा दिएको छु’ उनले भने।

उनीहरूलाई पार्किङ सञ्चालनको अनुमति के को आधारमा दिएको भन्ने जिज्ञासामा उनी अक्मकाईरहे। उनले कुनै सम्झौता नै नगरी सरकारी जग्गामा पार्किङ गरेबापत पैसा उठाउन लगाएको देखियो।

विना सम्झौता कुन आधारमा आर्थिक कारोबारको जिम्मेवारी दिएको भन्ने जिज्ञासामा उनको तर्क थियो‘ बदमासी गर्यो भने निकाल्न पाइन्छ तुरुन्त। केही तलमाथि हुन नपाओस् भनेर नै हो। कर्मचारी हुँदा झेल्न गाह्रो हुन्छ। सम्झौता हुँदा निकाल्न पर्यो भने अनेक उल्झन आउँछन्। त्यसैले, हामीले मौखिकरुपमै सङ्कलकलाई जिम्मा दिएका हौँ।’ 

माघ १९, २०७७ सोमबार १८:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।