‘आउने, लाने, हेरेर मात्र नजाने’

‘आउने, लाने, हेरेर मात्र नजाने’

१० वर्षदेखि खानीखोला उनको कर्मथलो हो। आफ्नै बारीमा फलेको तरकारी बोकेर सडक किनारामा बस्छिन् र ग्राहक बोलाउँछिन् भाका हाल्दै, ‘खानीखोलाको पानी, पखालेको सफा मुला खानी, ल है, आउने, लाने, हेरेर मात्र नजाने।’ 

‘ग्राहकलाई बोलाउनपर्यो। नत्र कसले वास्ता गर्छ र,’ सुशीला भन्छिन्, ‘घुमन्तेहरूलाई तरकारी बेच्न गाह्रो छ। प्रायः जोडी आउँछन्। डेटिङ आएकालाई तरकारीको के ध्यान हुनु र।’

पछ्यौराले मुख छोप्दै हासिन् उनी।

पाखो बारी जग्गामा कोदो मकै मात्र हुन्थ्यो। त्यसले घर खर्च पनि नधान्ने। उनलाई लाग्यो– बरु तरकारीले पो कमाइ गराउँछ की। अनि लागिन् तरकारी खेतीतिर। ६ रोपनी जग्गामा लगाएको तरकारी उनी यसरी नै बेच्छिन्।

‘परिवार गरिब थियो। खानलाउनको दुःख, दुई बच्चा भए, तिनलाई पढाउन पनि पर्यो,’ उनले भनिन्, ‘मकै, कोदो बेचेर खस्रो चामल किनेर खान्थेऊ। तरकारीले दुई–चार रुप्पे कमाउन थाले, भात खान सजिलो भयो।’ 

ककनीमा स्ट्रेबरीको राम्रो व्यापार छ। कमाइ पनि राम्रो हुन्छ रे। उनलाई पनि आफ्नो बारीमा स्ट्रबरी फलाउने इच्छा छ। तर, जग्गाले साथ दिएन छ उनलाई। 
‘आफ्नो बारी मात्र छ। त्यसमा स्ट्रेबरीको खेती हुँदैन,’ उनले भनिन्।

०००

आफ्नो बारीको मकै र कोदोले अलिअलि पैसा आउन थालेपछि नै उनी व्यापारतिर लागेकी हुन्। उनले गाउँलेको कोदो, मकै पनि बेच्न थालिन्।

सुशीलाका कारण गाउँलेलाई पनि आफ्नो सामान बेच्न सजिलो भयो। कमाई राम्रै हुँदै थियो। तर, गाउँलेको व्यवहार बदलियो। वचन लगाउन थालेछन् उनलाई।
‘फलानीकी स्वास्नी दोबाटो ढुकेर बस्छे भनेर कुरा काट्न थाले। बडो चित्त दुख्यो,’ उनले भनिन्, ‘व्यापार गरेर खाएको त हो नि। पराईसँग सुत्न गाको हो र?’

०००

उनी तरकारी खेतीसँगै बाटोमा बसेर बेच्छिन्। उनको श्रीमान् कुखुरा पाल्न व्यस्त छन्। दुईमध्ये छोरा काठमाडौंमा प्लस टु पढ्दै रहेछन्। छोरी कक्षा ८ मा।

०००

उनी बिहान घरधन्दा सकेर १० बजेतिर पोका पुन्तुरा बोकेर सडक किनारमा आइपुग्छिन्। जाडोमा ६ बजेसम्म बस्छिन्। गर्मीमा ८ बजेसम्म। 
कमाइ ठिकठिकै रहेछ। खुसी देखिएकी उनी दिनभर सडकमा बस्दा अलि रोगी भएको पो हो कि भन्ने चिन्ता भने रहेछ। 

‘चिसोमा बस्दा बस्दा ज्यान दुख्न सुरु भइसक्यो,’ उनले भनिन्।

सामान्य साक्षर मात्र हुन् उनी। प्रौढ कक्षामा पढेर आफ्नो नामसम्म लेख्न सिकेकी छन् उनले। फरर पढ्न सक्ने हुन रहर रहेछ। तर, कामको चटारोले गालेपछि नाम लेख्न सिकेपछि उनले प्रौढ कक्षा जान छाडिन्।

‘कामले फुर्सद नै नहुने, नाम लेख्न  सिक्नलाई कति रातसम्म प्राक्टिस गरें,’ उनले भनिन्।

प्रौढ कक्षाले उनलाई पढ्न कति गाह्रो रहेछ भन्ने बुझाएछ। सँगै पढाइको महत्त्व पनि। 

‘त्यही भएर मेरो बच्चालाई पढाइ नसकी केही काममा लगाउन्नम,’ उनले भनिन्, ‘बाटोमा धुलो, धुवाँ खाएर त्यसै बस्या होइन नि। बच्चा काठमाडौंमा पढिराछन्, केही कुराको कमी हुन दिनु त भएन।’

अहिले उनले केही तरकारी काठमाडौँ पठाउन थालेकी छन्। त्यसले अलि सजिलो त बनाएको रहेछ। तर, थोरै पैसा आउने भएकाले त्यति मनचाहिँ रहेनछ काठमाडौंमा तरकारी पठाउन। ‘काठमाडौं पठाउदा पैसा खासै हुँदैन, यही बाटोमा बेच्न सके त निद्रा नि मिठो लाग्छ,’ उनले हास्दै भनिन्।

आफ्नो बारीमा उत्पादन नहुने तरकारी  गाउँलेसँग किनेर बेचिरहेकी छन् उनले, जस्तो ‘मुला’।

सुशीलाको बारीमा मुला उत्पादन हुँदैन। तर, काउली, बन्दा, टमाटर, तरुल, वनतरुलसँगै मुला पनि बेचिरहेकी छन्। ‘मेरो बारीमा मुला हुँदैन। अरुसँग ल्याको हुँ,’ उनले भनिन्।

केराउ, टमाटर, आलुर सागमा अलि राम्रै नाफा बस्ने रहेछ। अरुमा खासै नाफा बस्दैन रे। 

घरेलु तरकारीबाहेकको मौसममा सुशीला जंगल पनि पस्छिन्। र, वन तरुल, रिठ्ठा, च्याउ जम्मा पार्छिन्। तर, जंगली खान्की खोज्न साहै्र गाह्रो हुने अनि पैसाचाहिँ मिहेनत अनुसार नआउने भएकाले उनलाई हिजोआज झ्याउँ लाग्छ रे जंगल जान। तर, जान छाडेकी छैनन्।

ग्राहकलेचाहिँ त्यही जंगली खान्की खोज्ने। 

‘जे आफूसँग हुन्न ग्राहक त्यही खोज्दै आउँछन्। आएका ग्राहकलाई रित्तै पठाउँदा मन खिन्न हुन्छ अनि जंगल जान्छु,’ उनले भनिन्।

शुक्रबार र शनिबार हो उनलाई भ्याइनभ्याई हुने। अन्य दिन फुर्सद हुने रहेछ। फुर्सदको दिन गाउँलेसँग गफिएर बिताउँछिन् उनी।

कोरोनाले उनको व्यापारमा पनि असर पर्यो। कोही घुम्नै आएनन् ककनी। अनि कसरी व्यापार होस् उनको। ‘कोरोनापछि पनि व्यापार छैन,’ उनी थप्छिन् ‘अहिले बल्ल अलिअलि मान्छे हिँड्न थालेका छन्। तर, जोडी बढी हुन्छन्।’ 

उनले सुस्त व्यापारबाट उब्जेको समय उपयोग गर्दै घरमा १२ सय वटा कुखुराको चल्ला राखिछिन्। ४० चल्ला बिरालोले खाइदिएछ। वनतरुल खोजेर ल्याएकी छन्। त्यसले ४० चल्लाको घाटा भरिदिन्छ कि भन्ने आश रैछ।  उनले भनिन्, ‘कोरोनामा १२ सय चल्ला हालेको बिरालोले ४० वटा चल्लामा गरिदिएछ।’ 

मरेका चल्लाको भरपाई तरुलले गर्ला कि भनेर उनले वनतरुल बेच्न राखेकी छन्। ‘खोज्न दुःख छ। महँगो भयो भनेर लादैनन् मान्छेले,’ सुशीला गुनासो पोख्छिन्।

सडक किनारमा बस्दा धुलो उडाउँदै गुडेको नेताको गाडी देख्दा उनलाई रिस उठ्ने रहेछ। एक त गाडीले फ्याक्ने धुलो उनको फोक्सोमा पुग्ने। अर्को चुनावताका यस्तो गर्छ र उस्तो गर्छु भन्दै आउने नेताको अनुहार हेर्न अर्को चुनाव आउनुपर्ने।

प्रहरीसँग पनि उनको उस्तै गुनासो रहेछ। सडक किनारमा बसेर व्यापार गर्दा पनि प्रहरीले हैरान बनाउने रहेछ उनलाई। 

‘खाली भएको बाटोको किनारमा बसेर तरकारी बेच्दा पुलिसले नेबेच भन्छ,’ दुःख गरी खानेलाई सास्ती दिन मात्र पुलिस बसेको हो जस्तो लाग्छ,’ उनले भनिन्, ‘देशमा समस्या अरु पनि होला नि। पुलिस भएर त्यता ध्यान दिए भइहाल्यो नि। के तरकारीको पछि लागेको होला।’

पुष २५, २०७७ शनिबार ०६:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।