बाठा भए दर्शक, फन्डाले फिल्म चल्ने दिन गए
काठमाडौं : दुई साताअघि ‘चपली हाइट ३’ का निर्माता अर्जुनकुमार चार वटा थर्मस भिरेर सडकमा निस्किए। सडक पेटीमा चिया बेच्नेहरुसँगै दुवै हातमा थर्मस बोकेको तस्बिर उनले सामाजिक सञ्जालमा पोस्ट गरे। चिया बेच्न हिँडेका अर्जुनकुमारको फोटोमुनि बधाईको ओइरो लाग्यो।
‘विचरा! फिल्मले सडकमै ल्याएछ’ भन्नुपर्ने दर्शकले निर्माता अर्जुनकुमारलाई किन बधाई दिइरहेका होलान् भन्ने पनि लाग्न सक्छ। तर उनी डुबेर होइन, चिया बेच्नेहरुको हुलमा करोड लगानीको फिल्म बेच्न हिँडेका थिए।
थर्मसमा चपली हाइट ३ को पोस्टर टाँसेर उनी भुईं मान्छेलाई हलसम्म ल्याउने कोसिसमा थिए। बालाजु र बसन्तपुर क्षेत्रमा अर्जुनकुमारले हात–हातमा चिया बेच्दै हिँड्ने व्यापारीहरुको सहकार्यमा थर्मस पब्लिसिटी गरेका थिए।
उनले सयभन्दा बढी थर्मसमा पोस्टर टाँसेका थिए। चिया बेच्दै आममानिससम्म पुग्ने दाजुभाइ तथा दिदीबहिनीको सहयोगले चियाका पारखीहरुले फिल्मबारे थाहा पाउने र हलमा आउने उनको आशा थियो।
अर्जुनकुमार फिल्म प्रचार–प्रसार गर्न नयाँ तरिका खोजिरहने निर्मातामध्ये एक हुन्। उनले सुरुमा बनाएको ‘चपली हाइट’ पोस्टरदेखि नै विवादित थियो। धेरैले चपली हाइट हेर्ने भन्ने बित्तिकै फरक नजरले हेर्ने वातावरण सिर्जना भएको थियो। यो सबै उनले अपनाएको प्रचार–प्रसारको कमाल थियो।
‘चपली हाइट २’ मा भने अर्जुनकुमारले फिल्म प्रचार–प्रसारको शैली प्रेमलाई बनाए। आयुषमान जोशी र पारमिता आरएल राणाको प्रेमलाई अझै मसालेदार बनाएर सञ्चार माध्यममा पस्कँदै चपली हाइट २ को प्रचार–प्रसार भयो।
अहिले चपली हाइट ३ को प्रचार–प्रसार जारी छ। नायिकालाई गाली गर्ने, विदेशी फिल्मलाई गाली गर्ने, थर्मसमा पोस्टर टाँस्नेदेखि होर्डिङबोर्डसम्मका प्रचार–प्रसार अर्जुनकुमारले अपनाइसके।
फिल्म प्रदर्शनका लागि अझै आधा महिना बाँकी छ। अब उनको फिल्म सरेको सर्यै गर्ने फिल्मको नामले प्रचारमा आएको छ। विभिन्न कारणले उनको फिल्म प्रदर्शन मिति सरिरहेको छ।
कतिपय दर्शकले त फिल्मको नाम समेत थाहा नभएर मन्त्री रोएको फिल्म भनेर टिकट काटे।
अब त प्रचार–प्रसारको तरिका सकियो होला है? भन्ने उकेराको प्रश्नमा अर्जुनकुमारले भने, ‘म २५ वर्षदेखि विज्ञापनको क्षेत्रमा काम गर्दै आइरहेको छु। समयको मागअनुसार काम हुँदै जान्छ।' फिल्म पुस ३० गते प्रदर्शन हुने या नहुने विषयमा उनी ५० प्रतिशत मात्रै ढुक्क छन्। भन्छन्, ‘जसरी हुन्छ, अब प्रदर्शन गर्ने नै हो। तर भविष्य कसले देखेको छ र!’
प्रचार–प्रसारमा खर्च कम
निर्माणको हिसाबले नेपाली फिल्ममा करोडमाथि लगानी हुन थालेको छ। त्यो खर्च पूरै फिल्म बनाउन मात्रै होइन। फिल्ममा भन्दा पारिश्रमिकदेखि प्रचार–प्रसारमा धेरै खर्च हुने निर्माताहरुको भनाइ छ।
फिल्मका नायक–नायिकाले ५० लाखसम्म पारिश्रमिक मागेका समाचार समेत सञ्चार माध्यममा आउने गरेका छन्। निर्माता माधव वाग्ले भन्छन्, ‘अहिले फिल्म करोड घटी बन्दैनन्। तर फिल्मको कथावस्तु र खिचाइमा भन्दा अन्य कुरामा धेरै खर्च हुन्छ।’
यदि एक करोडमा फिल्म बनेको छ भने कलाकारलाई मात्रै पारिश्रमिक झन्डै ४० प्रतिशत अर्थात् ४० लाख खर्च गर्नुपर्ने हुन्छ। वाग्लेले भने, ‘क्यामेरादेखि झन्डै दुई महिना जतिको खाना–बासको खर्च २० प्रतिशत छुट्यायो भने २० लाख चाहिन्छ।’
फिल्म बनिसकेपछि प्रचार–प्रसारका लागि मात्रै ३० प्रतिशत खर्च हुने उनको भनाइ छ। सबै हिसाब मिलाउँदा करोडमा बनेको फिल्ममा स्क्रिप्टदेखि गीत–संगीत समेटेर फिल्ममा लगानी १० लाख मात्रै हो त? भन्ने प्रश्नमा उनले भने, ‘खर्च गर्नुपर्ने तीस प्रतिशत, अहिले भएको त पाँचदेखि दस प्रतिशत मात्रै हो।’
वाग्ले थप्छन्, ‘जमाना बोल्नेको पिठो बिक्ने, नबोल्नेको चामल पनि नबिक्ने आयो। त्यसैले लगानीको ३० प्रतिसत प्रचार–प्रसारकै लागि छुट्याउन जरुरी छ। नत्र दर्शकले फिल्म हलमा लागे–नलागेको पत्तै पाउँदैनन्।’
पत्रकार तथा फिल्म निर्देशक डब्बु क्षेत्री पनि चाहिँदो मात्रामा विज्ञापन हुन नसकेको बताउँछन्। उनी भन्छन्, ‘निर्माताहरु फिल्म बनाउँदा–बनाउँदै लगानी सकियो भन्छन्, प्रचार–प्रसारमा खासै ध्यान दिँदैनन्।
बदलिदो प्रचार शैली
डब्बु क्षेत्रीले निर्देशन गरेको ‘राहदानी’ प्रचार–प्रसारको फाइदा लिने गतिलो फिल्म हो। यो फिल्म हेर्न आश गरिएकाभन्दा धेरै दर्शक हलमा गए।
फिल्म निर्माण टोलीले तत्कालीन कृषि मन्त्री हरिबोल गजुरेललाई प्रिमियरमा फिल्म हेर्न बोलाए। फिल्म हेरेर निस्केपछि केही सञ्चारकर्मीले फिल्म कस्तो लाग्यो भनेर सोधे। उनी यथार्थपरक लागेको भन्दाभन्दै भक्कानिएर रुन थाले। फिल्ममा गाई मारेको दृश्य सम्झेर उनी ग्वाँ–ग्वाँ रोएपछि दर्शकहरु हलमा गए। कतिपय दर्शकले त फिल्मको नाम समेत थाहा नभएर मन्त्री रोएको फिल्म भनेर समेत टिकट काटे।
क्षेत्री भन्छन्, ‘अब रोएर फिल्म चल्दैन। मानिसहरु व्यक्तिगत प्रचार–प्रसारमा लागेका छन्। यहाँ एउटा व्यक्तिले आफू परिचित हुन थरीथरीका प्रचार–प्रसारका उपाय अपनाउन थालिसके। यो मानेमा नेपाली फिल्म धेरै पछाडि छ।'
पैसा लगानी गरेको फिल्मले प्रचार–प्रसारको शैली बदल्न आवश्यक रहेको उनको भनाइ छ। ‘समय पहिलेजस्तो रहेन। अब नयाँ ढंगले अगाडि बढ्नैपर्छ। फिल्म राम्रो बनाएसँगै दर्शकसम्म त्यसको प्रचार आवश्यक छ,’ उनी भन्छन्, ‘असनमा व्यापार गर्नुछ भने चुप लागेर बसेर काम छैन। ठूलो स्वरले चिच्याउनैपर्छ।’
नेपाली फिल्मको सुरुवाती चरणमा दर्शकको पहुँच मिडियासम्म थिएन। तर पनि फिल्म हाउसफुल हुन्थ्यो, ब्ल्याकमा टिकट बिक्री हुन्थ्यो, फिल्मले सय दिन हलमै मनाउँथ्यो। अब पुराना दिन सम्झेर बस्नु विकल्प नभएको पनि क्षेत्रीले बताए।
पुष १६, २०७८ शुक्रबार १४:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।