अध्यक्ष र सदस्य मात्रै चुनेर सकिएला माओवादी महाधिवेशन?
काठमाडौँ : नेकपा माओवादीको महाधिवेशनमा १ हजार ७६८ जना प्रतिनिधिहरू सहभागी भएका छन्। माओवादी हेडक्वाटरले पार्टीको निर्वाचन आयोगलाई अहिलेसम्म १ हजार ७६८ जना प्रतिनिधिको नाम पठाएको छ।
आठौँ महाधिवेशनमा राजनीतिक र विधान संशोधन मस्यौदा पारित नभएकाले निर्वाचन प्रक्रिया सुरु हुन नसकेको आयोगका प्रमुख विष्णु पुकार श्रेष्ठले बताए। शुक्रबार दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिनेछन्।
प्रचण्डको राजनीतिक प्रतिवेदन र देव गुरुङले प्रस्तुत गरेको विधान मस्यौदा पारित भएपछि निर्वाचन प्रक्रिया सुरु हुने श्रेष्ठले बताए। माओवादीको महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ। प्रस्तावित विधानमा २९९ सदस्यले मात्र अध्यक्षसहितका १५ जना पदाधिकारी चयन गर्नेछ।
विधानमा अध्यक्ष र सदस्य मात्रै चुनिने व्यवस्था नभएकाले चुनाव नै हुने उनले बताए। उनले १५ जना पदाधिकारीमा एक एक जनाको मात्रै उम्मेदवारी दर्ता भए सर्वसम्मत हुने नत्र चुनाव नै हुने बताए।
माओवादी संसदीय दलका सचेतक देव गुरुङ महाधिवेशनमा सर्वसम्मत हुने पदाधिकारीको नाम घोषणा हुने बताउँछन्।
माओवादी केन्द्रको भौगोलिक ७ र गैरभौगालिक ३ गरी १० वटा प्रदेश संरचना रहेका छन्। माओवादी केन्द्रले केन्द्रीय सदस्यको नाम टुङ्ग्याउनका लागि प्रत्येक प्रदेशबाट सिफारिस माग्ने भएको छ।
प्रत्येक प्रदेशबाट सिफारिस भएर आएका नामलाई केन्द्रीय कमिटीले अन्तिम रूप दिनेछ। केन्द्रीय कमिटीले यसरी नामावली तयार पारेपछि पुरानो केन्द्रीय कमिटी भङ्ग हुनेछ।
केन्द्रीय कमिटीले महाधिवेशन हलमा केन्द्रीय सदस्यको नामसहितको प्यानल घोषणा गर्नेछ। यसरी घोषणा भएको नाममा दाबी विरोधका लागि समय पनि दिइनेछ। कसैले दाबी विरोध गरेमा र सर्वसम्मत हुन नसेकेमा निर्वाचन गरिने श्रेष्ठले बताए।
केन्द्रीय सदस्यको टुङ्गो लागेपछि मात्रै पदाधिकारीमा प्रवेश गर्नेछ। देशभरबाट आएका महाधिवेशन प्रतिनिधि केन्द्रीय सदस्य टुङ्गो लगाएर घर फर्किनेछन्। निर्वाचित भएको केन्द्रीय कमिटीले पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो कमिटी चयन गर्ने छ।
अन्तिम समयमा संशोधित विधान अनुसार माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र एक जना कोषाध्यक्षसहित २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी रहनेछ।
अध्यक्षमा प्रचण्ड वरिष्ठ उपाध्यक्षमा नाराकाजी श्रेष्ठ निश्चित नै छन्। महासचिवमा दाबेदार धेरै हुँदा चुनाव नै नहुने हो कि भन्ने आशङ्का जन्मिएको छ। महासचिवमा वर्तमान महासचिव कृष्णबहादुर महराले दोहोरिने इच्छा गरेका छन्। जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल महासचिवको दौडमा छन्।
‘मेरो चाहना के हो म हलमै भन्छु। तपाईँहरूले बुझ्नुभएकै छ’,महराले भने,‘त्यो हुन पनि सक्छ, नहुन पनि सक्छ।’
भुसाल वार्ताको ढोका खुला राख्दै महासचिवको दौडमा छिन। शर्मा र पुन कुनै हालतमा पछि नहट्ने अडानमा छन्। महासचिवमा आकाङ्क्षी धेरै भएकाले माओवादीभित्र अध्यक्ष र सदस्य मात्रै चुनेर पदाधिकारी पछि चुन्ने कुरा समेत महाधिवेशनमा चलेको छ।
माओवादीले महाधिवेशनबाट नेतृत्व चयन भएको एक महिनाभित्र निर्वाचन आयोगमा विवरण बुझाउनु पर्नेहुन्छ।
पुष १५, २०७८ बिहीबार २१:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।