एमालेमा प्रवेश गर्ने बित्तिकै जिल्ला अध्यक्ष, लुम्बिनी प्रदेशका आकाङ्क्षी भने सबै पुरानै 

एमालेमा प्रवेश गर्ने बित्तिकै जिल्ला अध्यक्ष, लुम्बिनी प्रदेशका आकाङ्क्षी  भने सबै पुरानै 

बुटवल : नेकपा एमालेले पुस २३ गते जिल्ला अधिवेशन सुरु गदैछ। पुस ३० गतेसम्म ७७ वटै जिल्लामा अधिवेशनबाट नेतृत्व चयन गरिसक्ने एमालेले जनाएको छ। 

एमालेको प्रदेश २ का जिल्लामा अधिवेशन गराउन खटिएका लीलानाथ श्रेष्ठ पुस २३ गते सबै जिल्लामा अधिवेशन नहुने बताउँछन्। ‘प्रदेश २ का सिरहा, सप्तरी र पर्सामा २३ गते अधिवेशन हुन्छ’, उनले भने,‘पार्टी प्रवेश गरेकाहरूलाई मिलाउनु पर्ने भएकाले अरू जिल्लामा पुस ३० गतेभित्र अधिवेशन सम्पन्न हुन्छ।’ 

योग्यता क्षमताका आधारमा जिल्ला कमिटीको नेतृत्व चयन हुने श्रेष्ठले बताए। कम्युनिस्ट पार्टीबाट एमालेमा प्रवेश गरेकाहरू जिल्ला कमिटीको दाबेदार हुन सक्ने उनले बताए। उनी एमाले पार्टी एकता भङ्ग भएपछि सङ्गठन निर्माणमा केन्द्रित भएको बताउँछन्। 

लुम्बिनीका आकाङ्क्षी 

अधिवेशनको मिति नजिकिँदै गर्दा लुम्बिनी प्रदेशका ११ जिल्लाका नेताहरूले नेतृत्वमा आउन लबिङ तीव्र पारेका छन्।

एमाले नेताहरू विष्णु पौडेल, घनश्याम भुसाल, छविलाल विश्वकर्मा, खिमलाल भट्टराई, नेत्र पन्थी, राधा ज्ञवालीको गृह जिल्ला रुपन्देहीमा नेतृत्वका लागि आधा दर्जन बढी आकाङ्क्षी छन्। हालका जिल्ला अध्यक्ष शिवराज सुवेदी हालै भएको एमाले दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भइसकेका छन्। उनी अध्यक्षको ‘रेस’ बाहिर छन्।

हाल एमाले जिल्ला उपाध्यक्ष रहेका पुरुषोत्तम घिमिरे अध्यक्ष बन्न प्रदेश सांसद एवं एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष भोज प्रसाद श्रेष्ठ मार्फत लबिङ गरिरहेका छन्।

त्यस्तै एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएर पछि हटेका तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले पनि अध्यक्षमा आकाङ्क्षा देखाएका छन्। लामो समय माधव नेपाल समूहमा रहेका उनी नयाँ पार्टी खोलेर नेपाल गए पनि एमालेमै छन्। 

यस्तै जिल्ला कार्यालयका सदस्य तेजेन्द्र केसी पनि अध्यक्षको आकाङ्क्षी छन्। 

एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा अध्यक्षमा हालका जिल्ला उपाध्यक्ष जीवनारायण कोइराला र एमाले प्रदेश सभा सदस्य पीताम्बर भुसाल दाबेदार छन्। दाबेदार देखिएका छन्। जिल्ला अध्यक्ष चेतनारायण आचार्य एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएकाले यस पटक दोहोरिने छैनन्। 

गुल्मी र दाङका एकल दाबेदार 

गुल्मीमा भने हालका उपाध्यक्ष बालसिंह काउछा एक मात्र अध्यक्षका दाबेदार छन्। एमाले जिल्ला अध्यक्षका दाबेदार समाजवादी पार्टीमा गएपछि काउछा जिल्लाको एक मात्र अध्यक्षको दाबेदार रहेको जिल्लाका नेताहरू बताउँछन्। हाल जिल्ला अध्यक्ष रहेका मधुकृष्ण पन्थले छत्रकोट गाउँपालिकाका अध्यक्ष भएकाले जिल्लामा आफू नदोहोरिने बताए।

प्रदेशको स्थायी राजधानी रहेको दाङ जिल्लामा पनि हालका जिल्ला उपाध्यक्ष हुकुम बस्नेत एक मात्र अध्यक्षका दाबेदार छन्। हालका जिल्ला अध्यक्ष टिकाराम खड्का नदोहोरिने भएकाले स्वाभाविक रूपमा अध्यक्षमा आफ्नो दावेदारी भएको बस्नेतले बताए।

बाँकेमा भने आधा दर्जन अध्यक्षका आकाङ्क्षी छन्। पत्रकार रहेका डिल्ली वि.सी, रत्न खत्री, किस्मती कक्षपती, निरक गुरुङ, घननाथ खनाल, सतिस निरौला अध्यक्षका आकाङ्क्षी छन्। 

यसैगरी बर्दियामा बासगढि नगरपालिकाका नगरप्रमुख समेत रहेका सालिकराम अधिकारी र बढैयाताल गाउँपालिकाका अध्यक्ष समेत रहेका लाल बहादुर श्रेष्ठ अध्यक्षका आकाङ्क्षी छन्। श्रेष्ठ हालका जिल्ला अध्यक्ष हुन भने अधिकारी हालका उपाध्यक्ष हुन। 

पाल्पामा एमाले जिल्ला अध्यक्षका आधा दर्जन आकाङ्क्षी छन्। जिल्लाको रिव्दीकोट गाउँपालिकाका अध्यक्ष समेत रहेका नारायण बहादुर जी.सी, जिल्लाका पूर्व पार्टी सचिव देवी प्रसाद बस्याल अध्यक्षका आकाङ्क्षी छन्। 

त्यस्तै तिनाउ गाउँपालिकाका प्रमुख समेत रहेका र हालका जिल्ला सचिव ओम बहादुर कार्की, केन्द्रीय लेखा आयोगका सदस्य समेत रहेका धनेन्द्रराज घिमिरे, संविधान सभा सदस्य तारामणि घिमिरे पनि अध्यक्षका आकाङ्क्षी छन्। 

कपिलवस्तुमा एमाले नेताहरू डम्बर शर्मा, नेत्रराज अधिकारी, बाबुराम खनाल अध्यक्षमा आउन जिल्लाका नेताहरू सामु लबिङ गरिरहेका छन्। अधिकारी शिवराज नगरपालिकाका नगरप्रमुख समेत हुन।

यसैगरी पश्चिम नवलपरासीमा दीपेन्द्र अधिकारी र थाम प्रसाद गैरेले अध्यक्षमा आउन आकाङ्क्षा देखाएका छन्। अधिकारी प्रदेश सभा सदस्य हुन भने थाम प्रसाद हालका जिल्ला सचिव हुन्।

प्युठानमा भने हालका जिल्ला अध्यक्ष नै दोहोरिने लगभग पक्का जस्तै भएको छ। रोल्पामा हालका अध्यक्ष बालराम बुढा नेतृत्वमा दोहोरिन चाहेका छन्। 

पूर्व रुकुमको जिल्ला अधिवेशन भने पुसमा नहुने भएको छ। रुकुम पूर्व हिमाली जिल्ला भएकाले प्रदेश अधिवेशन पछि मात्र जिल्ला अधिवेशनको टुङ्गो लाग्ने एमाले रुकुम पूर्वका जिल्ला अध्यक्ष टोप बहादुर ओलीले जानकारी दिए।

पुष १५, २०७८ बिहीबार २०:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।